Logo

हिमाल नेपाली, नाम विदेशी

यहाँ विदेशी भाषाले अतिक्रमण गरेका नेपालका केही हिमाल र स्थान नामहरूका बारेमा केही लेख्ने प्रयास गरिएको छ । जस्तो कि, समुद्री सतहदेखि नाप्दाखेरि हालसम्मको विश्वकै अग्लो हिमचुचुरो मानिएको सगरमाथा हिमालकै कुरो गरौं, जुन हिमाललाई परापूर्व कालदेखि स्थानीय रूपमा बस्दै आएका कुलुङ, शेर्पालगायतका आदिवासी जनजातिहरूले पुकार्दै आएको नाम ‘चोमोलुङ्मा’ हो । त्यस्तै सो हिमालका उत्तरतर्फ का मानिसहरू (तिब्बती जनता) ले पनि सो हिमाललाई ‘चोमोलुङ्मा’ नामले नै चिन्छन् । यसरी हेर्दा सम्भवतः सो हिमालको वरिपरि बस्दै आएका मानिसहरूले सुरुदेखि नै सो हिमाललाई ‘चोमोलुङ्मा’ नामले पुकार्दै-बोलाउँदै आए होलान् । यसरी हेर्दा परापूर्वकालदेखि नै ‘चोमोलुङ्मा’ नामले चिनिँदै आएको हो । तर, सो हिमाललाई वि.सं. २०१० तिर ‘सगर+माथा’ दुई शब्द जोडेर ‘सगरमाथा’ भनी नयाँ नेपाली नाम दिइयो ।
हिजोआज जति नै राष्ट्रवादी र जातिवादी कुरो गरे तापनि चोमोलुङ्मा र सगरमाथाले भन्दा पनि ‘एभरेस्ट’ नामले बढी चिनिन्छ । चोमोलुङ्मालाई नयाँ नेपाली भाषाको नाम दिने व्यक्ति थिए, इतिहासकार बाबुराम आचार्य । त्यस्तै चोमोलुङ्मालाई अंग्रेजी भाषामा ‘एभरेस्ट’ नाम दिने देश बेलायत थियो । स्मरणीय छ, तत्कालीन भारतका सर्भेयर जनरल सर जर्ज एभरेस्टको सम्मानमा ‘एभरेस्ट’ नाम राखिएको थियो । त्यो बेला चोमोलुङ्मालाई ‘चरी लमेनी’ भनेर पनि चिनिन्थ्यो भने सगरमाथाको लगभग डेढ दर्जन अरू नामहरू पनि रहेका थिए । सुरुमा आधिकारिक रूपमा चोमोलुङ्माको उचाइको सम्पूर्ण नाप–जाँचको काम भने भारतीय (बंगाली) नागरिक राधानाथ सिकन्दर÷सिक्दर र नेपाली नागरिक करवीर बुढाथोकीले गरेका थिए । तर, त्यसको जसचाहिँ जर्ज एभरेस्टले पाए ।
यसरी हेर्दा सगरमाथा मात्रै होइन, नेपालका धेरै हिमालका नामहरू विदेशी र नेपाली (खस) भाषाले विस्थापन वा भनौं अतिक्रमण गरेका भेटिन्छन् । त्यसमा पनि विशेषतः अंग्रेजी नामले साम्राज्य चलाएको छ । जस्तै चोमोलुङ्माकै कुरो गरौं । माथि नै भनियो कि चोमोलुङ्मालाई माउन्ट एभरेस्ट र सगरमाथालगायतका नामहरू दिइयो । यसै क्रममा वि.सं. २०१० (सन् १९५३) मा तेन्जिङ नोर्गे शेर्पा (नेपाल) र एडमन्ड हिलारी (तत्कालीन बेलायती उपनिवेशअन्तर्गत न्युजिल्यान्डनिवासी) ले चोमोलुङ्मामाथि प्रथम मानव विजय पाए । त्यसपछि माथि नै भनिएझैं जातीयताको आधारमा फेरि (खस) नेपाली भाषामा नाम राखियो, ‘सगरमाथा’ । चोमोलुङ्माको अनेकौं नाम भए तापनि अहिले सगरमाथा र एभरेस्टको नामले बढी चिनिन्छ । तापनि विगतमा विदेशी लेखकहरूले लेखेका पुराना किताबहरू जति पनि छन्, ती किताबहरूमा ‘चोमोलुङ्मा’ भनेरै लेखेको पाइन्छ । तर, नेपालका धेरैजसो मिडियाकर्मीहरूले अभैm पनि ‘चोमोलुङ्मा’लाई ‘चोमोलुङ्मा’ नभनेर÷नलेखेर ‘सगरमाथा’ नामलाई नै महŒव दिइरहेका छन् ।
पूर्वमा रहेको कुम्भकर्ण हिमाललाई लिम्बू जातिले ‘फक्ताङलुङ’ (कुम भएको ढुंगो) भनी पुकार्छन्, त्यस्तै अर्को स्थानीय नाम ‘जान्नु’ पनि हो । हिउँदयाममा धानलगायतका अन्नपात भित्र्याउँदा फक्ताङ्लुङमा रहेको हिउँको थुप्रोलाई सह मानी धानको रासमाथि फक्लाङ्तुङतर्फ फर्काएर हँसिया, धुपौरो, पूmल, अक्षताले पूजा गरिन्छ भने कुखुराको भाले (जसलाई राशि भाले भनिन्छ) भोग दिइन्छ । सो क्षेत्रको अर्को हिमाल कञ्चनजंघालाई लिम्बूहरूले सेवालुङ÷सेन्छेलुङ भन्ने गर्छन् भने यस क्षेत्रमा अंग्रेजी भाषामा नाम रहेको अर्को हिमाल छ, जुन हिमाललाई ‘टेन्ट–पिक’ भनिन्छ । उक्त हिमाललाई खासमा किरात चुली भन्ने गरिन्छ ।
लाङटाङ क्षेत्रमा लाङटाङ–री र याला पिकको पछाडि रहेको एउटा सानो हिमाल (५ हजार ९ सय ५१ मिटर अग्लो) को नाम ‘मोरीमोतो’ राखिएको छ । ‘मोरीमोतो’ नामक जापानिजले पहिलो पटक चढ्न प्रयास गरेकाले उक्त हिमालको नाम ‘मोरीमोतो’ राखे, जापानीजहरूले । त्यस्तै डोम–ब्लँ (६ हजार ८ सय २० मिटर) फ्रेन्च भाषामा ‘सेतो’ भनेर राखिएको हिमाल छ, अन्नपूर्ण क्षेत्रमा । उक्त क्षेत्रमा फ्ल्युटेट पिक, टेन्ट पिक आदि अंग्रेजी भाषामा रहेका हिमाल छन् भने बराह शिखर, भगवान् विष्णुको अवतारको नाममा, गाइने पेसा अँगालेका गन्धर्व जातिको नाममा गन्धर्व चुली नाम रहेका हिमाल पनि छन् । त्यस्तै पिक–२९ (७ हजार ८ सय ७९ मिटर) को खास नाम ‘ङादी चुली’ हो भने उक्त पिकको नयाँ नाम स्वर्गीय भूगोलविद् डाक्टर हर्क गुरुङको सम्मान र सम्झनामा ‘हर्क पिक’ राखिएको छ । ८ हजार १ सय ६३ मिटर अग्लो मनास्लु हिमालको स्थानीय नाम (प्याङगेन पुथाङ) हो । मनाङ जिल्लामा अवस्थित पिसाङ पिकको स्थानीय नाम झोङ–री (६ हजार ९२ मिटर) हो ।

प्रतिक्रिया दिनुहोस्