म्युचुअल फन्डमा लगानी प्रतिफल कि छल ? «

म्युचुअल फन्डमा लगानी प्रतिफल कि छल ?

बढ्दो बजारका उत्साहित लगानीकर्ता ‘मेरो सेयर’मा देखिएका सबै सार्वजनिक निष्कासन (आईपीओ) कम्पनीको सेयर भन्दै ‘म्युचुअल फन्ड’, डिबेन्चर खरिद गर्दै पछुताउनेको जमात बढ्दो छ । कुनै पनि धितोपत्र, जति नै राम्रो लगानी उपकरण चाहे त्यो सेयर, ‘म्युचुअल फन्ड’ वा डिबेन्चर नै भए पनि पर्याप्त जानकारीबिनाको लगानी प्रतिफलका नाममा आफैंमाथि छल हो । हुन त विश्वव्यापी रूपमा लगानी र लगानी व्यवस्थापनका लागि सर्वस्वीकार्य लगानी उपकरण मानिने ‘म्युचुअल फन्ड’, नेपालको सन्दर्भ परिपक्व र सर्वस्वीकार्य नभइसकेको अवस्थामा बुझेर लगानी गर्नु नै छलबाट बच्ने निर्विकल्प उपाय हुनेछ ।

म्युचुअल फन्ड के हो ?
सामूहिक हित र जोखिम न्यूनीकरणका लागि लागत, लाभ र जोखिम बाँडफाँडको सहमतिमा धेरै लगानीकर्ताहरूको लगानीमा सञ्चालित कोष (फन्ड) नै सामूहिक लगानी कोष अर्थात् ‘म्युचुअल फन्ड’ हो । यो कम्पनीको सेयर होइन, तर सामहिक रूपमा कोषमा संकलित रकम सेयर, डिबेन्चर, मुद्दतीजस्ता विविध लगानी उपकरणमा नियमानुसार लगानी गरी जोखिम र लाभ (रिस्क–रिटर्न) व्यवस्थापन गर्ने माध्यम हो । अप्रत्यक्षतः यसमा लगानी धितोपत्रमा लगानी नै हुँदा ‘बजार जोखिम’ निहित हुन्छ । धितोपत्रसम्बन्धी ऐन, २०६३ अनुसार ‘लगानी कोष भन्नाले योजना व्यवस्थापकले दक्ष लगानी सेवा प्रदान गर्ने उद्देश्यले करारको आधारमा सहभागीहरूबाट सामूहिक लगानी योजनामा जम्मा गरेको रकमबाट सिर्जना भई आफ्नो जिम्मामा लिएको कोष वा त्यस्तो कोषसँग सम्बद्ध सम्पत्ति सम्झनुपर्छ र सो शब्दले यस ऐनबमोजिम योजना व्यवस्थापकले आफ्नो जिम्मेवारीमा लिएको कोष वा सम्पत्तिको लगानी व्यवस्थापनबाट सिर्जित थप सम्पत्ति र प्रतिफलस्वरूप जम्मा भएको रकम समेतलाई जनाउँछ’ भनेको छ ।

सञ्चालन र व्यवस्थापन
प्रचलित सामूहिक लगानी कोषसम्बन्धी नियमानुसार निष्कासन, सञ्चालन र नियमन हुने ‘म्युचुअल फन्ड’मा (क) योजना प्रायोजक (फन्ड स्पोन्सर) द्वारा प्रायोजनसँगै बीउ पुँजीमार्फत निश्चित प्रतिशत एकाइ (युनिट) किनेर लगानी गर्छ; (ख) योजना व्यवस्थापक (फन्ड म्यानेजर) ले कोष सञ्चालन, व्यवस्थापन र डिपोजिटरी गर्छ; (ग) योजना सुपरिवेक्षक (फन्ड सुपरभाइजर) ले निर्धारित रणनीतिअनुरूप लगानी, जोखिम र लाभको सुपरिवेक्षण गर्छ । व्यक्तिगत तवरमा गर्ने विश्लेषण र लगानी व्यवस्थापन फन्डमा व्यावसायिक टिमले गर्छ । यसबापत खुद सम्पत्ति मूल्य (नेट एसेट्स भ्यालु— ‘न्याभ’) को आधारमा क) योजना व्यवस्थापकले वार्षिक बढीमा १.५ प्रतिशत; ख) सुरपरिवेक्षकले बढीमा ०.२ प्रतिशत र ग) डिपोजिटरीले बढीमा ०.२ प्रतिशतसम्म वार्षिक सेवा शुल्क वा दस्तुर लिन सक्नेछ ।

प्रकार र प्रकृति
समग्रमा ‘म्युचुअल फन्ड’हरू निश्चित अवधिको ‘बन्दमुखी’ र अनिश्चित अवधि वा दीर्घकालीन ‘खुलामुखी’ हुन्छन् । हाल १८ ‘बन्दमुखी’ र दुई ‘खुलामुखी’ योजना (एनआईबीएल सहभागिता फन्ड र एनआईसी एसिया डाइनामिक डेप्थ फन्ड) सञ्चालनमा छन् । तत्काल दोस्रो बजार प्रवेश गर्ने कुमारी इक्विटी फन्ड र सनराइज ब्लुचिप फन्डबाहेक पनि थप फन्डहरू प्रक्रियामा छन् ।

मूल्य र किनबेच
नियमानुसार स्वीकृत योजना (स्किम) लाई रु. १० अंकित मूल्यको ससानो एकाइमा विभाजन गरिन्छ । त्यसैले आईपीओबाट फन्डका योजनामा लगानी गर्न प्रतिएकाइ रु. १० ले कम्तीमा १ सय एकाइका लागि रु. १ हजारको आवेदन दिनुपर्छ । डिम्याट खाता, बैंक खाता र सी–आस्बा भएका लगानीकर्ताले ‘मेरो सेयर’ वा ‘सी–आस्बा’ सेवाप्रदायक बैंक तथा वित्तीय संस्थाबाट ‘सेयर’मा जसरी तोकिएको अवधिमा आवेदन गर्न सकिन्छ ।
‘बन्दमुखी’ एकाइ अनुमति प्राप्त सेयर दलाल (ब्रोकर) कहाँ कारोबार खाता खोलेर दोस्रो बजारमा ब्रोकरमार्फत वा स्वयम्ले कारोबार प्रणाली (टीएमएस) मा ‘एमएफ’ छानेर कम्तीमा १ सय युनिटका लागि खरिद–बिक्री आदेश दिन सकिन्छ । ‘न्याभ’को आधारमा किन्नेबेच्नेको वैधानिक सीमाभित्रको मोलमोलाइबाट तय हुने मूल्य र किनबेच निश्चित हुँदैन । सामान्यतः ‘न्याभ’बाट छुट (डिस्काउन्ट) मा किनबेच हुने ‘बन्दमुखी’ एकाइ हाल १२–२९ प्रतिशत छुटमा कारोबार भइरहेको देखिन्छ । किनबेच रकमका आधारमा प्रतिकारोबार न्यूनतम रु. १०, ५ लाखसम्म ०.१५ प्रतिशत, ५ देखि ५० लाखमा ०.१२ प्रतिशत र ५० लाखमाथि ०.१ प्रतिशत ब्रोकर कमिसन तथा ०.०१ सेबोन शुल्क र प्रतिदिन प्रतिफन्ड रु. २५ डीपी शुल्क तथा पुँजीगत लाभमा ५ प्रतिशत लाभकर लाग्छ ।
‘खुलामुखी’ दोस्रो बजारमा सूचीकृत र कारोबार हुँदैन, तर योजना व्यवस्थापकबाट ‘न्याभ’को आधारमा निर्धारित मूल्यमा तोकिएको विधिबाट किनबेच सुनिश्चित हुन्छ । योजना व्यवस्थापकले नै एकाइ किनबेचको व्यवस्था गर्दै नियमानुसार किन्ने (बाई ब्याक) र बेच्ने मूल्य सार्वजनिक गर्नुपर्छ । हाल सञ्चालनमा रहेको एनआईबीएल सहभागिता फन्ड वेबसाइटबाट सहजै वा तोकिएको बिक्री केन्द्रबाट कायम ‘न्याभ’को आधारमा किनबेच गर्न सकिने व्यवस्था छ । किन्दा ‘न्याभ’का आधारमा कुल रकम र डिपी शुल्क रु. २५ मात्र लाग्छ । बेच्दा पनि ‘न्याभ’को आधारमा प्राप्त हुने रकममा धारित (होल्ड) अवधिको आधारमा ६ महिनामा १.५, ६–१२ महिनामा १.२५, १२–१८ महिनामा १ र १८–२४ महिनामा ०.७५ प्रतिशत ‘एक्जिट फी’ तथा पुँजीगत लाभमा ५ प्रतिशत लाभकर लाग्छ ।

प्रतिफल र साँवा फिर्ता
सैद्धान्तिक रूपमा योजना व्यवस्थापकले सदैव जोखिम व्यवस्थापन गर्दै उच्चतम प्रतिफललाई प्रयास गर्छ । त्यसैले उसको लगानी र कारोबार क्षमताले फन्डको ‘न्याभ’ र एकाइधनीको सम्पत्ति र प्रतिफल निर्भर रहन्छ । योजना व्यवस्थापकले उपलब्ध विभिन्न लगानी उपकरणमा उच्चतम लाभका लागि व्यवस्थित लगानी गर्दै ‘न्याभ’ र आम्दानी बढाउने प्रयास गर्छ । ‘बन्दमुखी’ मा आयको आधारमा एकाइधनीलाई वार्षिक ‘नगद लाभांश’ मात्रै वितरण गरिन्छ । ‘खुलामुखी’ मा भने नगद लाभांश पुनःलगानी (डिभिडेन्ड रिइन्भेस्टमेन्ट) मार्फत ‘अंकित मूल्य’मा थप एकाइ किन्न सकिने प्रावधान हुन्छ ।
‘बन्दमुखी’ मा अवधि सकिएपछि सबै सम्पत्तिलाई नगदमा परिणत गरेर एकाइधनीलाई समानुपातिक रूपमा फिर्ता गरिन्छ । अवधि नसकिँदै रकम आवश्यक परे दोस्रोबजारमा बेचेर निस्कन सकिन्छ । ‘खुलामुखी’मा भने व्यवस्थित फिर्ता योजना (सिस्टमेटिक विथ ड्र प्लान) बाट एकाइ फिर्ता गरेर वा कायम ‘न्याभ’मा एकाइ बिक्री गरेर निस्कन सकिन्छ ।
यसरी ‘म्युचुअल फन्ड’ लगानीमा वार्षिक नगद लाभांश र पुनःलगानीसँगै बजार मूल्यका आधारमा किनबेच गर्दै पुँजीगत लाभको अवसर पनि रहन्छ ।

लगानी र ध्यान दिनुपर्ने
मूलतः धितोपत्रमा चासो र इच्छा भएका तर स्वयम् लगानी व्यवस्थापन गर्न नसक्ने वा नचाहने निष्क्रिय लगानीकर्तासँगै नगद लाभांश र पोर्टफोलियो व्यवस्थापनका लागि सक्रिय लगानीकर्ताले पनि ‘म्युचुअल फन्ड’ मा लगानी आवश्यक मानिन्छ । व्यावसायिक टिमबाट व्यवस्थापन हुने ‘म्युचुअल फन्ड’ को बजार र कारोबारमा विशेष पहुँचसँगै सूचीकृत कम्पनीले निष्कासन गर्ने धितोपत्रमा ५ प्रतिशत आरक्षणका साथै करहरू छुट पाउँछन्, जसको लाभ एकाइधनीले पनि पाउँछन् । एकपटक किनेर ७–१० वर्षमा पैसा चाहिँदा ‘बन्दमुखी’मा लगानी गर्न सकिन्छ । एकपटक किनेर लामो अवधि धारण गर्ने वा नियमित (मासिक, त्रैमासिक, अर्धवार्षिक वा वार्षिक) लगानी गर्दै जान ‘खुलामुखी’ योजना उपयुक्त हुन्छ । यस्तै लाभांश लिने वा पुनःलगानीको आधारमा बन्द वा खुला योजना छनोट गर्नुपर्छ ।
‘बन्दमुखी’मा लगानी गर्दा मुख्यतः ‘न्याभ’को अवस्था (मासिक÷साप्ताहिक), योजना व्यवस्थापक र सुपरिवेक्षक, लगानी र धितोपत्रको वास्तविक लागत (नोट÷टिप्पणीमा हेर्ने), खुद सम्पत्ति, आम्दानीको अवस्था, विगतको लाभांश र ‘न्याभ’, बाँकी अवधिलाई ध्यान दिनुपर्छ । ‘खुलामुखी’मा योजनाको लगानी, ‘न्याभ’, बिक्री केन्द्र र शुल्क; पुनःलगानीको विकल्प, सिस्टमेटिक इन्भेस्टमेन्ट र विथ ड्र प्लानसमेतमा ध्यान दिनुपर्छ ।
बढ्दो ‘म्युचुअल फन्ड’सँगै प्रतिस्पर्धा पनि बढेको छ, जसले एकातिर लगानीकर्तालाई छनोटको अवसर बढेको छ भने अर्कातिर योजना व्यवस्थापक र योजनाले सार्वजनिक निष्कासनमा पाउने आरक्षित धितोपत्रको हिस्सा घट्नेछ ।
(‘न्याभ’को अवस्था : तालिकाअनुसार ‘बन्दमुखी’ योजनाहरूको साप्ताहिक ‘न्याभ’ ९.९४ देखि १९.३८ छ भने २९.५४ प्रतिशतसम्मको छुट मूल्यमा किनबेच भइरहेको छ ।)

प्रतिक्रिया दिनुहोस्