Logo

राजनीतिसँगै सामाजिक विकासमा बस्नेत

राजनीतिज्ञलाई राजनीतिक कार्यक्रमका साथै आफ्ना कार्यकर्तालाई प्रशिक्षण दिँदै पार्टीका गतिविधिहरूमा भेटिनुलाई अस्वभाविक मानिँदैन र मानिनु पनि हुँदैन । किनकी, राजनीतिज्ञहरूको पहिलो पाठशाला र घर उसले अवलम्बन गरेको सिद्धान्तलाई अंगिकार गर्ने राजनीतिक पार्टी नै हो ।
तर, यतिखेर भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य महेश बस्नेत राजनीतिक गतिविधिहरूमा भन्दा सामाजिक विकास र जनसरोकारसँग सम्बन्धित गतिविधिहरूमा बढी भेटिन्छन् ।
राजनीति गर्नेहरूका निवासमा हरेक दिनजसो आफ्ना कार्यकर्ता तथा शुभेच्छुकहरूको भीड लाग्ने गर्दछ । अनि अधिकांश उनीहरूको समय आफ्ना कार्यकर्ता र शुभेच्छुकहरूको व्यक्तिगत मनोकांक्षा पूरा गर्नेमा नै व्यतीत हुने गरेको देखिन्छ । तर बस्नेतको हकमा यो कुरा निर्वाध रुपमा लागू भएको देखिँदैन । उनी स्वयं अहिले हरेक दिन बिहान हातमा कुचो लिएर राजमार्ग सरसफाइमा जुटिरहेका हुन्छन् । न त उनले आफ्नो निवासमा आफ्ना कार्यकर्ताहरूलाई भेट्छन्, न त उनीहरूको व्यक्तिगत मनोकांक्षा पूरा गर्नमा नै तल्लीन हुन्छन् । त्यस्तै अत्यावश्यक सन्दर्भ छ भने उनी राजमार्गको सरसफाइ स्थलमा नै संक्षिप्त भेटघाट र कुराकानी गर्छन् ।
पूर्वमन्त्री बस्नेत आजभोलि उनकै निर्वाचन क्षेत्रमा पर्ने अरनिको राजमार्ग सरसफाइमा जुटिरहँदा अन्य राजनीतिकर्मीहरूलाई समेत यस्तो कार्यमा लाग्नलाई हौस्याइरहेका छन् । राजनीति समाजसेवाको एउटा विधिसम्मत् आधार हो भन्ने सिद्धान्तलाई उनको यो कर्मले प्रष्ट्याइरहेको छ ।
४० हप्ता अगाडि उनले भक्तपुरकै ऐतिहासिक नदी हनुमन्ते सरसफाइ अभियानको नेतृत्व गरे । हरेक हप्ता कुनै न कुनै विशिष्ट व्यक्तिलाई आमन्त्रण गरी पहिलो चरणको हनुमन्ते सरसफाइलाई एउटा उचाइमा पु-याए । यो पवित्र कर्मको कतिपयले कटाक्ष पनि गर्न भ्याए । उनीहरूले भने, “नदीको प्लाष्टिक संकलन गरेर पनि कहि सरसफाइ हुन्छ ? यो त प्रचारवाजी मात्र हो ।” तर उनले यो कुरालाई खासै चासो दिएनन् । लोकले गरेको कटाक्ष भन्दा आफ्नो जिल्लाको समृद्धि र विकास कसरी गर्ने भन्नेमा नै उनको बढी चासो थियो ।
उनी भन्छन्, “समाजमा दुईथरि चरित्र विद्यमान रहेको छ, एउटा चरित्र जुन आत्मकेन्द्रित सोच र चिन्तनमा नै बढी रमाउने गर्दछ भने अर्काे चरित्र आफूभन्दा माथि लोकको हितमा सोच्ने गर्दछ । सायद म आत्मकेन्द्रित चरित्रको परिन कि !” अहिले बस्नेत आफ्नो गृह जिल्लामा विद्यमान संकीर्णतालाई मेटाउने कोसिस गरिरहेका छन् । उनी जिल्लाको विकासमा सबैको प्रतिबद्धता खोजिरहेका छन् । उनी भन्छन्, “विकासमा साझा प्रतिबद्धता आवश्यक छ भने राजनीतिमा खुल्ला प्रतिस्पर्धा हुनु जरुरी छ ।” व्यक्तिपरक राजनीति दीर्घकालिन नहुने बुझाइ उनको छ । उनी अहिले आफूले आदर्श मानेका जननेता मदन भण्डारीको पथ पछ्याइरहेका छन् । उनले भनेका थिए, ‘राजनीतिमा विश्राम भन्ने कुनै शब्दावली नै हुँदैन ।’
बस्नेतले २०७२ सालको महाभूकम्पबाट पीडितहरूको उद्धार र राहत कार्यमा समेत अग्रपंक्तिमा रहेर क्रियाशीलता देखाएका थिए । उनको राजनीतिक कर्म र सेवा भावनाका कारण उनी जिल्लाकै निर्विकल्प नेतृत्व बन्न पुगे । सोही कारण उनी २०७४ सालको आम निर्वाचनमा भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट झण्डै दोब्बर मत अन्तरले पूर्वसभामुख दमननाथ ढुंगानालाई पराजित गरी निवांचित हुनपुगे ।
विगतमा निर्वाचनमा विजयी उम्मेदवारहरूको निष्क्रियताका कारण नागरिक तहमा पलाएको वितृष्णाको पनि गहन समीक्षा गर्न सक्ने क्षमता राख्छन् बस्नेत । अनि राजनीति गर्नेहरूको व्यक्तिगत स्वार्थ कुनैपनि हालतमा हावी हुनुहुँदैन भन्नेमा पनि सचेत छन् । यिनै क्षमता र गुणहरूका कारण भक्तपुरमा उदाउँदो र स्थापित राजनीतिज्ञका रुपमा उनी देखा परेका छन् ।
स्वाभाविक रुपमा भक्तपुरले बस्नेतसँग आशा पनि धेरै गरेको छ । उनले पनि ती आशा र भरोसालाई व्यवहारिक रुपमा चरितार्थ गर्नु जरुरी ठानेका छन् । आफ्नो जिल्लावासीको आशा र भरोसालाई परिपूर्ति गर्नकै लागि उनी कहिले हनुमन्ते सरसफाइका साथै व्यवस्थित करिडोर निर्माणमा जुटेका छन् त कहिले राजमार्गलाई स्वच्छ, सफा र सुरक्षित बनाउने अभियानमा लागेका छन् । कहिले जिल्लामै अत्याधुनिक खेलमैदान निर्माणमा लाग्छन्न् त कहिले अन्तर्राष्ट्रिय स्तरको सम्मेलन भवनको परिकल्पनालाई साकार पार्न तल्लीन हुन्छन् ।
यसको निम्ति श्रोत र साधन जुटाउन केन्द्रदेखि प्रदेश अनि प्रदेशदेखि स्थानीय तहसम्म सक्रिय छन् । उनको यो सक्रियता देख्दा लाग्छ, एउटा जनप्रतिनिधिले गर्न सक्ने धेरै रहेछ । उसमा श्रोत र साधनको पनि अभाव रहेनछ । अभाव त केवल उसको इच्छाशक्ति र क्रियाशीलताको मात्र रहेछ । जसलाई महेश बस्नेतले व्यवहारिक रुपमा कार्यान्वयन गरेर देखाउन थालेका छन् । उनी भन्छन्, “जनताले मलाई जिताएर पठाएका, केवल कुरा गर्न वा निष्क्रिय भएर बस्नका लागि मात्र होइन । व्यवहारिक रुपमा काम गरेर देखाउनको लागि हो । हामीले नगरे कसले गर्ने ? अहिले नगरे कहिले गर्ने ?”

प्रतिक्रिया दिनुहोस्