पाँचथरमा माओवादी छोडी राप्रपामा प्रवेश «

पाँचथरमा माओवादी छोडी राप्रपामा प्रवेश

पाँचथर- बदलिँदो राजनीतिक घटनाक्रमसँगै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गर्ने लहर बढ्दो छ । यसै क्रममा माओवादी केन्द्र परित्याग गरी राप्रपामा प्रवेश गर्ने युवाहरूलाई पार्टी नेता सगुन सुन्दर लावतीले स्वागत गरेका छन् ।
‘हिजो जे जस्तो भनिए पनि, निष्पक्ष राष्ट्रप्रमुख र अभिभावकको भूमिकामा नेपाली जनताले राजसंस्था र सनातन हिन्दुराष्ट्रको माग गरेका छन् । नयाँ नेपालको नारा र बाचाले लक्षित परिवर्तन र समृद्धि प्राप्त गर्न सकेन, समावेशी संरचना र पहिचान स्थापित गर्न सकेन, त्यसैले जनताले विकल्प खोजेका छन्,’ नवप्रवेशीहरूलाई स्वागत गर्दै राप्रपाका केन्द्रीय सम्पादन समिति सदस्य तथा प्रदेश नं १ का उपाध्यक्ष लावतीले भने ।
‘परिवर्तनका संवाहक हौं भन्ने दल र पात्रहरूले जनतालाई भन्ने केही बाँकी रहेन । यसकारण देश र राजनीति नयाँ शिराबाट अघि बढ्नु आवश्यक भएको हो,’ नेता लावतीले भने ।
मिक्लाजुङ–१, सराङडाँडामा सम्पन्न राप्रपा वडा भेलामा माओवादी पार्टी परित्याग गरी राप्रपामा प्रवेश गर्नेहरूमा अबीरमान राई, हर्क चाम्लिङ, देउकुमार चाम्लिङ, जितबोल राईलगायत १५ जना थिए ।
वडा भेलालाई सम्बोधन गर्दै राप्रपा पाँचथरका अध्यक्ष राजकुमार जोशीले पार्टीको महाधिवेशनबाट प्राप्त हुने नेतृत्वले देश र जनताको समस्या सम्बोधन गर्ने दावी गरे । राप्रपा पाँचथरका जिल्ला सचिव कमल कुमार राईले भने, राप्रपा जनताको पार्टी हो, यही रुपमा अघि बढीरहने छ । भेलाका सहभागीहरूले स्वर्गीय नेता पद्मसुन्दर लावतीको पदचिन्हमा जनताको सेवामा निरन्तर अग्रसर हुनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्