Logo

बझाङ राष्ट्रिय प्रसारणमा जोडियो

धनगढी-बझाङ दशकपछि राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । आव ०६४/६५ देखि नै बझाङलाई राष्ट्रिय प्रसारण लाइनमा जोड्ने योजनाको सुरुवात गरिए पनि बझाङ राष्ट्रिय प्रसारणको लाइनमा जोडिएको हो ।
राष्ट्रिय प्रसारण लाइन जोडिएसँगै बझाङवासी हर्षित भएका छन् । हाललाई अस्थायी रूपमा विद्युत् सेवा आपूर्ति गर्नका लागि चैनपुरमा दुईवटा ट्रान्सफर्मर जडान गरिसकेको छ । विद्युतीकरणको जिम्मा पाएको नरेन्द्र दावा जेभी निर्माण सेवाका प्राविधिक महेश जोशीले बताए ।
केही महिनादेखि बझाङको सदरमुकाम चैनपुरदेखि आसपासका गाउँका करिब ५ हजार घर परिवारले राष्ट्रिय प्रसारण लाइनको विद्युत् बाल्न पाएका छन् । खप्तड गाउँपालिकाबाहेक जिल्लाका अन्य ११ वटा स्थानीय तहमा पनि लाइन विस्तार गर्ने कार्य भइरहेको छ । राष्ट्रिय प्रसारण लाइन वितरण गर्नका लागि कदारस्यु गाउँपालिकाको वागथला र जयपृथ्वी नगरपालिकाको सेलाखेतमा सबस्टेसन निर्माणको काम पनि तीव्र रूपमा भइरहेको र यस आवको अन्तिमसम्म निर्माण सम्पन्न हुने निर्माण कम्पनीहरूले जनाएका छन् । बझाङ सदरमुकाम र आसपासका गाउँलाई विद्युत् सेवा उपलब्ध गराउँदै आएको नेपाल विद्युत् प्राधिकरणको सुर्मादेवी साना जलविद्युत् आयोजना पटक–पटक बिग्रन थालेपछि जिल्लावासी समस्यामा परेका थिए । विद्युत् नियमित भएपछि यसले शिक्षा, स्वास्थ्यदेखि सबै क्षेत्रमा सहजता आउने स्थानीय गम्भीर स्नेहीले बताए ।
जिल्ला राष्ट्रिय प्रसारण लाइनमा जोडिएको खबरले सबैभन्दा बढी उद्योगी व्यवसायीमा उत्साह छाएको छ । विद्युतीय उपकरण सञ्चालन गर्दा महिना दिनमै करोड बढीको इन्धन खर्च गर्नुपर्ने बाध्यता हट्ने विश्वास पनि गरिएको छ । राष्ट्रिय प्रसारण लाइन विस्तारसँगै नेपाल विद्युत् प्राधिरणले बझाङमा कार्यालय स्थापनाको कामसमेत गरिसकेको छ । ७ जना कर्मचारी कार्यालय स्थापनाका लागि खटाइसकेको नेपाल विद्युत् प्राधिकरण क्षेत्रीय कार्यालय अत्तरियाका निर्देशक तारानाथ शर्माले बताए । विद्युत् प्रसारण नियमित भएसँगै वितरण केन्द्रको कार्यालय पनि सुचारु भइसेकेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्