पोखरा विमानस्थलका लागि ४० मिटर डाँडा होच्याउँदै «

पोखरा विमानस्थलका लागि ४० मिटर डाँडा होच्याउँदै

चालू आर्थिक वर्षभित्रै निर्माण सम्पन्न गर्ने र सन् २०२२ देखि नियमित अन्तर्र्राष्ट्रिय उडान गर्ने लक्ष्य राखिएको पोखरा विमानस्थल सञ्चालनका लागि ४० मिटर डाँडा र साढे १२ मिटर थुम्का होच्याइने भएको छ ।
मन्त्रिपरिषद्ले स्वीकृति प्रदान गरेसँगै विमानस्थल सञ्चालनका लागि २ हेक्टरमा फैलिएको दुईवटा डाँडा कटान गरेर होच्याउन लागिएको हो । सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पार्वत गुरुङले पोखरा विमानस्थल सञ्चालनका लागि सरकारले सम्बन्धित निकायलाई दुई डाँडा कटानको स्वीकृति दिएको जानकारी दिए ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को मापदण्डलाई अनुसरण गर्दा सो अप्ट्याकलमा परेकाले डाँडा कटान गर्नुपर्ने देखिएको एकाइले जनाएको छ । विमानस्थलको रनवेबाट पूर्वपट्टि करिब २ किलोमिटरको दूरीमा रहेको सो डाँडा विमानले अवतरण र उडान गर्दा एप्रोचमा परेकाले हवाई सुरक्षालाई मध्यनजर गरेर कटान गर्नुपरेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन एकाइका प्रमुख विनेश मुनकर्मीले बताए ।
एक वर्षअघिदेखि पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कटानका लागि प्रक्रिया अघि बढाए पनि लामो समयसम्म मन्त्रिपरिषद्मा पुगेर अड्किएको थियो । कोभिड–१९ अगावै सबै निकायसँगको छलफल सीमाङ्कन गरेर आयोजनाले डाँडाकटानका लागि टिप्पणी उठाएर नागरिक उड्डयन प्राधिकरण पठाएको र त्यसैअनुसार सरकारले डाँडा कटानको बल्ल मन्त्रिपरिषद्ले स्वीकृति प्रदान गरेको हो ।
स्वीकृति प्राप्त भएपछि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको रनवे एप्रोजमा पर्ने रिट्ठे पानी डाँडा कटानको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन एकाइले लागतअनुमान तयार गर्नेछ । सो तयारीपछि सम्बन्धित निकायबाट स्वीकृति प्राप्त गरेपछि मात्र कटानको काम सुरु गरिने योजना छ ।
“यसरी कटान गर्नुपर्ने कारणहरू पुष्ट्याइँ गरेर पाएका थियौं, मन्त्रिपरिषद्ले कटानका लागि स्वीकृति प्रदान गरेको छ, अब कटानको लगत स्टिमेट पार्ने काम सुरु गर्छौं,” पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन एकाइका प्रमुख मुनकर्मीले भने, “तयार परिएको लगत अनुमान केन्द्रबाट स्वीकृत प्रदान गरेपछि कटान सुरु हुनेछ ।”
समुद्र सतहबाट ८ सय ५० मिटर रहेको दुई डाँडामा एक साढे १२ मिटर र अर्का ४० मिटर उचाइको डाँडा काट्नुपर्ने अध्ययनले देखाएको छ । करिब ४० मिटर उचाइसहित प्रारम्भिक सर्भेअनुसार ३ लाख ७० हजार घनमिटर माटो कटान गर्नुपर्नेछ । आधुनिक मेसिन प्रयोग गरी डाँडा कटान गरिने आयोजनाले जनाएको छ । हाल निजी जग्गाको कटान भने भइरहेको छ ।
दुई हेक्टरमा फैलिएको सो सरकारी वनमा केही निजी जग्गा पनि रहेको छ । कहाँ कसरी कटानबाट निस्किएको माटो, ढुङ्गा व्यवस्थापन गर्ने भनेर स्थानीय तहसँग छलफलसमेत आयोजनाले गर्न लागेको छ । माटो व्यवस्थापनको दूरीले लागत रकम कम वा बढी हुने निक्र्योल गर्न आयोजना प्रमुख मुनकर्मीको भनाइ छ । काम सुरु भएको ६ महिनामा काटन गरिसक्ने योजना आयोजनाले राखेको भए पनि वर्षायाम सुरु भएकाले गर्दा केही समय लाग्ने देखिएको मुनकर्मीले बताए ।
“लागत तयार तयार गरेपछि मात्र कति कटान लागत लाग्ने भन्न सकिनेछ,” उनले भने, “एउटा साढे १२ मिटर अर्का ४० मिटर उचाइको डाँडा कटान गर्नुपर्नेछ ।”
प्रारम्भिक अध्ययनमा कटानमा खासै चुनौती नरहेको ठहर आयोजनाले गरेको छ भने करिब ५ प्रतिशतसम्म चट्टान हुन सक्ने अनुमान छ । सन् २०२१ को जुलाई १० सम्म निर्माण पूरा गर्ने लक्ष्य राखिएको आयोजनाको यो समयमा पहिलो परीक्षण उडान गर्ने योजना आयोजनाको रहेको छ ।
मुख्य निर्माणको काम पूरा गरेर नियमित उडान सहजीकरण गर्न करिब ६ महिना लाग्ने भएकाले गर्दा आगामी डिसेम्बरसम्म सबै निर्माणको काम पूरा गरी सन् २०२२ देखि नियमित उडान गर्ने योजनासहित काम भइरहेको आयोजना प्रमुख मुनकर्मीले बताए ।
७२ प्रतिशत भौतिक प्रगति भएको छ भने ५७ प्रतिशत वित्तीय प्रगति पूरा भएको छ । रन्वे, ट्याक्सी वे, एप्रोन, पहुँचमार्ग, कल्र्भट, कार पार्किङलगायतका अधिकांश काम पूरा भइसकेको छ भने विमास्थलभित्रको पेरीफेरी सडक, टर्मिनल भवनको आन्तरिक फिनिसिङको काम भइरहेको छ ।
बिल्डिङ निर्माणको काम सबै पूरा भएर हाल टर्मिनल बिल्डिङको आन्तरिक काम गरिरहेको आयोजना प्रमुख मुनकर्मीले बताए । उनका अनुसार रन्वेमा मार्किङ काम पूरा भएको छ भने सिभिलमा डेकुरेसनको काम मात्र बाँकी रहेको छ ।
“बाँकी काममा १० प्रतिशत सिभिल कार्र्य छ, १८ प्रतिशत उपकरण जडानको काम बाँकी छ, यो काम ४ देखि ६ महिनामा पूरा गर्ने लक्ष्य राखिएको छ,” आयोजना प्रमुख मुनकर्मीले भने, “केही सामान आयातको क्रममा रहेको छ भने केही प्राविधिक सामान निर्माणको क्रममा छन् ।”
सरकारको गौरवका आयोजना पोखरा विमानस्थल चिनियाँ कम्पनी सीएएमसी इन्जिनियरिङले निर्माण गरिरहेको छ भने यसको लागत २२ अर्ब छ ।

प्रतिक्रिया दिनुहोस्