लघुवित्तलाई स्वच्छ बनाउने कसरी ?

साना किसान विकासबाट सुरु भएको लघुवित्तमा लाखौं सर्वसाधारण आबद्ध छन् । बैंक तथा वित्तीय संस्थाका अतिरिक्त सहकारी र गैरसरकारी संस्थाहरूले समेत लघुवित्त सेवा उपलब्ध गराउँदै आएका छन् । बैंकको पहुँचमा पुग्न नसक्ने गरिब तथा विपन्न वर्गलाई समूहमा आबद्ध गराई उनीहरूलाई ऋणलगायतका सहयोग गर्दै आर्थिक तथा सामाजिक सशक्तीकरण गराउने कार्यक्रम पछिल्लो समयमा आलोचित हुँदै आएको छ । लघुवित्त संस्थाहरू नाफामुखी हुँदा यिनीहरूले आफ्नो मूल मर्म बिर्सिएकाले लघुवित्त कार्यक्रम नै संकटउन्मुख भएको यस क्षेत्रका अभियन्ताहरूले चिन्ता प्रकट गर्न थालेका छन् । उच्च ब्याजदर, कर्जाको दोहोरोपना, कर्जाको दुरुपयोग, अत्यधिक ऋणको भार, लघुवित्तको उच्च नाफा र लगानीकर्तालाई दिने लाभांशका विषयमा चर्चा हुने गरेको छ । लघुवित्तका विकृतिबारे छलफल गरी निराकरणका उपाय पहिल्याउन काठमाडौंमा शनिबार र आइतबार लघुवित्त सदस्य सम्मेलन सम्पन्न भयो । प्रस्तुत छ, कार्यक्रममा सहभागी केही प्रतिनिधिसँग लघुवित्तका विकृति र यसको निराकरणका उपायबारे कारोबारकर्मी यादव हुमागाईंले गरेको कुराकानीको सार :
लघुवित्त संस्था नाफामूलक भए
डम्बरबहादुर शाह
महाप्रबन्धक, किसान बहुउद्देश्यीय सहकारी संस्था
लघुवित्त कारोबार गर्ने संस्थाहरूको संख्या बढेसँगै धेरै विकृतिहरू देखिएका छन् । मुख्य गरी एउटा व्यक्ति धेरै संस्थामा सदस्य हुने, धेरैवटा संस्थाबाट आफूलाई आवश्यकभन्दा बढी ऋण लिने प्रवृत्ति बढेको छ । धेरै संस्थाबाट बढी ऋण लिएपछि तिर्न नसकेर घरबार नै छोडेर हिँडेका उदाहरण पनि छन् । कर्जाको सदुपयोग हुन नसक्दा यो अवस्था आएको हो ।
यो समस्याको मुख्य कारण लघुवित्त संस्थाहरू नाफामा केन्द्रित हुनु हो । संस्थाहरू पनि बढी भए । नाफा कमाउनकै लागि संस्थाहरूले कर्मचारीलाई निश्चित टार्गेट दिएर फिल्डमा पठाएका छन् । उनीहरूलाई शाखा एक वर्षमै नाफामा लैजानुपर्ने दबाब दिइएको छ । यही बाध्यताका कारण संस्थाका कर्मचारीहरूले सदस्यलाई वित्तीय साक्षरता दिएनन् । ऋण लगानी गर्दा घाटी हेरी हाड निल्नुपर्छ भन्ने सिकाएनन् । कर्जाको सदुपयोग जाँच गरेनन्, जथाभावी लगानी गरे, जसको परिणाम उल्टो भयो । यसैगरी सदस्यहरूमा पनि जागरुकता भएन । उनीहरूमा पनि ऋणको सदुपयोगबारे जानकारी भएन । जसका कारण लहैलहैमा ऋण लिए, जसका कारण उनीहरू आफैं समस्यामा परेका छन् । यो अवस्था अन्त्य गर्नका लागि लघुवित्तको नियामक निकाय नेपाल राष्ट्र बैंकले निर्देशन जारी गरेको भन्ने सुनेको छु । म सहकारी संस्थाको प्रतिनिधि भएकाले सहकारीमार्फत हुने गरेको लघुवित्त कार्यक्रमलाई व्यवस्थित गर्न सहकारी नियमावली जारी भए पनि यसमा छुटेका कुरा समेट्नका लागि पहल गर्छु । यसैगरी लघुवित्तका लागि कर्जा सूचना केन्द्र पनि बन्ने क्रममा छ । यो कार्यान्वयनमा आएपछि एउटा व्यक्तिले कतिवटा संस्थाबाट ऋण लिए भन्ने थाहा हुन्छ, त्यसपछि अधिक ऋण नियन्त्रण गर्नका लागिसमेत अलिकति सहज हुन्छ ।
लघुवित्तका सदस्यलाई जागरूक बनाउनका लागि स्वच्छ लघुवित्त, हाम्रो अभियान भन्ने नारा दिएर सम्मेलन गरेका हौं । सम्मेलनमा देशभरबाट छानिएका लघुवित्तकर्मीहरू हुनुहुन्छ । यसबाट लघुवित्तका विकृति नियन्त्रण हुने हाम्रो आशा छ ।
वाणिज्य बैंकले लघुवित्तलाई बिगारे
रोशनकुमार मन्डर
प्रबन्ध सञ्चालक, महुली सामुदायिक लघुवित्त वित्तीय संस्था
नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाहरूलाई सहज रूपमा लाइसेन्स दियो । डेपुटी गभर्नरले हाम्रो कार्यक्रममा १ सय २० वटा संस्था पुगे भनिसक्नुभयो । हामीलाई कतिवटा संस्था चाहिन्छ भनेर अनुसन्धान नगरी लाइसेन्स वितरण गरेकाले आवश्यकताभन्दा बढी संस्था जन्मिएका छन् । अहिले एकै ठाउँमा १७÷१८ वटा संस्था कार्यरत छन् । संस्था धेरै भए पनि सदस्यता सबैको उही नै हो । लघुवित्तमा अर्को गल्ती भनेको वर्गको वाणिज्य बैंकलाई पनि लघुवित्तको काम गर्न छुट दियौं । वाणिज्य बैंकहरूको मुख्य उद्देश्य नै नाफा कमाउने हुन्छ । उसले नाफा मात्र सोच्छ । तर, लघुवित्त नाफा कमाउने माध्यम होइन । लघुवित्तको मूल मर्म भनेको वित्तीय सेवाका साथसाथै सामाजिक सेवा पनि हो । लघुवित्तले ग्रामीण क्षेत्रका गरिब महिलाहरूलाई समूहमा आबद्ध गराएर उनीहरूलाई बिनाधितो ऋण दिने गर्छ, तर वाणिज्य बैंकहरूले जथाभावी तरिकाले ऋण दिन थालेपछि धेरैभन्दा धेरै ऋण प्रवाह गर्ने बाढी आयो । अस्वस्थ प्रतिस्पर्धा हुन थालेको छ । अब यो अवस्थालाई अन्त्य गर्नका लागि लाइसेन्स दिने नियामक निकाय र सरकारले सोच्नुपर्छ । वास्तविक लघुवित्तलाई सहयोग पुग्ने किसिमको नीति आउनु आवश्यक छ ।
सबै संस्था सरकारको नीति–नियमअनुसारका व्यवस्था पूरा गरेरै बजारमा आएका हुन् । खुकुलो लाइसेन्स नीति बनाउने गल्ती सरकारको हो । अब संस्था घटाउने नीतिबारे बहस हुँदै गर्दा खुलिसकेका संस्थालाई सेफ ल्यान्डिङ गर्ने बारेमा पनि सोच्नुपर्छ । मर्जरको पोलिसीबारेमा बारम्बार चर्चा हुन्छ । यो उहाँहरूको अधिकार हो, नीति आएमा हामीले मान्नैपर्छ । हामी लघुवित्तकर्मीहरूले पनि लघुवित्त व्यवसायलाई स्वच्छ र सुदृढ बनाउन भूमिका खेल्नुपर्छ । कर्जाको भार बढाउनेभन्दा पनि वित्तीय सेवा नपुगेका महिलाहरूलाई सेवा दिएर उनीहरूको सशक्तीकरण गर्नका लागि आ—आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्छ ।
ब्याजदर घटाउनुपर्छ
लालमाया लामा
सदस्य, आशा लघुवित्त वित्तीय संस्था
म २०७३ सालदेखि लघुवित्त क्षेत्रमा लागेको हुँ । अहिले मखमली आशा महिला केन्द्रको प्रमुख छु । मैरो समूहमा रहेका सदस्यहरूले लघुवित्तबाट ऋण लिएर भैंसीपालन, कुखुरापालन, तरकारी खेती, कृषि, व्यापार, होटल, किराना पसललगायतको काम गरेका छौं । लघुवित्तमा लागेका कारणले हामीलाई धेरै फाइदा भएको छ । हामी प्रत्येक महिना समूहको बैठक गर्छौं, समूहको बैठकमा जाने सरहरूले हामीलाई सम्मान गर्नुहुन्छ, खुसी लाग्छ । लघुवित्तका कारण महिला दिदीबहिनीहरूलाई राम्रो भएको छ । घरको काममा सीमित भएका दिदीबहिनीहरू अहिले आत्मनिर्भर भएका छौं । अहिले हामी लघुवित्तबाट १८ प्रतिशत ब्याजमा ऋण पाउँछौं, केही सेवाशुल्क पनि तिर्नुपर्छ । यसले गर्दा ब्याज अलि बढी भएको हो कि ? यसलाई घटाएर १३–१४ प्रतिशतमा ऋण दिएमा राम्रो हुन्छ ।
गाउँमा धेरै लघुवित्त संस्थाहरू रहेका छन् । एउटा संस्थामा बसेको व्यक्तिलाई पनि अर्को संस्थाले हाम्रोमा आउनुहोस्, यस्तो सुविधा दिन्छौं भनेर फकाउँछन् । लोभ देखाउँछन् । धेरैवटा संस्थामा सदस्य बनेर ऋण लिँदा आफैंलाई अप्ठ्यारो हुन्छ । यसका लागि महिलाहरूलाई वित्तीय साक्षरताको तालिम दिनुपर्छ । सदस्य बनाउनुअघि तालिम दिनुपर्ने भए पनि दिने प्रचलन छैन । यसैगरी महिला दिदीबहिनीको आर्थिक विकासका लागि ऋण दिएर मात्र हुँदैन । विभिन्न सीपमूलक तालिम पनि दिन आवश्यक छ । गाउँघरमा बसेर काम गर्न मिल्ने खालको सिलाइबुनाइ, धूप बनाउने तालिम दिएमा हामीलाई राम्रो हुन्छ ।
एकभन्दा बढी संस्थामा कारोबार गर्नु हुँदैन
बाबारानी श्रेष्ठ
सदस्य, नेरुडे लघुवित्त
म लघुवित्तमा लागेको धेरै वर्ष भइसक्यो । अहिले केन्द्र नं. २२ को टिम लालीगुराँसको प्रमुख छु । मैले ३ हजार ऋण लिएर लघुवित्त संस्थासँग कारोबार सुरु गरेको हो । उक्त ऋणबाट मैले अचार बनाउने व्यवसाय गरे । त्यसैको आम्दानीले छोराछोरी हुर्काएँ, पढाएँ । मेरा छोरी–बुहारी पनि लघुवित्तमा छन् । बुहारीले लघुवित्तबाट ऋण लिएर बेतबाँसको सामान बनाउने व्यवसाय गरेकी छन् । हाम्रो समूहमा ४५ जना सदस्य छौं । सबै सदस्य ऋण लिएर केही न केही व्यवसाय गर्छौं । सबै छोराछोरीलाई बोर्डिङ स्कुलमा पढाउन सक्छौं । हामी प्रत्येक महिना बैठक बस्छौं । एकआपसमा समस्यालगायतका धेरै विषयमा छलफल गर्छौं । ऋण लगानी गर्छौं, सदस्यहरू कसैलाई समस्या परेको छ भने उसलाई सबैबाट केही रकम उठाएर सहयोग पनि गर्छौं । बैठकमा राम्रो बनाउन नियम बनाएका छौं । ढिलो आउनेलाई ५० रुपैयाँ र सरहरूलाई १ सय रुपैयाँ जरिवाना लगाउँछौं । सदस्यहरूको बिमा पनि गरेका छौं । यसबाट पनि फाइदा भएको छ ।
पहिलो लघुवित्त समूह सानो थियो । संस्था पनि थोरै थिए । तर, अहिले धेरै संस्था भएपछि अर्को संस्थाले बोलाउँछ । तर, हाम्रो समूहको कोही अर्को संस्थामा गयो भने सरहरूलाई भनेर उसलाई हटाउँछौं । किनकि धेरै संस्थाबाट कारोबार गर्नेले किस्ता तिर्दैन, एउटाले किस्ता नतिरेपछि समूहका सबैले तिर्नुपर्ने हुन्छ ।
वित्तीय साक्षरता आवश्यक छ
चित्रकला वली
सञ्चालक, सहारा नेपाल
महिलाहरू चुला चौकाको काममा मात्र सीमित हुनुपर्छ, आर्थिक पाटोमा महिलाहरू लाग्नु हँुदैन भन्ने हाम्रो परम्परागत सोचाइ र प्रवृत्तिलाई लघुवित्त कार्यक्रमले परिवर्तन गरेको छ । लघुवित्तका कारण आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका महिला वर्गको उत्थान गरेको छ । महिलालाई आत्मनिर्भर र स्वाभिमानी बनाएको छ । घरबाहिर निस्केर बोल्न नसक्ने महिलाहरू अहिले माइक समातेर बोल्न सक्ने भएका छन् । समग्रमा महिलाको विकासमा लघुवित्त कार्यक्रमले धेरै प्रभावकारी काम गरेको छ ।
कुनै पनि क्षेत्र विकृति नै नहुने भन्ने हुँदैन । यस्तै लघुवित्तमा पनि केही विकृति रहेका छन् । मुख्य गरी एकभन्दा धेरै संस्थामा कारोबार गर्ने र यसबाट समस्यामा पर्ने गरेको देखिन्छ । यो समस्या मुख्य गरी पहाडी जिल्लाहरूमा धेरै रहेको पाइन्छ । यसैगरी तल्लो वर्ग, जोसँग चेतनाको स्तर एकदमै कमजोर रहेको छ, उनीहरूले धेरै संस्थाबाट आफूलाई आवश्यक पर्ने भन्दा बढी ऋण लिने प्रवृत्ति बढी छ । यसलाई सुधार गर्नु जरुरी देखिन्छ । त्यसका लागि मुख्य कुरा वित्तीय साक्षरता हो । विद्यालयको पाठ्यक्रममै वित्तीय साक्षरता राखेर बच्चाहरूलाई सिकाउन सके उसले बाबुआमालाई बचत गर्नुपर्छ भन्छ । यसैगरी सदस्यहरूलाई ऋण लिने, ऋणको उपयोग गर्नेबारेमा पनि तालिम दिनुपर्छ । यसैगरी लघुवित्तमार्फत उद्यमशील भएका महिलाहरूले उत्पादन गरेका उपजहरूको बजारका लागि समस्या छ । यो समस्या समाधान गर्न सरकारले सोच्नुपर्छ ।
धेरैवटा संस्थामा सदस्य बन्नु राम्रो होइन
धनसारा खत्री
सदस्य, युनिक नेपाल
म युनिक महिला केन्द्र सानो श्री नगरपालिका—५ मा सदस्य भएर लघुवित्तमा कारोबार गरिरहेको छु । संस्थाका सरहरू मेरो किराना पसलमा आएर लघुवित्त संस्थाको सदस्य बन्न भन्नुभएको हो । त्यसपछि मैले ५ जना साथीहरू मिलाएर लघुवित्तमा आबद्ध भएको हो । सुरुमा ५ हजार ऋण लिएर बोइलर कुखुरा पालन सुरु गरेको थिएँ । लघुवित्तमा ऋण लिएर श्रीमान्लाई इलेक्ट्रोनिक्स तालिम दिलाए । उहाँले इलेक्ट्रोनिक्स पसल सञ्चालन गर्नुभएको छ । हाम्रो कमाइले ५ धुर जग्गा जोडेका छौं, दुईकोठे घर बनाएका छौं ।
लघुवित्तमा लागेपछि मलाई धेरै राम्रो भएको छ । यसै क्षेत्रमा लागेर २÷४ वटा नयाँ कुरा सिकियो । पहिला थोरै मात्र संस्थाहरू थिए । अहिले धेरै संस्था भएका छन् । विभिन्न संस्था आएर हाम्रोमा सदस्य बन्नुप¥यो भन्नुहुन्छ । धेरैवटा संस्थामा सदस्य बन्नु राम्रो होइन भनेर सरहरूले सिकाउनुभएको छ । अब हामीलाई संस्थाले विभिन्न तालिम दिएमा राम्रो हुन्छ जस्तो लाग्छ ।
धेरै संस्थामा कारोबार गर्दा दुर्घटना हुन्छ
सीता राना
सदस्य, वातावरण सुधार बहुउद्देश्यीय सहकारी संस्था
संस्थाका सरहरूले लघुवित्तको सदस्य बन्न अनुरोध गर्दा सबैले सहकारी भाग्छ भन्छन्, भाग्ने त होइन भन्ने डर लागेको थियो । पछि सात दिन तालिम लिएर ८ हजार ऋण लिएपछि भने अब संस्था भाग्दैन भन्ने ढुक्क भयो । लघुवित्तको सदस्य भएपछि मलाई धेरै फाइदा भएको छ । श्रीमान्लाई विदेश जानबाट रोकेको छु । यही केही काम गर्नुपर्छ भनेर कपडा पसल सञ्चालन गरेका छौं ।
अहिले गाउँघरतिर धेरै संस्था छन् । हाम्रो संस्थामा सदस्य बन्नुहोस्, यो–यो सुविधा दिन्छौं भनेर फकाउन आउनुहुन्छ । धेरै संस्थामा कारोबार गर्यो भने दुर्घटना हुन्छ भनेर सिकाउनु जरुरी छ । यसैगरी लघुवित्तको ब्याजदर धेरै भयो, घटाउनुपर्छ । अहिले हामी १९ प्रतिशत ब्याज तिर्दै आएका छौं, यसलाई १६ प्रतिशतसम्म झार्नुपर्छ भनेर सम्मेलनमा पनि सुझाव दिएको छु, हेरौं के हुन्छ !