नवलपरासीको डाकोटमा ११ करोड लगानीमा होटल सञ्चालन «

नवलपरासीको डाकोटमा ११ करोड लगानीमा होटल सञ्चालन

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैंडाकोट नगरपालिका–२ को शिलान्यास चोकमा सुविधासम्पन्न होटल सञ्चालनमा आएको छ । तीनतारे गुणस्तरको होटल सञ्चालन गर्ने लक्ष्यसहित गैंडाकोटमा ११ करोड रुपैयाँको लगानीमा होटल मुन स्टार सञ्चालनमा ल्याइएको हो ।
होटल व्यवसाय र चलचित्र क्षेत्रमा समेत काम गर्दै आएका दुई युवाले होटल सञ्चालनमा ल्याएका हुन् । १२ वर्षदेखि होटल व्यवसाय सञ्चालन गर्दै आएका राम गैरे तथा १० वर्षदेखि होटल सञ्चालन गर्दै आएका चलचित्रकर्मी ध्रुव न्यौपानेको लगानीमा होटल सञ्चालनमा आएको हो । गैरेको जापानमा चार तथा नेपालमा दुईवटा होटल सञ्चालनमा छन् ।
यसअघि धवलागिरि फिल्म हल रहेको भवनलाई व्यवस्थित गर्दै ११ करोड रुपैयाँको लगानीमा होटल सञ्चालन गरेको गैरेले बताए । ५ कठ्ठा पाँच धुर जमिनसहितको भवनलाई व्यवस्थित गर्दै होटल सञ्चालनमा ल्याइएको होटलको गुणस्तर तथा सेवा, सुविधा वृद्धि गर्दै लगिने गैरेले बताए । नेपालमा पर्यटनको प्रचुर सम्भावना रहेको भन्दै नेपालकै केन्द्रमा पर्ने गैंडाकोटमा समेत पर्यटनको ठूलो सम्भावना देखिएका कारण उनले ५ वर्षको अध्ययनपछि होटल सञ्चालनमा ल्याएको बताए ।
ठूला होटलले प्रदान गर्ने सेवा, सुविधा सस्तो शुल्कमा प्रदान गरिने भन्दै सञ्चालक न्यौपानेले नेपालमा नै स्थापित हुने गरेर होटलमा लगानी गरिएको बताए । सो होटलमा पार्टी प्यालेस, रेष्टुरेन्ट एण्ड बार, सेमिनार हल, ट्राभलका लागि गाडी व्यवस्था गरिएको छ । एक सय जनासम्म बास बस्न मिल्ने गरी तीन प्रकारका कोठाको व्यवस्था गरिएको उल्लेख गर्दै न्यौपानेले एकैपटकमा एक हजार ५०० जनालाई खाना खुवाउन सक्ने गरी सेमिनार तथा भोजभतेर गर्न सकिने हलको सुविधा रहेको जानकारी दिए ।
नेपाली, चाइनिज, इण्डियन, थाइलगायत एशियन फुड्सको सेवा उपलब्ध गराउने गरी होटल सञ्चालन गरिएको न्यौपानेले बताए । ५०० रुपैयाँदेखि दुई हजार २०० रुपैयाँसम्मका बास बस्ने कोठाको व्यवस्था गरिएकाले अन्यको दाँजोमा सस्तो र गुणस्तरीय सेवा प्रदान गरिने उनले बताए । होटलमा स्विमिङ पुलको तयारीसमेत भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्