सेवाग्राहीलाई कार्यालयमै खाना खुवाएर नागरिकता वितरण «

सेवाग्राहीलाई कार्यालयमै खाना खुवाएर नागरिकता वितरण

नागरिकता पाउँदा ज्येष्ठ नागरिक खुसी
नेपालगन्ज-शुक्रबार जिल्ला प्रशासन कार्यालय बाँकेको परिसरमा झट्ट हेर्दा कुनै भोज भतेर, सभा समारोह या विवाहको पाटी जस्तो दृष्य देखिन्थ्यो । कार्यालय परिसरभित्र टेन्ट लगाएर बनाइएको खाना खाने स्थानमा केही सेवाग्राही कुर्सीमा बसेर खाना खाइरहेका देखिन्थे भने केही हातहातमा थाल लिएर खाना खाने लाममा उभिएका थिए । खाना खाँदै गरेका यी सेवाग्राही नियमित कार्यालयमा सेवा लिन आउने गरेका सेवाग्राही भने होइनन् । यी त बाँकेकोे दुर्गम क्षेत्र मानिने राप्तीसोनारी गाउँपालिकाबाट नागरिकता बनाउन आएका स्थानीय हुन् ।
सरकारी सेवा प्रभावकारी तरिकाले हुन नसकिरहेको अवस्थामा बाँकेमा सेवाग्राहीलाई कार्यालयमै सरकारी खाना खुवाएर सेवा प्रवाह गरिएको छ । विभिन्न कारणले नागरिकता बनाउन नसकेका विपन्न तथा असहाय नागरिकलाई राप्तीसोनारी गाउँपालिकासँगको समन्वयमा जिल्ला प्रशासन कार्यालय बाँकेले नागरिकता वितरण गरेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले बताए । “यसरी सेवा दिँदा सदरमुकामभन्दा टाढा दूरदराजका नागरिक र प्रशासनको बीचमा सम्बन्ध प्रगाढ हुने अपेक्षा गरेका छौं,” उनले भने । उनीहरूलाई राप्तीसोनारी गाउँपालिकाले निःशुल्क बसको व्यवस्था गरी सदरमुकाम नेपालगन्ज पठाएको थियो भने जिल्ला प्रशासन कार्यालय परिसरमै सरकारी खाना खुवाइएको प्रजिअ कुरुम्वाङको भनाइ छ ।
राप्तीसोनारीबाट नागरिकता बनाउन आउनेमा भर्खरै उमेर पुगका युवा युवतीदेखि जीवनको उत्तराद्र्धमा प्रवेश गरेका वृद्धवृद्धा पनि थिए । ६७ वर्षको उमेरमा पहिलोपटक नागरिकता पाएपछि परिवारबाट अपहेलित राप्तीसोनारी–४ बैजापुरकी पार्वती थापाले खुसी हुँदै जीवनको सहाराविहीन अवस्थामा नेपाली नागरिक भएको महसुस गरेको बताइन् । “नागरिकताका लागि धेरैपटक वडामा धाएँ, सदरमुकामसम्म आउन सकेको थिइन,” उनले भनिन्, “बल्ल पाएँ खुसी लागेको छ ।” नागरिकता पाएपछि अब सरकारबाट पाउने एकल महिला भत्ता पाउने बाटो खुलेको उनको भनाइ छ ।
लामो समयसम्म भारतमा बसेर फर्केका बैजापुरका नन्दे ओली दम्पतीको मुहारमा पनि नागरिकता पाएपछि खुसी छाएको देखिन्थ्यो । ७४ वर्षीय ओलीले आफूहरू लामोसमयसम्म भारतमा बसेर फर्केकाले श्रीमतीको नागरिकता बनाउन नसकेको बताए । यसअघि खासै काम नपरे पनि श्रीमती शान्ति ओलीको नागरिकता अभावमा सामाजिक सुरक्षा भत्ताबाट वन्चित हुनुपरेको बताउँदै नागरिकता प्राप्त गरेपछि सामाजिक सुरक्षा भत्ता पाउने आशा व्यक्त गरे । उनकी ७२ वर्षीय श्रीमती शान्तिले जीवनको अन्तिम अवस्थामा नागरिकता पाउँदा खुसी लागेको बताइन् । “बुढेसकालको सहारा वृद्धभत्ता नै हो,” उनले भनिन्, “जति दिन बाँचिन्छ, कमाउने अरु उपाय छैन, भत्ताकै सहारामा छौं ।”
विकट क्षेत्रका नागरिकलाई घरदैलोमै सहज तरिकाले सेवा उपलब्ध गराउने नीति अनुरुप जिल्ला प्रशासन कार्यालय बाँकेले घुम्ती शिविर बन्द भएको अवस्थामा पहिलो चरणमा राप्तीसोनारीका ३ सय ७ जनालाई नागरिकता वितरण गरेको हो । नागरिकता पाउन नसकेका अन्य स्थानमा समेत यसैगरी स्थानीय सरकारसंँगको समन्यवमा सेवा उपलब्ध गराउने तयारी छ । यसले सार्वजनिक सेवा प्रवाह प्रभावकारी ढंगले हुनुका साथै सरकार र नागरिकबीच सुमधुर सम्बन्ध कायम कायम हुने देखिन्छ ।

७२ वर्षको उमेरमा नागरिकता प्राप्त गरेपछि खुसी हुँदै शान्ति ओली र उनका श्रीमान् नन्दे ओली । उनीहरूले नागरिकता प्राप्त गरेपछि वृद्धभत्ता पाउन सहज हुने बताए । तस्बिर ः कारोबार

प्रतिक्रिया दिनुहोस्