दोहोरो अंकको आर्थिक वृद्धिको सपना «

दोहोरो अंकको आर्थिक वृद्धिको सपना

कोरोना कहरका बीच नै आएको चालू आर्थिक वर्षको बजेटले कोरोनाको नकारात्मक असरलाई कुनै सम्बोधन नगरी टालटुले नीति लिएका कारण अझै अर्थतन्त्र चलायमान हुन सकेको छैन ।

पछिल्लो समय दोहोरो अंकको आर्थिक वृद्धिको सपना देखिरहेको नेपाललाई कोरोनाले नकारात्मक असर पार्ने भएको छ । आगामी केही वर्ष अझै दोहोरो आर्थिक वृद्धि नहुने प्रक्षेपणसहित विश्व बैंकले निकालेको प्रतिवेदन एकातिर छ भने अर्थतन्त्र राम्ररी चलायमान हुन नसकेको तथा सरकारले नीतिगत रूपमा अर्थतन्त्रलाई डो-याउन नसकेको पीडा अर्कातिर छ । कोरोना कहरका बीच नै आएको चालू आर्थिक वर्षको बजेटले कोरोनाको नकारात्मक असरलाई कुनै सम्बोधन नगरी टालटुले नीति लिएका कारण अझै अर्थतन्त्र चलायमान हुन सकेको छैन । कोरोनाको असर कम हुनासाथ बजारमा स्वाभाविक रूपमा केही चहलपहल भएका कारण बजारमा माग सिर्जना हुन थालेको देखिन्छ । तर, कोरोनाभन्दा अगाडिको अवस्थामा अर्थतन्त्र पुग्न चाहिने मागको सिर्जना हुन सकेको छैन । यस्तै, पर्यटन क्षेत्र अझै पनि कोमामा छ ।
आन्तरिक पर्यटन बढे पनि बाह्य पर्यटन बढ्न सक्ने वातावरण अझै बन्न सकेको छैन । बाह्य पर्यटन नबढी रोजगारी तथा आय पनि बढ्दैन । आन्तरिक बजारको चहलपहलका कारण अर्थतन्त्रका केही क्षेत्र चलायमान हुँदा अहिले केही सुधार भने पक्कै देखिएको हो । सरकारले चालू आर्थिक वर्षमा ७ प्रतिशतको हाराहारीको आर्थिक वृद्धिदरको अनुमान गरेको भन्दा धेरै कम विश्व बैंकले प्रक्षेपण गरेको छ । त्यतिमात्र होइन, आगामी केही वर्ष दोहोरो आर्थिक वृद्धि नहुने समेत प्रक्षेपण गरेर विश्व बैंकले सरकारलाई नीतिगत रूपमा नै ठूलो कदम चाल्न पनि चुनौती दिएको छ ।
सरकारले यस मौकालाई सदुपयोग गरेर अर्थतन्त्रमा संरचनागत परिवर्तन गर्न बल पुग्ने नीति ल्याउन सके आन्तरिक बजार अझै चलायमान हुन सक्छ । तर गत वर्षको चैत ११ गतेदेखि करिब चार महिना बन्दाबन्दी भए तापनि त्यसको नकारात्मक असरले गत आर्थिक वर्षको आर्थिक वृद्धिदर पूरै नकारात्मक भएको स्मरण गरेर अर्थतन्त्रको विस्तारमा सघाउ पुग्ने नीति ल्याउन सके अर्थतन्त्र चलायमान बनाउन सकन्छि ।
अन्यथा साउनदेखि फागुनसम्मको आठ महिनामा अर्थतन्त्रका सबै सूचक राम्रा छन् भन्ने तत्कालीन अर्थमन्त्रीको दाबीलाई पूरै नकार्दै पछिल्ला चार महिना अर्थतन्त्र ठप्प हुँदा आर्थिक वृद्धिदर करिब २ प्रतिशत ऋणात्मक भएको तीतो यथार्थका बीच सरकारले अब पनि स्पष्ट आर्थिक मार्गचित्र नबनाई पपुलिस्ट किसिमको वितरणमुखी बजेट ल्याए त्यसबाट अर्थतन्त्र झन् थिलथिलो हुने पक्का छ । विश्व बैंकले नेपालको अर्थतन्त्र सुधारोन्मुख भन्नुको कारण कोरोना कहरका बीच पनि विदेशमा रहेका नेपालीले पठाउने रेमिट्यान्स अपेक्षा गरेअनुरूप नघट्नु पनि हो । विदेशमा रहेका नेपालीले पठाउने रेमिट्यान्सका कारण पनि आन्तरिक बजारमा मागको सिर्जना भइरहेको यथार्थलाई टेकेर नै विश्व बैंकले नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) दोहोरो अंकले नबढे पनि दक्षिण एसियामा नेपालको आर्थिक वृद्धिदर सुधारोन्मुख भनेको हो ।
तर, पछिल्ला महिनाहरूमा पनि वैदेशिक रोजगारीमा जाने युवाको संख्या नबढेका कारण विदेशमा रहेका नेपालीले पठाउने रेमिट्यान्समा लगातार वृद्धि भइ नै रहन्छ भन्ने कुनै ग्यारेन्टी छैन । विश्व बैंकले दक्षिण एसियामा भारत तथा बंगलादेशको अर्थतन्त्रमा धेरै सुधार आउने बताइरहँदा नेपालमा पनि अपेक्षित सुधार देखिन सरकारले ल्याउने बजेटले लिने नीति प्रमुख कारक रहनेछ । विश्व बैंकको बुझाइमा कोभिड–१९ का कारण धेरै व्यवसाय प्रभावित भएका, राजस्व संकलनमा कमी आएको तथा लाखौँ बेरोजगार भएका भए तापनि अर्थतन्त्र सुधार नभए रोजगारीका अवसर अझै प्रभावित हुने, आम्दानी घट्ने र असमानता बढ्दै जानेछ ।
त्यसैले पनि आगामी आर्थिक वर्षको बजेटको तयारीमा रहेको अर्थमन्त्रालयले फरि अघिल्लो वर्षको गल्ती नदोहो-याई अर्थतन्त्रमा चाप नपर्ने तर चलायमान बनाउने गरी बजेट ल्याउन सके विश्व बैंकले प्रक्षेपण गरेभन्दा बढी पनि आर्थिक वृद्धि हुन सक्ने सम्भावना छ । तर, फेरि यो सबै सरकारको आर्थिक नीति विशेषतः आउने जेठ १५ गतेको बजेटले नै निक्र्याेल गर्छ ।

प्रतिक्रिया दिनुहोस्