निर्मलाको न्यायका लागि कालोपट्टी बाँधेर विरोध «

निर्मलाको न्यायका लागि कालोपट्टी बाँधेर विरोध

कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको न्यायको माग गर्दै कञ्चनपुरका महिला अधिकारकर्मीले आन्दोलनको स्वरुप परिवर्तन गरेका छन् । २२ दिनदेखि परिवारसँगै धर्नामा बसेको नागरिक संघर्ष समितिले सोमबार कञ्चनपुरको जिल्ला प्रशासान कार्यालयको गेटमा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरेका छन् ।
निर्मलाको न्यायका लागि पीडित परिवारले सुरु गरेको अनिश्चितकालीन धर्नामा बस्दै आएको नागरिक संघर्ष समितिले सोमबारबाट आन्दोलनको स्वरुप परिवर्तन गरेको हो । निर्मलाको न्यायका लागि सरकारलाई दबाब दिन आन्दोलनको स्वरुप परिवर्तन गरिएको महिला अधिकारकर्मी शारदा चन्दले बताइन् । उनले मंगलबार पनि ११ बजेदेखि ४ बजेसम्म जिल्ला प्रशासन कार्यालयको गेटमा कालोपट्टी बाँधेर विरोध जनाउने, १८ गते दिउँसै टर्च तथा लाल्टिन बालेर प्रदर्शन गर्ने र २० गते मानव साङ्लो बनाएर प्रदर्शन गर्ने जानकारी दिइन् ।
चन्दका अनुसार २० गतेसम्म नयाँ तरिकाको आन्दोलनबाट सरकारलाई दबाव दिइनेछ । सरकारले आफूहरुको मागको बेवास्ता गरे सबै पक्षसँग पुनः छलफल गरेर आन्दोलनका कार्यक्रम तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्