कांग्रेसको नेतृत्वमा चुनावी सरकार बनाउनुपर्छ : कोइराला «

कांग्रेसको नेतृत्वमा चुनावी सरकार बनाउनुपर्छ : कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले लोकतन्त्र र संविधानको रक्षाका लागि नेपाली कांग्रेसको नेतृत्वमा चुनावी सरकार बनाउनु आवश्यक रहेको बताएका छन् ।
कांग्रेस नेता अशोक कोइरालाको श्रद्धाञ्जलीसभालाई विराटनगरमा सम्बोधन गर्दै नेता कोइरालाले देशको राजनैतिक निकासका लागि नयाँ सरकार आवश्यक रहेको प्रस्ट पारे । उनले भने, “प्राप्त उपलब्धिको रक्षाका लागि कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनाउनुपर्छ र जतिसक्दो चाँडो निर्वाचन गरेर देशलाई निकास दिनुपर्छ ।”
लोकतन्त्र र प्रजातन्त्रलाई निर्वाचनले मात्रै बलियो बनाउने कोइरालाको भनाइ छ । उनले देशलाई अप्ठ्यारो पर्दा जहिले पनि कांग्रेसले नेतृत्व गर्दै आएकोले बताए । “देशका लागि फेरि पनि कांग्रेसको नेतृत्व जरुरी देखिएको छ,” कोइरालाले भने, “जतिसक्दो चाँडो अन्य दलसँग संवाद गरेर विद्यमान राजनैतिक संकटबाट देशलाई पार लगाउनुपर्छ ।”
कोइरालाले नेपाली कांग्रेसमा अनुशासनहीनता बढ्दै गएको दुखेसो गरे । अशोक कोइरालाजस्ता इमान्दार नेताकै कारण कांग्रेस अहिलेको अवस्थासम्म आइपुगेको बताउँदै कोइरालाले भने, “कुनै पनि संस्था बलियो हुन अनुशासन आवश्यक छ, कांग्रेसलाई पनि बलियो बनाउन आन्तरिक अनुशासन र एकता हुनुपर्छ ।”

प्रतिक्रिया दिनुहोस्