प्रतिनिधिसभा बिजनेसविहीन, राष्ट्रियसभा बैठक बोलाउन माग «

प्रतिनिधिसभा बिजनेसविहीन, राष्ट्रियसभा बैठक बोलाउन माग


प्रतिनिधिसभाको पुनस्र्थापना भई अधिवेशन बोलाइए पनि सरकारले बिजनेस नदिँदा औपचारिकतामा सीमित बनेको छ । अर्कोतर्फ राष्ट्रिय सभाको बैठक भने बोलाइएको छैन । त्यसैले प्रतिनिधिसभा विजनेश विहीन भएर अन्त्य हुने आशंका बढेको छ ।
संघीय संसद् दुई सदनात्मक भएकाले दुवै सदनले आफ्ना कामहरु परिपूरक भएर सम्पादन गर्नुपर्ने व्यवस्था छ । प्रतिनिधि सभा पुनस्र्थापना भएपछि अधिवेशन बोलाइए पनि बिजनेस नपाउँदा अहिलेसम्म बसेका बैठक औपचारिकतामा सीमित बन्न पुगेका छन् । संसद्लाई प्रभावकारी बनाउन अहिले राष्ट्रिय सभाको बैठक पनि बोलाउनुपर्ने माग उठिरहेको छ । सरकारले बिजनेस छैन भनिरहँदा प्रतिनिधि सभाको बैठकमा सम्पूर्ण प्रक्रिया सकिएका ४ विधेयक राष्ट्रिय सभाको लागि बिजनेस हुने देखिन्छ । प्रतिनिधि सभामा ३६ वटा विचाराधिन अवस्थामा रहेका विधेयकमध्ये ४ वटा विधेयक प्रतिनिधिसभामा पेश भएर रहेको अवस्थामा अगाडि बढाउन सकिने संघीय संसदका सह–प्रवक्ता दशरथ धमलाले बताए । सभामा पेश गर्न तयारी अवस्थाका विधेयकहरुलाई पनि अगाडि बढाउन सकिने प्रवक्ता धमलाले बताए ।
यता प्रतिनिधि सभाको पहिलो बैठकमा पेश गर्नुपर्ने अध्यादेशहरु अहिलेसम्म (एकवटा बाहेक) पेश भएका छैनन् । संवैधानिक परिषद् सम्बन्धी ऐन २०६६ लाई संशोधन गर्न जारी गरिएको अध्यादेश मात्र सभामा पेश भएको छ । कांग्रेस लगायतका दलले विरोध गरेको अध्यादेश संसद बैठकमा टेबल भइसकेको र बाँकी अध्यादेशमा बिरोध नै नरहेको अवस्थामा पनि अध्यादेश प्रतिनिधि सभा बैठकमा पेश भएका छैनन् । संसदको पहिलो बैठकमा पेश गर्नुपर्ने विधेयक अहिलेसम्म पेश नहुनु र अर्को अधिवेशन बोलाउन चालु प्रतिनिधि सभाको अधिवेशन अन्त्य भए अध्यादेश निस्क्रिय हुने देखिन्छ । पेश नभएका अध्यादेश कस्तो अवस्थामा रहन्छ भन्ने बारे नियमावालीमा स्पष्ट व्यवस्था नभएको सह–प्रवक्ता धमलाले बताए ।
सत्तारुढ दल भित्रको अन्तरकलह र विपक्षी दलको निस्क्रियताले संघीय संसदको दुवै सदन निस्काम बनेका छन् । प्रतिनिधि सभाले विजनेश नपाएर अन्त्य हुने अवस्थामा पुगेको छ भने सरकारले विभिन्न प्रयोजनको लागि जारी गरेको अध्यादेश पनि संसद बैठकमा पेश नभई निस्क्रिय बन्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्