नारा, जुलुस, पार्टी, हामी र बिचौलिया वर्ग— २ «

नारा, जुलुस, पार्टी, हामी र बिचौलिया वर्ग— २

यी सबै विकृति, विसङ्गति हटाएर आज मुलुकलाई संघीयता र विकेन्द्रीकरणको कार्यान्वयनतिर लैजानु आज पार्टीहरूलाई अत्यावश्यक भइसकेको छ ।

यहाँ केओहाने र नाइ आदि र सामाजिक अभियन्ताको सक्रियता लेख्ने केक र सी किन्क– १९९८, डिंगवर्थ– २००७ का पेपरहरू अध्ययन गर्दा के देखिन्छ भने रसियामा कम्युनिस्ट सत्ता ढलेपछि कम्युनिस्ट विचारधारा बोक्नेहरू र सहरिया कुलीन वर्ग विश्वमा बिचौलिया र दलालहरू बनेर गए । जसको मलजल गर्ने कार्य नवउदारवादी राजनीतिक–अर्थव्यवस्थाले ग¥यो । यस मुलुकमा धेरैजसो अन्तर्राष्ट्रिय बिचौलिया, राष्ट्रिय बिचौलियाको भूमिकामा आए । उनीहरूको देखाउने मुखौटा प्रजातन्त्र, समाजवाद, पहिचान, महिला अधिकार, मानव अधिकार आदिजस्ता विषयहरू बने । त्यही विषयलाई आफ्नो भूमि, प्लेस, स्पेस र समयअनुसार पार्टीहरूले रूपान्तरण गर्न सकेनन्, तर हामी अब त सुखका दिन ल्याउलान्, आज ल्याएनन्, भोलि त गर्लान् भनेर बस्दा बस्दै ३० वर्ष बितेछन् । केही भए पनि भूमण्डलीकरणले ल्याएको प्रतिफल, थ्रुपुट, परिणाम, प्रभाव र प्रभावकारितामा रहेर विश्लेषण गर्दा दोहोरो फाइदा तथा बेफाइदाहरू दुवै विषयहरू नेपालमा देखिएको छ । जस्तै ः सामाजिक सचेतना बढेर गयो भने सामाजिक विखण्डन मिल्न नसक्नुका साथै झन् ठूलो खाल्डो बनाएर लग्यो ।
यहाँ नेपालका पार्टीहरूका सदस्यहरू धेरैजसो गैरसरकारी संस्थामा सम्मिलित भए, आफूलाई अग्रगामी छलाङवादी आदि देखाउनका साथै पैसो कमाउने सजिलो बाटोहरू यसले बनाइदियो । उता, अर्कोतिर अन्तर्राष्ट्रिय बिचौलियाहरूका नारा र कार्यक्रम छोटो अवधिका कुनै निश्चित सानो उद्देश्य बोकेका हुन्छन् । यिनीहरूले प्रयोग गर्ने नेटवर्किङमा व्यक्तिगत, नागरिक समाजको नाममा खडा भएको सहरिया आफूलाई कुलीन, भद्र र शालीन भन्ने रुचाउने दासहरूको बौद्धिक सिन्डिकेट, सामूहिक नायकहरू जोडिएको कुलीन भनिन रुचाउने र बौद्धिक जमात हुँ भन्नेहरूको नेटवर्क, पक्षपोषण गर्नेहरूको नेटवर्क आदि हुन्छन् । जुन, अहिलेको सन्दर्भमा प्रस्ट देखिएका छन् जो हिजो संघीयता, पहिचान भन्थे, अहिले पनि अनुहार फेरी–फेरी आउने उनीहरूकै समूह छ । समस्याहरू टसमस भएका छैनन्, झन्–झन् जटिलतातिर मोडिएर गएको देखिएको छ । भोलिका दिन यहाँ प्रत्यक्ष राष्ट्रपति, थरअनुसारका राज्यका वकालत गर्ने छन् भने अहिले नागरिकता विधेयक, आएका शरणार्थीलाई नागरिकता कसरी दिने, प्रदेशको संख्या कसरी बढाउने आदिजस्ता विषयहरू पैसो दिएर सांसदलाई सदनमा उठाउन लगाउनेदेखि सडकमा नारा लगाइरहेको देख्न सकिन्छ । यो सबै बनियावादभित्रको व्यापारिक व्यवसाय फस्टाउँदै गएको देखिन्छ ।
अन्तर्राष्ट्रिय बिचौलिया र गैरसरकारी संस्थाका उद्देश्यहरू समाउँदा पार्टीहरूको नेतृत्व तहले चाँडै लोकप्रिय हुने चाहना पूरा हुने र मत आफ्नो पक्षमा पार्न सजिलो हुने देख्यो । यही अवस्था अहिलेको नेपालको देखिन्छ । मूलत, नेपाल र नेपालीहरूलाई कहाँ लाने पार्टीहरूसँग राजनीतिक, आर्थिक, सामाजिक भूगोल मुताबिक प्लेस, स्पेसमा सोच, दृष्टि, उद्देश्य र योजना नहुनु नै राजनीतिक अस्थिरताको जड देखियो ।
पार्टीहरू अध्ययन गर्दा, यिनीहरूको वैचारिक विषयको उत्पत्ति, निर्णय–निर्माणका लागि संरचना, व्यावहारिक रूपान्तरण र उनीहरूको राजनीतिक प्रभावको व्यवस्थित स्थिति अध्ययन गर्नुपर्छ । यही प्लेस, स्पेसमा रहेर उनीहरूको राजनीतिक प्रभाव, एकता, वैचारिक गतिशीलता, निर्णय–निर्माण संरचना र फुट साथै एकीकरणको तहमा धेरै निष्कर्ष निकाल्न सकिन्छ ।
यहाँ स्मरणीय विषयहरू नेपालजस्तो गरिब मुलुकहरूको अर्थ–राजनीतिमा राष्ट्रिय सरकार, संयुक्त राष्ट्र संघका नागरिकहरूको समूह र गैरसरकारी संस्थाहरूको दबाबले सामाजिक रूपान्तरण हुँदै गएको देखिन्छ । मुख्य रूपले अध्ययन गर्दा; सन् १९९० समयका संयुक्त राष्ट्र संघको तŒवावधानमा अन्तर्राष्ट्रिय सम्मेलनको केन्द्रबिन्दु, जसमा ः प्राकृतिक वातावरण (रियो दि जेनेरियो, १९९२); मानव अधिकार (भियना, १९९२); सामाजिक र आर्थिक विकास (कोपेनहेगन, १९९५) र महिला अधिकार (बेयिजिङ, १९९५) आदि थिए । यी भेलाहरूको प्रतिफलले अन्तर्राष्ट्रिय, राष्ट्रिय, क्षेत्रीय, स्थानीय बिचौलियाहरूलाई धेरै मलजल ग¥यो । नेपाली प्रसङ्गमा नै सन् १९९० पछि धेरै गैरसरकारी संस्थाहरू दर्ता हुन पुगे । यसै समयदेखि बोर्डर क्रस गरेर विभिन्न विषयहरू प्रजातन्त्र, धर्म, संस्कार, विकास, संविधान, पहिचान, अधिकार, आन्दोलन, जातजाति, छूवाछूत विषयमा केन्द्रित उद्देश्य राखी नेपालमा धेरै संघ र संस्थाको पहुँच पुग्न गयो । यसलाई सहयोग गर्ने पश्चिमा राष्ट्रहरू, बहुराष्ट्रिय कम्पनीहरू, अन्तर्राष्ट्रिय बैंकहरू, राष्ट्रिय बिचौलियाका झुन्डहरू भए र छन् । यहाँ अब अन्तर्राष्ट्रिय अभिनेताहरू÷बिचौलियाहरू र राष्ट्रिय र स्थानीय अभिनेता÷बिचौलियाहरूबीच गाढा र प्रगाढ सम्बन्ध गाँसिन पुग्यो । यसरी सम्बन्ध गाँसिनुको कारण– सफ्ट पावरमा खेल्ने (संवेदनशील विषयहरू), गरिब, अनपढ, अशिक्षित नेपाली देखाई नेपाल र नेपालीको नाममा आर्थिक सहयोग लिएर केही काम गरेको देखाई खाने, आफ्ना श्रीमतीदेखि नातेदारहरूलाई नोकरी लगाउने कार्य गरेको देखिन्छ । अर्कातिर ३० वर्षसम्म नेपाल र नेपालीबारे सोच, दृष्टि, योजना र कार्यक्रम बनाउन नसक्ने वा केही गर्न नसक्ने पार्टी नेतृत्वहरूलाई खेलाई उनीहरूकै उद्देश्यमुताबिक राजनीतिक नारा र कार्यक्रमहरू बनाउन लगाएको देखिन्छ, जुन नेपाल र नेपालीको भूगोल, स्पेस, प्लेस र टाइम फ्रेमिङ नहुनाले यो संघीयता र विकेन्द्रीकरण आइसकेपछि पनि नारा, जुलुस र अस्थिरता झेल्नुपरेको देखिन्छ ।
हामीसँग रहेका छूवाछूत, बालविवाह, महिला हिंसाका विषयहरूभित्रका तŒवहरूको अध्ययन गर्न हामीले ढिलो गरिरहेका छौं । आजको आवश्यकता भनेको ती तŒवहरू पहिल्याएर समाधान गर्न तिनै तहका सरकार, कानुनी विधि अपनाउनु जरुरी हुन्छ अर्थात् हामी सहज रूपले अहिलेको सामाजिक रूपान्तरण पनि समाउन सक्छौं । यहाँ आन्दोलन, नारा जुलुस यतिका वर्ष गरिसक्यौं, तर शासकीय व्यवस्थाको मिहिन कार्यान्वयनतर्फ कहिल्यै हामीले ध्यान पु¥याएनौं ।
अर्कातर्फ आन्दोलनकै कुराहरू गर्दा, नेपालका आन्दोलनहरू अध्ययन गर्दा सांस्कृतिक विश्लेषणको विधि र दृष्टिकोणको उपयोग परापूर्व कालदेखिनै गरेको देखिन्छ । विगतका केही वर्षहरूदेखी अन्तर्राष्ट्रिय बिचौलियादेखि राष्ट्रिय र स्थानीय बिचौलियाहरूको सामाजिक आन्दोलनकर्ताहरूले धर्म, जातजाति र संस्कृतिप्रति बढ्दो चासो राखेको देखिन्छ । यो नेपाली सन्दर्भमा भजाउन सा¥है सजिलो विषय छ, किनकि १ सय २५ जातजाति, १ सय २९ भाषाभाषी, १० धर्मावलम्बी र जातभित्र पनि विभिन्न थर बोकेर बसेको हाम्रो समाज र वंश परम्परा छ । त्यसैले नागरिक आन्दोलन कर्ता, राजनीतिक पार्टीहरू, शैक्षिक संस्था र संस्थानहरूले अग्रणी भूमिका निर्वाह गरेको देखिन्छ । यहाँ संस्कृति र सामाजिक आन्दोलनहरू एकअर्कासँग धेरै किसिमले सम्बन्धित देखिन्छन् ।
यस्ता आन्दोलनहरूका लागि अन्तर्राष्ट्रिय बिचौलियाहरू धेरै चलाख हुन्छन् । उनीहरूले समाज, सामाजिक चेतना, संस्कृतिका कमजोर पाटाहरू केलाएर उद्देश्यहरूसहित आन्दोलनका खाकाहरूको निर्धारण गरेका हुन्छन् । एक, अर्थ–राजनीतिका प्रक्रियाहरूमा नीति एजेन्डा प्रविष्ट गराउने समस्या र मुद्दाहरू निक्र्योल गर्छन् । दुई, वैचारिक अवधारणाहरू प्रक्रियागत र अभ्यासमा कसरी लैजाने र आकार कसरी दिने अनि कस्ता सामग्रीहरूले प्रभावित गर्छ भन्ने विषय ख्याल गरिएको हुन्छ । यो उदाहरण हेर्न ढोल, मादल, तबला, गीत, सङ्गीत र साहित्य सडकमा प्रयोग गरी रहेको देखिन्छ, जसले नेपाली मानसिकता र मनोविज्ञानमा हिर्काउँछ ।
आन्दोलनका जन्मदाताहरू मूलतः उनले सामाजिक आन्दोलनको उद्भवको एक कारकका रूपमा संस्कृतिका विभिन्न तŒवहरूमा सैद्धान्तिक दृष्टिकोणको उपयोगिता गर्छन् । यस्ता आन्दोलनले संस्कृति, धर्म, सामूहिक पहिचान, प्रतीक, सार्वजनिक प्रवचन, कथा र भाषणमा विभिन्न घटनाहरूलाई जनमानसमा प्रकट गर्छन् । हाम्रो जस्तो मुलुकमा आन्दोलनकारीले ऐतिहासिक, आर्थिक भूगोल र बसाइँ सराइ अनि शरणार्थीका समस्याहरूलाई छोप्ने कार्य गरिरहेको देखिन्छ । सामाजिक, आर्थिक र राजनीतिक रूपले उठिरहेका विषयवस्तुहरूलाई समेट्ने दिशा होइन, विखण्डनको दिशा डो¥याएको देखिन्छ । यसको प्रतिफल हामी निरन्तर अस्थिरतातिर गइरहेको अवस्था र हिजो बनेको संविधानको जराहरू हल्लाएको देखिन्छ ।
नेपालका आन्दोलन, सामाजिक परिवर्तनहरू अध्ययन गर्दा आन्दोलनकारीहरू वा पार्टीहरूले, सङ्गठनहरू, स्रोतहरू, संरचनात्मक सर्तहरू, नेटवर्कहरू र सुरक्षित बासस्थान आदि प्रयोग गरेको देखिन्छ भने उनीहरूको आर्थिक खर्च, आर्थिक स्रोत अनि बाह्य उनीहरूका सहयोगकर्ता मुलुकहरूका जासुसीदेखि प्रत्यक्ष र अप्रत्यक्ष सहयोगकर्ता संघ, संस्था साथै सङ्गठनहरू लुकाउने, छिपाउने गरेको देखिन्छ । यो आन्दोलनमा वा जुलुसमा होमिनेहरूले आर्थिक पाटोबाट विश्लेषण गरेको कहिल्यै देखिँदैन । आफ्ना आर्थिक चलखेल अनि भन्ने एक गर्ने अनेक गरिरहेको देखिन्छ । आजको समयमा आन्दोलनकर्ताहरूले उत्तरदायित्व, पारदर्शिता र नेपाली र नेपालको नाममा दाताहरूसँग सहयोग लिएर खाने प्रवृत्ति, प्रकृति र चरित्रको अन्त्य हुन जरुरी छ । खाएको लुकाउन जसपा, नेका, एमाले र माके पार्टीहरूको सदस्यताको खोल ओढेर हिँडेको प्रस्ट हिजोको उसको झुम्रे इतिहास र आजको उसको जीवनचर्या सामान्य दाँजेर हेर्दा सबै निस्कन्छ । यी सबै विकृति, विसङ्गति हटाएर आज मुलुकलाई संघीयता र विकेन्द्रीकरणको कार्यान्वयनतिर लैजानु आज पार्टीहरूलाई अत्यावश्यक भइसकेको छ । बुझ्नुपर्ने विषय भनेकै प्रजातन्त्र र व्यापार एकआपसमा दुस्मन हुन्, यी दुवै विषयहरू सँगै जाँदैनन्, जुन विषय हाम्रै विगतले प्रमाणित गरेको छ । यस विषयमा थुप्रै पुस्तकहरू र पेपरहरू प्रकाशित छन, अझ बढी अध्ययन गर्न आग्रह गर्छु ।

प्रतिक्रिया दिनुहोस्