१ सय २४ उडान रद्द «

१ सय २४ उडान रद्द


शुक्रबारदेखि प्रतिकूल मौसमका कारण १ सय २४ वटा उडान रद्द भएको छ । वायु प्रदूषणका कारण मौसम प्रभावित भई उडान रद्द हुँदा आन्तरिक तथा बाह्य हवाई सेवा प्रभावित भएको हो ।
शुक्रबार, शनिबार र आइतबारसम्म देशभरि नै विकसित भएको वायु प्रदूषणका कारण आन्तरिकतर्फ शुक्रबार २४, शनिबार ५६ र आइतबार वेलुका ६ बजेसम्म ४४ उडान रद्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका आन्तरिक टर्मिनल व्यवस्थापन प्रमुख पूर्णप्रसाद चुडालले बताए । अन्तर्राष्ट्रियमा भने तीन दिनमा ३ उडान प्रभावित भएका छन् ।
शुक्रबार आन्तरिकमा १ सय १५ उडान तालिका रहेकोमा २४ उडान रद्द भएर ९१ मात्र उडान भएको थियो । जसमा ५ हजार ५ सय १६ यात्रुले काठमाडौंबाट विभिन्न विमानस्थलमा उडान भरेका थिए भने ५ हजार ३ सय ८१ यात्रु काठमाडौं अवतरण गरेका थिए । शुक्रबार आन्तरिकमा कुल १० हजार ८ सय ९७ यात्रुुले उडान भरेका थिए । शनिबार १ सय १४ उडान तालिका रहेकोमा ५६ उडान रद्द भएर ५८ उडान मात्र भएको थियो । जसमा काठमाडौंबाट देशका विभिन्न विमानस्थलका लागि ३ हजार ५ सय ४७ ले उडान भरेका थिए भने देशभरका विमानस्थलबाट काठमाडौंका लागि ३ हजार ४ सय ३५ यात्रुले काठमाडौं विमानस्थलमा अवतरण गरेको आन्तरिक टर्मिनल व्यवस्थापन प्रमुख चुडालले बताए ।
आइतबार श्री एयरलाइन्सको–१, तारा एयर–३, यती–१२, बुद्ध–१७, समिट–३ सौर्य–२ र नेपाल वायुसेवा निगमको ४ गरी कुल ४४ उडान रद्द भएको थियो ।
बाक्लो तुवाँलोका कारण प्रतिकूल मौसम विकास भई आन्तरिक उडान बढी प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ । पछिल्लो ३ दिनदेखि भिजिबिलिटी कम भएकाले उडान प्रभावित भएको थियो । सामान्यतया भीएफ आर (भिजुवल फ्लाइट रुल्स) हुनका लागि भिजिबिलिटी ५ हजार मिटर हुनुपर्छ तर शुक्रबारदेखि आइतबारसम्म नै काठमाडौं लगायत मोफसलको भिजिबिलिटी १५ सय÷२ हजारको पेरिफेरीबाट माथि जान नसकेकाले गर्दा आन्तरिक उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ ।
एयर फिल लाइट नभएका पोखरा, भरतपुर, सिमरा, तुम्लिङटारमा उडान हुन रद्द भएको थियो । हवाई सेवाको सेवा प्रदायक तथा नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले पछिल्लो समय एयर फिल लाइट जडान गरी मोफसलका विराटनगर, भद्रपुर, भैरहवा, जनकपुर, धनगढी, नेपालगञ्ज विमानस्थलमा रात्रीकालिन उडान शुरु गरेको भए पनि पोखरा, भरतपुर सिमरा, तुम्लिङटार, लुक्लाका विमानस्थलमा एयर फिल लाइट जडान हुन नसक्दा प्रतिकूल मौसममा उडान रद्द हुँदैं आएको छ । एयर फिल लाइट भएका विमानस्थलमा आइफआर विधिबाट (इन्स्टु«मेन्ट फ्लाइट रुल्स) उडान रात्रिकालिन उडान भैरहेको छ ।
पछिल्लो २ दिनदेखि आन्तरिकमा राति ११ बजेसम्म उडान हुँदै आएको थियो । रात्रिकालीन उडान हुने विमानस्थलमा आइतबार पनि पनि सोही हाराहारीमा उडान हुने विमानस्थल कार्यालयले जनाएको छ ।

अन्तर्राष्ट्रिय उडान पनि प्रभावित
अन्तर्राष्ट्रियतर्फ भने शुक्रबार हङकङबाट उडान भरेको क्याथे प्यासेफिक एयरको कार्गाे विमान काठमाडौंमा अवतरण गर्न नसकेर दिल्लीमा डाइभर्ट भएपछि हङकङ फिर्ता भएको विमानस्थल कार्यालयले जनाएको छ । शनिबार एयर इन्डियाको उडान रद्द भएको थियो भने अन्य उडान भने आइफआर विधिबाट उडान अवतरण भएका थिए । आइतबार भने काठमाडौंका लगि चीनको छेन्दुबाट उडान भर्ने एयर चाइनाले उडान रद्द गरेको विमानस्थल कार्यालयले जनाएको छ । हाल अधिकतम १८ अन्तर्राष्ट्रिय उडान हुँदै आएको छ ।
कोभिड–१९ पछि गत असोजबाट सुचारु भएको आन्तरिक हवाई उडानमा अधिकतम १ सय १८ उडानबाट १२ हजार ६ सयसम्म यात्रुले उडान भरेका थिए । पछिल्लो ३ दिनदेखि देखिएको प्रतिकूल मौसमका कारण औसतमा साढे ७ हजार यात्रुले मात्र उडान भर्दै आएको विमानस्थल कार्यालयले जनाएको छ । रात्रिकालीन उडान भर्न नसक्ने विमानस्थललाई स्तरोन्नति गर्न सके आन्तरिक यात्रु लाभान्वित हुने देखिन्छ । आन्तरिकमा ९ हेलिकप्टर कम्पनी सहित १८ विभिन्न कम्पनीले उडान भर्दै आएका छन् ।

मौसममा सुधार हुन अझै दुई दिन लाग्ने
उपत्यकासहित देशभर प्रदूषण अझ दुई दिन सम्म रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । सोमबारदेखि पश्चिमी हिमाली भागमा पानी पर्ने भए पनि प्रदूषित वायुमण्डल सफा हुन अझ दुई तीन दिन लाग्ने वरिष्ठ मौसमविद् वरुण पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्