अर्थतन्त्रलाई रेमिट्यान्सको साथ «

अर्थतन्त्रलाई रेमिट्यान्सको साथ

चालू आर्थिक वर्षको वृद्धिदर २.७ प्रतिशत प्रक्षेपण

विश्व बैंकले रेमिट्यान्सको पुरुत्थानका कारण चालू आर्थिक बर्ष २०७७-०७८ मा नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) २.७ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ ।
दक्षिण एसियाको अर्थतन्त्रबारे बैंकले बुधबार जारी गरेको अर्धवार्षिक क्षेत्रीय प्रतिवेदनअनुसार, कोभिडको अवधिमा समेत रेमिट्यान्स बढ्दै गएका कारण चालू वर्षमा आर्थिक वृद्धि २.७ प्रतिशत हुने देखिएको हो । सरकारले भने ७ प्रतिशतसम्मको हाराहारीमा हुने अनुमान गरेको छ ।
सन् २०२० को दोस्रो चौमासिकपछि रेमिट्यान्सको पुनरुत्थान भएको उल्लेख गर्दै प्रतिवेदनमा ६.७ प्रतिशतसम्म वृद्धि भएको र सन् २०२१ प्छि सुधारोन्मुख देखिएको उल्लेख गरिएको छ । प्रतिवेदनले कुल जीडीपीमा नेपालको रेमिट्यान्स योगदान दक्षिण एसियाकै सबैभन्दा बढी २७.३ प्रतिशत रहेको देखाएको छ । “आगामी वर्षदेखि दक्षिण एसियाको आर्थिक वृद्धिमा सुधारको सम्भावना र अर्थतन्त्र सुधार हुनेछ,” प्रतिवेदनमा भनिएको छ ।
आर्थिक वर्ष २०७६-०७७ मा आर्थिक वृद्धिदर भने माइनस (ऋणात्मक) १.९९ मा थियो । प्रतिवेदन अनुसार, आगामी आव २०७८-०७९ मा ३.९ प्रतिशत र २०७९-०८० मा ५.१ प्रतिशत हुने प्रक्षेपण गरिएको छ ।
प्रतिवेदनले चालू वर्षमा सबैभन्दा बढी भारतमा १०.१ प्रतिशत वृद्धि हुने प्रक्षेपण गरेको छ भने बंगलादेशको ३.६ प्रतिशत, भुटानको माइनस १.१, पाकिस्तानको १.३ प्रतिशत, श्रीलंकाको माइनस ३.६, माल्दिभ्सको माइनस २८ प्रतिशत, अफगानिस्तानको माइनस १.९ प्रतिशत हुने प्रक्षेपण छ । दक्षिण एसियाको समग्र वृद्धि ऋणात्मक अर्थात माइनस ५.४ हुने अनुमान छ । सन् २०२१ जनवरीदेखिको पुनर्मूल्यांकनले भने २.१ प्रतिशत मात्र हुने देखाएको छ भने आगामी वर्ष १.४ प्रतिशत र त्यसपछिको वर्ष पनि १.४ प्रतिशत हुने देखाएको छ ।
प्रतिवेदनले कोभिड–१९ का कारण व्यवसायहरु प्रभावित भएको, राजस्व संकलनमा कमी आएको तथा धेरैले रोजगारी गुमाउनु परेको बताउँदै यसले असमानता बढेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्