भन्सारमा थप एजेन्ट «

भन्सारमा थप एजेन्ट

सरकारले एकैपटक ठूलो संख्यामा भन्सार एजेन्ट थप गर्न लागेको छ । बीस वर्षदेखि नियुक्त हुन नसकेको एजेन्टको इजाजतका लागि सोमबार सार्वजनिक सूचना प्रकाशन गरिएको छ । अर्थ मन्त्रालय अन्तर्गतको भन्सार विभागले सार्वजनिक सूचना प्रकाशन गर्दै ६६० एजेन्ट थपको तयारी गरेको हो । विभागले भन्सार एजेन्टको इजाजतपत्र लिन अनलाइनमार्फत दरखास्त आह्वान गर्न सकिने जनाएको छ ।
दुई दशकदेखि भन्सार एजेन्ट थप हुन नसक्दा एकैपटक ठूलो संख्यामा आवेदन माग गरिएको विभागका महानिर्देशक यमलाल भुसालले जानकारी दिए । परीक्षा केन्द्र काठमाडौंमा मात्र हुनेछ । दरखास्त भर्न दस्तुर तीन हजार लाग्ने विभागको भनाइ छ । २०७८ साल वैशाख ५ गतेसम्म दरखास्त दिने समय रहेको छ भने दोब्बर दस्तुर तिरी १२ गतेसम्म आवेदन दिन सकिनेछ । इच्छुक उम्मेदवार स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ । कम्प्युटरसम्बन्धी कम्तीमा तीन महिनाको आधारभूत तालीम लिएको हुनुपर्नेछ ।
दुई दशकयता भन्सार एजेन्ट नियुक्त गर्न नसक्दा हाल १७० जना एजेन्ट मात्रै रहेका छन् । विभागले नयाँ माग गरेको एजेन्टका लागि लोकसेवा आयोगमार्फत लिखित तथा मौखित परीक्षा लिने तयारी गरेको छ । भन्सार एजेन्टका लागि आवेदन दिन बिए वा सो सरहको शैक्षिक योग्यता आवश्यक हुन्छ भने साधारण कम्प्युटर चलाउन सक्ने हुनुपर्छ ।
यसअघि भन्सार एजेन्टको अनुमतिपत्र दिने परीक्षा सञ्चालन गर्न खोज्दा सर्वोच्च अदालतमा मुद्दा परेपछि परीक्षा रोकिएको थियो । अदालतले ऐनमा व्यवस्था गरेरमात्र परीक्षा लिनुपर्ने आदेश दिएको थियो । भन्सार विभागले ऐन परिमार्जन गरी परीक्षा लिन लागिएको जनाएको छ । भन्सार एजेन्टले आयात निर्यातमा व्यापारी र भन्सार कर्मचारीबीच पुलको काम गर्छन् ।

प्रतिक्रिया दिनुहोस्