Logo

उपत्यका भित्रिने नाकामा चेकजाँच नै भएन

Tribhuvan Rajmarg Pass (1510m) at western Kathmandu Valley edge

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यका भित्रिने मुख्य २ नाकामा कोरोना संक्रमणको जोखिम घटाउन चेक जाँचमा कडाइ गर्नुपर्ने बताइरहे पनि अवस्था भने ठिक विपरित देखिएको छ ।
आइतबार अपरान्ह काठमाडौं भित्रिने पश्चिमी नाका नागढुङ्गा र पूर्वी नाका साँगा भञ्ज्याङमा कुनै पनि सुरक्षा सावधानी, चेकजाँच भएको देखिएन । सवारी साधनमा रहेका यात्रु तथा कर्मचारी स्वयंले पनि सुरक्षाको उपाय÷सावधानी अपनाएको देखिएन । तैनाथ सुरक्षाकर्मीले सवारी साधनको लगत लिने बाहेक अन्य कुनै सतर्कता अपनाएको देखिएन । यी दृश्यले काठमाडौं उपत्यकामा संक्रमणको जोखिमलाई बढाएको छ ।
मास्क लगाउने, दुरी कायम गर्ने कुनैपनि सुरक्षा सावधानीको उपायको न्यूनतम रुपमा पनि प्रयोग भएको छैन । यात्रुहरु बिना मास्क कुनै भौतिक दूरी कायम नगरी जोखिमपूर्ण रुपमा उपत्यका प्रवेश गरिरहेका छन् । यता, काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढिरहेको छ ।
काठमाडौँ लगायत विभिन्न शहरमा कोरोना संक्रमण जोखिम बढेको छ । सरकारले जोखिम बढेको भन्दै सावधानी अपनाउन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिनेमा हल, विद्यालय, भिडभाड हुने कार्यक्रम लगायतको काम बन्दको सिफारिस गरेको छ । अहिले देखिएको भाइरस पहिले भन्दा बढी संक्रामक देखिएको विभिन्न अनुसन्धानहरुले देखाएको छ । सरकारले सावधानी अपनाउन भनेपनि काठमाडौँ उपत्यका भित्रिने सिमा नाकाको चेक जाँच कडाइ फितलो देखिएको छ ।
यसैबिच कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले कोरोना संक्रमणको दोस्रो लहर फैलिन सक्ने भन्दै सतर्कता अपनाउन अपील गरेको छ ।
सीसीएमसीको बैठकले पछिल्लो समय कोभिड संक्रमणको ग्राफ बढेको र नयाँ भेरियन्ट समेत देखा परेको भन्दै सतर्कता अपनाउन राष्ट्रिय रुपमा अपील गर्ने निर्णय गरेको हो । बैठकपछि पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सचिव खगराज बरालले बैठकमा अहिलेको संक्रमणको स्थिति र तयारीको विषयमा छलफल भई आम रुपमा सतर्कता अपनाउन अपील गर्ने निर्णय भएको बताए । यसबाहेक जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)लाई अझ बढी सक्रिय बनाउने निर्णय पनि बरालले जानकारी दिए ।
सीमा नाकाहरुमा सञ्चालनमा आएका हेल्थ डेस्कहरुलाई थप प्रभावकारी बनाउने, एन्टिजेन टेष्टलाई बढाउने, कोभिड संक्रमण भई लक्षण देखा परेका बिरामीलाई अस्पताल भर्ना गर्ने र लक्षण नदेखिएकालाई क्वारेन्टाइनमा राख्ने काम गर्ने निर्णय पनि बैठकले गरेको छ । यसबाहेक कुनैपनि क्षेत्रबाट स्वास्थ्य मापदण्ड पालना नभई अटेरी रुपमा सञ्चालनमा आएको पाइए कडा कदम चाल्नुपर्ने अवस्था आउन सक्ने पनि सचिव बरालले बताए ।

प्रतिक्रिया दिनुहोस्