स्थानीय तहका मन्त्री हुन वडाध्यक्ष «

स्थानीय तहका मन्त्री हुन वडाध्यक्ष


संविधानसभा सदस्य कृष्णप्रसाद सापकोटा वडाध्यक्षलाई मन्त्री भन्न रूचाउँछन् । नेपालको संविधान, २०७४ अनुसार तीन तहका सरकारमा अधिकार निक्षेपण भएकाले सापकोटा वडाध्यक्ष स्थानीय तहको मन्त्री नै रहेको बताउँछन् । “नेपालको संविधानले बलियो स्थानीय तहको व्यवस्था गरेको छ,” उनले भने, ‘स्थानीय सरकार बलियो बनाउने भनेको छोटे राजा बनाउने हैन, जनता बलियो बनाउन, सहभागितामुलक शासन बलियो बनाउन हो ।” राष्ट्रिय सभा सदस्य दीपा गुरुङ पनि वडाध्यक्ष मन्त्री नै रहेको बताउँछिन् ।
स्थानीय तहको सभा र कार्यपालिकामा वडाध्यक्षलाई मन्त्री सरहकै भूमिका भएपनि सबै वडाध्यक्षले त्यो भूमिका भने निर्वाह गर्न सकेको पाइन्न । सुशासन तथा विकास प्रतिष्ठानले राजधानी आयोजित एक कार्यक्रममा सापकोटा र गुरूङले वडाध्यक्ष मन्त्री नै भएको बताएका हुन् । स्थानीय तहका जनप्रतिनिधि बीचको बेमेलले कतिपय वडाध्यक्षले कार्यवाहक प्रमुख÷अध्यक्षको भूमिका समेत पाएको राष्ट्रिय सभाकि सदस्य इन्दु कडरिया बताउँछिन् । उपप्रमुख÷उपाध्यक्ष महिला छन् भने उनीहरूलाई कार्यवाहक नदिई वडाध्यक्षलाई दिएको समेत भेटिएको कडरिया बताउँछिन् ।
स्थानीय तहको बजेट निर्माण, नीति निर्माण, कार्यक्रम कार्यान्वयन लगायतका विविध भूमिका रहेका वडाध्यक्षहरू स्थानीय तहका हस्ती नै हुन् । म्याग्दीको मंगला गाउँपालिकाकि उपाध्यक्ष खिरमाया बिटालु पनि वडाध्यक्ष स्थानीय तहका मन्त्री रहेको बताउँछिन् । “स्थानीय तहको आर्थिक, भौतिक, सामाजिक, विधयानलगायतका समितिका संयोजकहरू वडाध्यक्ष नै हुनुहुन्छ,” उनले भनिन्, “आफ्ना कामबाहेक पनि वडाध्यक्षहरूले स्थानीय तहका विभिन्न समितिका संयोजक भएर मन्त्रालय सम्हाले जस्तै हो ।”
“कार्यपालिकाको सदस्य भएकाले बजेट बाँडफाँटमा उहाँहरुको भूमिका हुन्छ,” उनले भनिन्, “सामाजिक क्षेत्रबाट आएका, पढेलेखेका वडाध्यक्षहरू अरू भन्दा छिटो कुरा बुझ्छन्, तर समग्रमा सबैका काम भने रामै्र छ ।”
यस्तै कार्यपालिकाको सदस्यबाट नगरप्रमुखले मनोनयन गरेको प्रवक्ता हुने प्रावधान रहेकाले वडाध्यक्षहरू प्रवक्ताको जिम्मेवारीमा समेत छन् । सिन्धुलीको दुधौली नगरपालिका प्रवक्ता रितेश राउत वडा नम्बर २ का अध्यक्ष पनि हुन् । उनी भन्छन्, “मन्त्री नै भन्न त मिल्ला नमिल्ला तर स्थानीय तहमा वडा चाँही कार्यान्वयनस्थल हो । कार्यक्रम कार्यान्वयनको अपनत्वको लागि वडाको भूमिका प्रमुख रहन्छ ।” कार्यक्षेत्रको आवश्यकताको आधारमा काम गर्न सकियो भने नेपाल सरकार र प्रदेशका मन्त्रीहरू कन्भिन्स भएर कार्यक्रम बनाउन सकिने राउत बताउँछन् । “स्थानीय तहका विभिन्न समितिको संयोजक भएर वडाध्यक्षहरूले भूमिका खेलिरहेका हुनाले उनीहरू मन्त्रालयकै जिम्मेवारीमा हुन्छन्,” उनले भने, “कार्यपालिका चाँही मिनि क्याबिनेट हो ।”

स्थानीय तहको बजेट निर्माण, नीति निर्माण, कार्यक्रम कार्यान्वयन लगायतका विविध भूमिका रहेका वडाध्यक्षहरू स्थानीय तहका हस्ती नै हुन् ।

प्रतिक्रिया दिनुहोस्