गोरखाको चारवटा सडकखण्ड कालोपत्रे हुने «

गोरखाको चारवटा सडकखण्ड कालोपत्रे हुने

गोरखाको चारवटा सडकखण्ड कालोपत्रेका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । संघीय सरकारअन्तर्गतको स्थानीय पूर्वाधार विभाग र सम्बन्धित स्थानीय तहका प्रमुखबीच सडक कालोपत्रे गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो । सहिद लखन, वारपाक सुलिकोट, गण्डकी र चुमनुब्री गाउँपालिकाका प्रतिनिधि र स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय पोखराका प्रमुखबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
संघीय सरकारको प्रादेशिक एवं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रमअन्तर्गत पालिकाको केन्द्रसम्मको सडकलाई पक्की बनाउनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको कार्यालयका प्रमुख कुमार थापाले जानकारी दिए । समझदारीअनुसार सहिद लखनको नामजुङ–घैरुङ–मनकामना–रामशाहघाट सडक कालोपत्रे हुनेछ । उक्त सडकको लम्बाइ करिब २८ किलोमिटर हुनेछ । गोरखा सदरमुकामबाट बुंकोट हुँदै नामजुङसम्मको सडक भने प्रदेश सरकारले कालोपत्रे गर्दैछ ।
वारपाक–सुलिकोट गाउँपालिकाको केन्द्र जोड्ने गरी उल्टे–मसार–ताकुकोट सडक पक्की बनाउने गरी समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो सडकखण्डको लम्बाइ करिब १० किलोमिटर हुने गाउँपालिकाले स्थानीय पूर्वाधार विकास आयोजना कार्यालयमा पेश गरेको विवरणमा उल्लेख छ । गोरखा सदरमुकामबाट नारेश्वर, निवेल हुँदै उल्टेसम्मको सडक कालोपत्रेको काम पनि प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले गर्दैछ ।
गण्डकी गाउँपालिकाको केन्द्र जोड्ने गरी फिस्लिङ–भूम्लीचोक सडक पक्की बनाउने गरी समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो सडकखण्डको लम्बाइ करिब १० किलोमिटरको हुनेछ । सो सडक कालोपत्रेका लागि पूर्वाधार विकास कार्यालयले डीपीआर तयार गरिसकेको छ । सोही डीपीआरका आधारमा अब स्थानीय पूर्वाधार विकास आयोजना कार्यालयले स्तरोन्नतिको काम अघि बढाउने भएको छ ।
चुमनुब्री गाउँपालिकाले जगतदेखि सिर्दिवाससम्मको सडक कालोपत्रेका लागि सम्झौता गरेको छ । उक्त सडकको लम्बाइ ३५ किलोमिटर हुने प्रारम्भिक विवरणमा उल्लेख छ । स्थानीय पूर्वाधार विभागले स्थानीय तहको केन्द्रसम्म जोड्ने सडक कालोपत्रे गर्नका लागि पालिकाहरूसँग प्रस्ताव माग गरेको थियो । सम्झौता भएका ४ पालिकाबाहेक गोरखाका अरु ३ पालिकाले पनि प्रस्ताव पेस गरेको कार्यालय प्रमुख कुमार थापाले बताए । पालुङटार नगरपालिकाले देउरालीघाटबाट वडा नम्बर ८ को कार्यालय–दुवार हुँदै डोटेपिपलसम्मको सडक कालोपत्रेका लागि प्रस्ताव पेस गरेको छ । यस्तै आरुघाट गाउँपालिकाले घ्याम्पेसाल–गैरीछाप–आरुघाट सडक र धार्चे गाउँपालिकाले आरुघाट–माछिखोला सडक कालोपत्रेका लागि प्रस्ताव पेस गरेको छ ।
यी ३ पालिकाले पेस गरेको प्रस्तावबारे अध्ययन भइरहेको स्थानीय पूर्वाधार विकास आयोजना कार्यालयले जनाएको छ । समझदारी भएका सडक पक्की बनाउने काम संघीय, प्रादेशिक र स्थानीय सरकारको लागत साझेदारीमा हुने कार्यालय प्रमुख थापाले बताए । १० किलोमिटरसम्मको सडक कालोपत्रेका लागि नेपाल सरकारले ६५ प्रतिशत, प्रदेश सरकारले १० र स्थानीय सरकारले २५ प्रतिशत लागत साझेदारी गर्ने कार्यविधिमा उल्लेख छ । २० किलोमिटरसम्मको सडकका लागि संघीय सरकारले ७०, प्रदेशले १० र स्थानीय तहले १० देखि २० प्रतिशतसम्म लागत साझेदारी गर्नेछन् । २० किलोमिटरभन्दा माथिको सडक स्तरोन्नतिका लागि भने संघीय सरकारले ७५ प्रतिशत, प्रदेशले १० प्रतिशत र स्थानीय तहले १५ प्रतिशत लागत साझेदारी गर्ने प्रादेशिक एवं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रम कार्यान्वयनसम्बन्धी कार्यविधिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्