सीमा नाकामा उच्च सतर्कता «

सीमा नाकामा उच्च सतर्कता

महेन्द्रनगर-कोरोना महामारीले सुस्ताएको अर्थतन्त्र उकासिने समयमा कोरोनाको दोस्रो लहर सुरु भएको छ । छिमेकी मुलुक भारतमा कोरोना महामारीको दोस्रो लहर सुरु भएपछि नेपालका भारतसँग जोडिएका सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ ।
भारतसँग जोडिएको पश्चिमी सीमा गड्डाचौकी र गौरीफन्टामा सुरक्षा सतर्कता अपनाइएको हो । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले भारतसँग जोडिएका जिल्लाका दुईओटै सीमाा क्षेत्रमा सुरक्षा सतर्कता अपनाइएको जनाएको छ । कार्यालयका अनुसार भारतमा कोरोना भाइरसको नयाँ प्रजाती अथवा महामारीको दोस्रो लहर आएको भन्ने सुनिएपछि सीमा क्षेत्रमा सतर्कता बढाइएको हो ।
“हालै भारतका विभिन्न प्रान्तहरुमा कोरोना भाइरसको संक्रमणको दर बढिरहेको सन्दर्भमा भारतीय सीमा क्षेत्रसँग जोडिएको कञ्चनपुर जिल्लामा पनि भाइरसको जोखिम छ,” जिल्ला प्रशासन कार्यालयका प्रमुख तथा प्रजिअ राम कुमार महतोले भने, “गृह मन्त्रालयले गरेको निर्देशन र अन्य विभिन्न तर्फबाट गरिएको समन्वयमा जिल्ला क्षेत्रमा कोभिडको जोखिम न्यूनिकरण गर्नको लागि प्रशासन कार्यालयले विभिन्न आदेशहरु जारी गरेको छ ।”
कार्यालयले नाका क्षेत्रमा महामारीको जोखिमलाई व्यवस्थित तथा न्यूनिकरण गर्नको लागि सीमाक्षेत्र आवतजावत गर्न निश्चित समय तोकेको छ । त्यसै गरेर सीमा नाकामा हेल्थ डेस्क र हेल्प डेस्क पनि स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी महतोले बताए ।
सीमा क्षेत्रमा भारतबाट नेपाल प्रवेश गर्ने नेपाली नागरिकहरुको अभिलेख राख्ने र स्वास्थ्य चेकजाँच गर्ने कार्य पनि सुरु भएको छ । नाकामा स्वास्थ्य चेकजाँचमा ज्वरो बढी आएको देखिएपछि आरडिटी र सम्भव भएसम्म एन्टीजेन टेस्ट गर्ने व्यवस्था मिलाइएको छ । यस्तै नाका क्षेत्रमा एम्बुलेन्स पनि राखिएको छ । यस्तै कोरोना पोजेटिभ देखिएपछि आइसोलेसमा लगेर तुरुन्तै उपचार गर्ने व्यवस्था मिलाएको प्रशासन कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार होलीको समय नजिक आएको भन्दै प्रशासन कार्यालयबाट होली नखेल्न तथा भीडभाड नगर्न समेत आदेश जारी गरिएको छ ।
“होलीको समय आएको छ, होली सामूहिक रुपमा खेलिने भएकोले कोभिडको जोखिम बढ्न सक्छ । त्यसकारण कार्यालयबाट होलीको समयमा भीडभाड तथा चहलपहन नगर्न अनुरोध गरिएको छ,” प्रमुख जिल्ला अधिकारी राम कुमार महताले भने, “व्यपार, व्यवसाय, उद्योग, कलकारखाना, शैक्षिक संस्थाहरु, सरकारी निकायबाट प्रभाव हुने सेवा, यातायातका साधन, मानिसहरुको आवातमन लगायतका कार्यलाई पनि सञ्चालनको लागि निश्चित समय तोकिएको छ ।”
उनका अनुसार प्रशासनले आग्रह गरिएको कुराहरु बिहानको पाँच बजेदेखि रातीको दश बजेसम्म स्वास्थ्यका सम्पूर्ण मापदण्ड पूरा गरेर सञ्चालन गर्नको लागि कार्यालयले परिपत्र समेत जारी गरेको छ । यस्तै कार्यालयले बैठक गोष्ठीहरु भर्चुअल माध्यमबाट गर्न पनि अनुरोध गरेको छ । कार्यालयले प्रत्येक नागरिकलाई मास्क, सेनिटाइजर र सामाजिक दुरी अनिवार्य कायम गर्नको लागि समेत आग्रह गरिएको प्रजिअ महतोको भनाइ छ ।
भारतमा कोरोनाको दोस्रो लहर प्रवेश गरेको सूचना आएपश्चात सीमाक्षेत्रमा नेपाल प्रवेश गर्ने नेपाली नागरिकको संख्या पनि दिन प्रतिदिन बढ्दै गएको छ । “सरकारको निर्देशन अनुसार चैत पाँच गतेदेखि नाका क्षेत्रमा चेकजाँच तथा अभिलेखिकरण गर्ने भन्ने निर्देशन आएको भएपनि हामीले फागुन चौबिस गतेदेखि नै स्वास्थ्य चेकजाँच अभिलेखिकरण गर्ने गरेका थियौं । पाँच जना कोरोना पोजेटिभ बिरामी पनि निको भएर घर गएको अवस्था छ,” स्वास्थ्य कार्यालय कञ्चनपुरको कोभिड श्रोत व्यक्ति सिद्धराज भट्टले भने ।
सीमानाका क्षेत्रमा कोरोना भारइसको परिक्षण अहिले एन्टीजेन कीट प्रविधिबाट गर्ने गरिएको छ । विगतमा स्वाव परिक्षण गर्न गरिएको पिसिआर प्रविधि भन्दा सहज र तत्काल हुने भएकोले एन्टीजेन किट प्रविधिबाट स्वाव लिएर कोरोना परिक्षण गर्ने गरिएको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्