बागमतीमा माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता «

बागमतीमा माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता

हेटौंडा-२३ जना सांसद रहेको नेकपा माओवादी केन्द्रले बागमती प्रदेशमा सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । सोमबार काठमाडौंमा भएको संसदीय दलको बैठकले वर्तमान प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने निर्णय गरेको हो ।
माओवादी र माधवकुमार नेपाल पक्षबाट मन्त्री बनेकाहरुले यसअघि नै पदबाट राजीनामा दिइसकेका छन् । प्रदेश सरकारविरुद्ध यसअघि माओवादी र एमालेको माधवकुमार नेपाल पक्षले दर्ता गरेको अविश्वासको प्रस्ताव अघि बढ्ने अवस्था नरहेका कारण सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरिएको माओवादी संसदीय दलका नेता शालिकराम जम्कट्टेलले जानकारी दिए ।
बैठकले संसदीय दलको नेतामा शालिकराम जम्मकट्टेल, उपनेता कुमारी मोक्तान, प्रमुख सचेकमा बुद्धिमान माझी, सचेतकमा प्रतिमा श्रेष्ठलाई चयन गरेको छ । माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएता पनि मुख्यमन्त्री डोरमणि पौडेलको सरकार भने झनै बलियो बन्दै गएको छ । बागमती प्रदेशमा एमाले एक्लैको बहुमत रहेको छ । कुल एक सय १० सांसदमध्ये ५७ जना सांसद एमालेका रहेका छन् ।
यसैवीच, बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले एमालेको संसदीय दलको बैठक बोलाएर आफूविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता लिन माधवकुमार नेपाल पक्षका सांसदहरुलाई निर्देशन दिने तयारी गरेका छन् । पौडेलले बुधबारलाई एमाले संसदीय दलको बैठक बोलाएका छन् । एमालेकै सांसद अष्टलक्ष्मी शाक्यलगायत ४५ जना सांसदहरुको हस्ताक्षरसहित गत पुस १० गते मुख्यमन्त्रीविरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव पेश भएको थियो ।
बुधबारको संसदीय दलको बैठकमा एमालेकै माधवकुमार नेपाल समूहका सांसद सहभागी हुन्छन् या हुँदैनन भन्ने बारे अझै टुंगो लागेको छैन । बुधबारको बैठकमा सरकारमा नयाँ मन्त्रीहरु नियुक्त गर्ने विषयमा पनि छलफल हुने बताइएको छ । यसअघि माओवादीका जमरकट्टेल, र युवराज दुलाल र माधवकुमार नेपाल पक्षका अरुण नेपालले राजीनामा दिएपछि तीन वटा मन्त्रालय मन्त्रीबिहीन अवस्थामा रहेको छ ।
प्रदेशसभामा नेकपा एमालेका ५७ नेकपा माओवादी केन्द्रका २३, नेपाली कांग्रेसका २२, विवेकशील साझाका ३, नेपाल मजदुर किसान पार्टीका २, राष्ट्रिय प्रजातन्त्र पार्टी २, नयाँ शक्ति पार्टी १ जना सांसद छन् । माओवादीले सरकारको समर्थन फिर्ता लिएसँगै प्रदेशमा नेपाली कांग्रेसको प्रमुख प्रतिपक्षको भूमिका पनि गुमेको छ ।

प्रतिक्रिया दिनुहोस्