ऊर्जामा चालू वर्षभन्दा १४ अर्ब बढी बजेट सिलिङ

सरकारले चालू आर्थिक वर्ष २०७७-०७८ वर्षमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका लागि १ खर्ब १९ अर्बको सिलिङ दिएको थियो । तर, ९९ अर्ब ४२ करोड ९५ लाख बजेट विनियोजन गरेको छ ।
आगामी वर्षका लागि भने अर्थ मन्त्रालयले १ खर्ब १३ अर्ब बराबरको सिलिङ दिएको छ, जुन चालू वर्षको बजेटभन्दा १४ अर्ब बढी हो भने गत वर्ष दिएको सिलिङभन्दा ५ अर्ब कम हो । अर्थ मन्त्रालयले नयाँ योजनाहरु थप नगर्नु भनेकोले अहिले मन्त्रालयले बजेटको सिलिङको आधारमा बजेट तथा कार्यक्रम बनाइरहेको छ । ‘चालू वर्षको भन्दा १४ अर्ब बढीको सिलिङ आएको छ, सिलिङ अनुसारकै योजना बनाइरहेका छौं,’ ऊर्जा मन्त्रालयका सह–प्रवक्ता गोकर्णराज पन्थले भने ।
सरकारले आगामी आर्थिक वर्षभित्र शतप्रतिशत विद्युतीकरण गर्ने योजना बनाएको छ । हाल ९० प्रतिशत रहेको यसलाई शतप्रतिशत पु-याउन १५ अर्ब आवश्यक रहेको विद्युत् प्राधिकरणले जनाएको छ । चालू वर्षमा ५ अर्ब छुट्याएको सरकारले शत प्रतिशत पु¥याउन आगामी वर्ष थप १० अर्ब छुट्याउनुपर्छ तर आगामी वर्षको बजेटमा ५ अर्ब मात्र छ । त्योमध्ये पनि एक अर्ब मात्र सरकारको छ भने बाँकी वैदेशिक सहायता छ । वैदेशिक सहायताको रकम खर्च गर्न विविध कारणले समस्या हुने भएकोले विद्युत प्राधिकरणले सरकारकै बजेट छुट्याउनुपर्ने बताइरहेको छ । तर आगामी वर्षका लागि अधिकांश रकम वैदेशिक सहायताकै छ ।
प्राधिकरणले चालू वर्षमै थप ५ अर्बका लागि ऊर्जा मन्त्रालयमा प्रस्ताव भने पठाइसकेको छ । आगामी वर्षका लागि दिइएको बजेटको सिलिङमा समेत सरकारले छुट्याउने बजेट करिब १५ प्रतिशत कम छ भने वैदेशिक सहायता भने बढेको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
दोस्रो चौमासिक अर्थात चालू वर्षको ८ महिनाको बजेटको खर्च भने ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रको निराशाजनक छ । जम्मा ९९ अर्ब ४२ करोड ९५ लाख बजेटमध्ये खर्च ३१ अर्ब २९ करोड १० लाख मात्र खर्च भएको छ । मन्त्रालयका सह–सचिव नुर मुहम्मद खाँले दोस्रो चौमासिकको प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा पेश गरेको प्रतिवेदन अनुसार ऊर्जातर्फ बजेट ७२ अर्ब ६० करोड ३३ लाख रहेकोमा २४ अर्ब १४ करोड ४ लाख खर्च भएको छ भने सिँचाइतर्फ कुल बजेट २६ अर्ब ८२ करोड ६३ लाख रहेकोमा खर्च ७ अर्ब १५ करोड ८ लाख मात्र खर्च भएको छ ।
प्रतिवेदन अनुसार समग्रमा ५ अंक विन्दुको रेटिङमा दोस्रो चौमासिकको लक्ष्यको आधारमा १२१ परियोजनामध्ये मध्ये ५६ मात्र उत्तम प्रगति छ । ऊर्जामा ६० परियोजनामध्ये उत्तम प्रगति १९ को मात्र छ भने ६० देखि ८० प्रतिशतसम्म प्रगति हुने १५, ४० देखि ६० सम्म हुने ९ तथा ४० प्रतिशतभन्दा कम प्रगति हुने १७ योजना छन् । त्यसैगरी जलस्रोत तथा सिँचाइतर्फ ६१ मध्ये ३७ उत्तम प्रगति भएको छ भने ६०–८० प्रतिशत हुने २, ४०–६० प्रतिशतसम्म हुने १० र ४० प्रतिशतभन्दा न्यून हुने १२ योजना छन् ।
विद्युत् जडित क्षमता १६ सय मेगावाट पु¥याउने लक्ष्य राखेकोमा ५७ मेगावाट थपिएर १४ सय ५८ मेगावाट मात्र पुगेको छ । मन्त्रालय अन्तर्गत ११९ आयोजना रहेकोमा ३८ सम्पन्न भएका छन् भने २९ म्याद कायम र २८ म्याद थपको प्रकृयामा छन् । मन्त्रालय अन्तर्गत ६ अर्ब ५४ करोड ४४ लाख बेरुजुमध्ये १ अर्ब ४० करोड ८० लाख फच्र्योट भएको छ । ऊर्जातर्फ रहेको ४८ लाख ९२ हजारमध्ये ८२ प्रतिशत अर्थात ४० लाख २७ हजारको फच्र्योट भएको मन्त्रालयले जनाएको छ । यसले मन्त्रालयका प्रगति औसत मात्र रहेको देखाएको छ ।
दोस्रो चौमासिक बजेटमा ऊर्जातर्फ २२ अर्ब ९५ करोड ४८ लाख रहेकोमा खर्च १५ अर्ब ८८ करोड ४३ लाख तथा जलस्रोत तथा सिँचाइतर्फ १० अर्ब ६१ करोड ७० लाख रहेकोमा खर्च ४ अर्ब ८० करोड ६८ लाख खर्च भएको छ । दोस्रो चौमासिकसम्ममा ३३ अर्ब ५७ करोड १८ लाख खर्च गर्नुपर्नेमा २० अर्ब ६९ करोड ११ लाख मात्र भएको मन्त्रालयले जनाएको छ ।