थ्री नेसन्स कपको च्याम्पियन बन्यो नेपाल «

थ्री नेसन्स कपको च्याम्पियन बन्यो नेपाल

नेपाल थ्री नेसन्स कपको च्याम्पियन बनेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको फाइनलमा बंगलादेशलाई २–१ ले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो ।
नेपाललाई च्याम्पियन बनाउन सञ्जोग राई र विशाल राईले गोल गरे । दुवै गोल पहिलो हाफमा भएको थियो । बंगलादेशका महाबुबुर रहमानले एक गोल फर्काए ।
१८औं मिनेटमा सञ्जोग राईले गोल गर्दै नेपाललाई १–० को अग्रता दिलाएका थिए । राष्ट्रिय टोलीबाट सञ्जोगले डेब्यु गोल गरेका हुन् । उनी यसै नेसन्स कपमा राष्ट्रिय टोलीमा परेका थिए ।
४२औं मिनेटमा विशाल राईले गोल गर्दै नेपाललाई २–० को अग्रता दिलाए । दोस्रो हाफमा पनि नेपालले बंगलादेशलाई दबाबमा राखे पनि थप गोल गर्न नसक्दा एक गोल बेहो-यो ।
विश्वकप छनोटको खेल स्थगित भएपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले थ्री नेसन्स कपको आयोजना गरेको थियो । लिग चरणमा नेपालले किर्गिस्तानको ओलम्पिक टोली र बंगलादेशसँग गोलरहित बराबरी खेल्दै लिगमा दोस्रो स्थानमा रहेको फाइनलमा स्थान बनाएको थियो । बंगलादेशले लिग चरणमा किर्गिस्तानको ओलम्पिक टोलीलाई १–० ले तथा नेपालसँग गोलरहित बराबरी खेलेको थियो ।
च्याम्पियन बनेसँगै नेपालले ५ हजार अमेरिकी डलर प्राप्त गरेको छ । नेपालले सन् १९८४ पछि घरेलु मैदानमा पहिलो उपाधि जितेको हो । त्यतिबेला दक्षिण एसियाली खेलकुद महासंघ (साग) मा बंगलादेशलाई हराएको थियो ।

प्रतिक्रिया दिनुहोस्