कोभिड प्रभावित उद्योगलाई पुनरुत्थान गर्ने योजना «

कोभिड प्रभावित उद्योगलाई पुनरुत्थान गर्ने योजना

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले कोभिड–१९ बाट प्रभावित भएका उद्योगलाई राहत दिनेगरी बजेटमार्फत कार्यक्रम ल्याउने तयारी गरेको छ । कोभिडले सबैभन्दा बढी लघु तथा साना उद्योगमा असर पारेकाले तिनलाई राहत दिनेगरी बजेट ल्याउन लागिएको मन्त्रालयले जनाएको छ ।
वाणिज्य सचिव दिनेश भट्टराईले आगामी वर्षका लागि बजेटको आकार बढेर आएको जानकारी दिए । ‘‘आगामी वर्षका लागि कार्यक्रम तयार गरिरहेका छौं,” उनले भने, “कोभिडबाट प्रभावित उद्योगलाई लक्षित गरेर केही नयाँ कार्यक्रम ल्याउने तयारी गरेका छौं ।”
अधिकांश मन्त्रालयहरुको बजेट सिलिङ घटिरहेको बेला यस मन्त्रालयको बजेट एक अर्ब २० करोड बढेको छ । राष्ट्रिय योजना आयोगले आगामी वर्षको लागि ११ अर्ब ४० करोड रुपैयाँको सिलिङ तोकेको छ । सोही अनुसार नयाँ कार्यक्रम बनाउन लागिएको मन्त्रालयले जानकारी दिएको छ । गत वर्ष १० अर्ब २० करोड बजेट रहेकाले आगामी वर्षका लागि ११ अर्ब ४० करोडको बजेट सिलिङ तोकिएको मन्त्रालयले जानकारी दिएको छ । तर, चालू आर्थिक वर्षको ८ महिनासम्म करिब २५ प्रतिशत खर्च भएको मन्त्रालयले जनाएको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आगामी आर्थिक वर्षको बजेटमार्फत कोभिडबाट धेरै नै प्रभावित भएका लघु तथा घरेलु उद्योगलाई राहत दिने गरी कार्यक्रम ल्याउने गरी तयारी गरिरहेको जानकारी दिएको छ । मन्त्रालयका अनुसार, कोभिडबाट सम्पूर्ण उद्योग व्यवसाय प्रभावित भए पनि सबैभन्दा साना तथा मझौला उद्योगमा असर परेकाले ती उद्योग पुनरुत्थान हुने गरी कार्यक्रम ल्याउन लागिएको छ । अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकसँग छलफल गरेर प्रभावित उद्योगलाई सहुलियत ऋण दिने गरी कार्यक्रम ल्याउने तयारी गरिएको मन्त्रालयले जानकारी दिएको छ ।
बजेटको सिलिङ बढेकोले औद्योगिक पूर्वाधार निर्माण, वैदेशिक लगानी प्रवद्र्धन गर्ने, व्यापारको लागि पूर्वाधार निर्माण गर्ने, निर्यातमा दिँदै आएको नगद अनुदान वृद्धि गर्ने, बजारमा आपूर्ति व्यवस्था सहज पार्ने, आन्तरिक तथा बाह्य व्यापार प्रवद्र्धन, उपादन वृद्धि गरी निर्यात प्रवद्र्धन गर्ने कार्यक्रम ल्याउन लागिएको छ । कतिपय अघिल्ला वर्षका कार्यक्रमलाई नै निरन्तरता दिइने मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयले गरेको अध्ययनले कोभिडबाट साना तथा मझौला उद्योग बढी प्रभावित भएको देखिएपछि सहुलियत दिने गरी बजेट केन्द्रित गरिएको जनाएको छ । अध्ययनले कोभिड प्रभावले औद्योगिक क्षेत्रको उत्पादनमा ५० प्रतिशतले ह्रास आएको पाइएको छ ।
अध्ययनमा सहभागी ५४ प्रतिशत उद्योगको उत्पादनमा ५० प्रतिशतले ह्रास आएको देखाएको हो । मन्त्रालयले गरगहना, रङ्गरोगन, पेयपदार्थ, सिमेन्ट, तामा पित्तल भाँडा, जलविद्युत् उत्पादन, हस्तकला, तयारी पोशाक, परामर्शलगायतका वस्तु तथा सेवा उत्पादन गर्ने उद्योगमा कोभिडले पारेको प्रभावको अध्ययन गरेको थियो । मन्त्रालयले लघु उद्यम तथा घरेलु १७ वटा, साना उद्योग ८, मझौला ४ र ठूला ८ गरी विभिन्न ३७ वटा उद्योगको अध्ययन गरेको थियो । अध्ययनमा सहभागी उद्योग व्यवसायमध्ये १०.८१ प्रतिशत पूर्णरुपमा बन्द रहेका छन् भने ८९.१९ प्रतिशत आंशिकरुपमा सञ्चालन गरेको पाइएको छ । पूर्णरुपमा बन्द भएका लघु तथा घरेलु उद्योगको संख्या ७५ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्