विमानस्थलमा सरकारी निकायकै बक्यौता ८७ करोड «

विमानस्थलमा सरकारी निकायकै बक्यौता ८७ करोड

भन्सार कार्यालय र नेपाल वायुसेवा निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई वर्षौंदेखि बक्यौता तिर्न अटेर गरेको पाइएको छ । सरकार मातहतका यी दुई निकायले विमानस्थललाई हालसम्म ८७ करोड ३३ लाख ३१ हजार ४ सय ९ रुपैयाँ बक्यौता तिरेका छैनन् । भन्सार कार्यालयलेमात्र विमानस्थललाई ५५ करोड १२ लाख २१ हजार ८ सय १६ रुपैयाँ तिर्न बाँकी रहेको छ । जबकी भन्सार कार्यालयले विमानस्थलबाटै वार्षिक अर्बौं राजस्व उठाउँदै आएको छ । विमानस्थल कार्यालयले बक्यौता तिर्न ताकेता गर्दा मन्त्रिपरिषद्बाट मिनाह गराउँछौ भन्दै टार्दै आएकोले समस्या भएको विमानस्थल स्रोतले जानकारी दिएको छ ।
यस्तै, राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले पनि विमानस्थल कार्यालयलाई ३२ करोड २१ लाख ९ हजार ५९ रुपैयाँ बुझाउन बाँकी छ । निगमले भने समयतालिका बनाएर तिर्ने प्रतिवद्धता जनाएकोले कारबाही नगरिएको विमानस्थल कार्यालयको भनाइ छ । “दुई ठूला सरकारी निकायको बक्यौता धेरै रहेकोले समस्या भएको हो,” विमानस्थलका महाप्रबन्धक देवानन्द उपाध्यायले भने । उनका अनुसार बन्द अवस्थामा रहेका ३२ एयरलाइन्सको ११ करोड ३९ लाख ४ हजार ९ सय ७३ रुपैयाँ बक्यौता वर्षौंदेखि उठ्न सकेको छैन् । विगतमा नेपालमा उडान भर्न आएका विदेशीदेखि स्वदेशी एयरलाइन्स कम्पनीहरूले बक्यौता तिरेका छैनन् । उक्त कम्पनीहरूसँग बक्यौता उठाउनको लागि केन्द्रीय तहसिलको कार्यालयले प्रक्रिया अगाडि बढाएको उपाध्यायले जानकारी दिए । बन्द अवस्थामा रहेका र कारोबारमा नरहेका संघसंस्था र फर्महरूसँग पनि २ करोड ९७ लाख ५७ हजार ५ सय १८ रुपैयाँ बक्यौता उठ्न सकेको छैन ।
बन्द भइसकेका तथा सरकारी संस्थाबाहेकको बक्यौता पनि ४६ करोड ६४ लाख २० हजार ३ सय १८ रुपैयाँ रहेको उपाध्यायले जानकारी दिए । जसमा अन्य एयरलाइन्सहरूले बक्यौता तिरे पनि केही आन्तरिक र अन्तर्राष्ट्रियतर्फ एयर एसिया एक्सको मात्रै बाँकी रहेको उनको भनाइ छ । एयर एसियाले अव २० करोड ५० लाख रुपैयाँ बक्यौता तिर्न बाँकी छ । कम्पनीले समय तालिकासहित तिर्ने प्रतिवद्धता जनाएकाले सोमबारबाट बन्द गर्ने भनिएको सेवालाई तत्काल कुनै कारवाही नगरिने कार्यालयको भनाइ छ । आन्तरिक वायुसेवातर्फ सिम्रिक एयरलाइन्सबाट २ करोड १० लाख र सौर्य एयरलाइन्सबाट २ करोड ४२ लाख उठाउन बाँकी छ । हेलिकप्टर कम्पनी सिम्रिकले पनि १८ लाख बुझाउन बाँकी छ ।
बक्यौता समयमा बुझाउनेलाई सुविधा रहेकोले धेरै एयरलाइन्सहरूले सुविधा उपयोग गर्र्दै आएको समेत उपाध्यायले बताए । बिलिङ भएको ७ दिनभित्र शुल्क बुझाउनेले ३ प्रतिशत छुट पाउने गरेका छन् भने ३० दिनसम्म बुझाउनेलाई कुनै पनि जरिवाना लाग्दैन । ४५ दिनभित्र बुझाउनेलाई ५ प्रतिशत, ६० दिनसम्मलाई १५ प्रतिशत तथा सो अवधि नाघेमा ३० प्रतिशत जरिवाना लाग्ने व्यवस्था छ ।

 

प्रतिक्रिया दिनुहोस्