Logo

अण्डा, मासु र दूधमा नेपाल आत्मनिर्भर घोषणा

सरकारले मुलुकलाई पशु तथा पन्छीजन्य वस्तुको उत्पादनमा आत्मनिर्भर घोषणा गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बिहीबार आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले यो घोषणा गरेका हुन् ।
मन्त्रालयका अनुसार दूध, अण्डा र मासु मागअनुसार उत्पादन भएकाले आत्मनिर्भर घोषणा गरिएको हो । मुलुकमा वार्षिक साढे चार खर्ब रुपैयाँबराबरको दूध, अण्डा र मासु उत्पादन भएको मन्त्रालयको भनाइ छ ।
मन्त्रालयका अनुसार हालको प्रचलित बजार मूल्यको आधारमा करिब १ खर्ब २२ अर्ब दूधबाट, करिब २ खर्ब ७५ अर्ब मासुबाट, १७ अर्ब अण्डाबाट र ३७ अर्ब माछाबाट गरी कुल ४ खर्ब ५० अर्ब रुपैया बराबरको खाद्यवस्तुको उत्पादन भई आयात प्रतिस्थापन भएको हो । मन्त्रालयका सचिव पेमनारायण कँडेलले मासु, अण्डा र दूधमा आत्मनिर्भर भएकाले अन्य उत्पादनमा पनि क्रमिक रुपमा आत्मनिर्भर बन्दै जाने बताए । खाद्य सुरक्षा, रोजगारी सिर्जना र गरिवी निवारणमा यी उत्पादनले महत्वपूर्ण योगदान पु¥याएको उनको भनाइ छ ।
आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रम र बजेटमा कृषि तथा पशुपन्छीजन्य खाद्य वस्तुहरुका उत्पादन वृद्धि गरी मुलुकलाई आत्मनिर्भर बनाइने प्रतिवद्धता व्यक्त गरिएको थियो । सोही अनुसार कृषि तथा पशुपन्छी मन्त्रालयले उत्पादन बढाएर उत्पादनमा आत्मनिर्भर भएको जनाएको छ । विश्व खाद्य तथा कृषि संगठनको मापदण्ड अनुसार प्रति व्यक्ति प्रति वर्ष न्यूनतम ९१ लिटर दूध, १४ केजी मासु, ४८ गोटा अण्डा आवश्यक पर्छ । हाल नेपालमा प्रति व्यक्ति प्रति वर्ष ७९ लिटर दूध, १८.१ केजी मासु, ६१ गोटा अण्डा उपलब्धता हासिल भएको छ । अण्डा र मासुमा मुलुक पूर्णरुपमा आत्मनिर्भर भइसकेको र दूधमा आत्मनिर्भर उन्मुख रहेको मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार मुलुकमा २३ लाख १ हजार टन दूध, पाँच लाख ४८ हजार टन मासु, १ अर्ब ६१ करोड गोटा अण्डा र ९१ हजार टन माछा उत्पादन भएको छ ।
प्रत्येक वर्ष ५ लाखदेखि ६ लाखको हाराहारीमा आयात हुने बाख्रा हाल ९७ प्रतिशतले घटेको छ । राँगा भैसीको आयात विगत २ वर्षयता शून्य भएको छ । अहिले पाउडर दूधको आयात पनि नभएको मन्त्रालयले जानकारी दिएको छ । कुखुरा र अण्डामा लामो समयदेखि नै आत्मनिर्भर भइसकेको छ ।
बिहीबार आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक पशुपन्छीजन्य उत्पादनको क्षेत्रमा आत्मनिर्भर भएकोले अब निर्यात प्रवद्र्धधनमा जोड दिनुपर्ने बताए । सरकार र निजी क्षेत्रको सहकार्यको नमुना क्षेत्र कृषि रहेको बताउँदै प्रधानमन्त्री ओलीले वैज्ञानिक ढंगले कृषि क्षेत्रको विकास गरी कृषि बीमाको प्रिमियम शुल्क घटाएर यस क्षेत्रलाई सुरक्षित, सम्मानित, आकर्षक र फलदायी बनाउनुपर्नेमा जोड दिए ।
कृषि तथा पशुपन्छी विकास मन्त्री पदमाकुमारी अर्यालले पहिलो चरणमा पन्छीजन्य वस्तुमा आत्मनिर्भर भएकाले छिट्टै नै अन्य क्षेत्रमा आत्मनिर्भर भएको घोषणा गरिने बताइन् । निर्यात प्रवद्र्धनका लागि वाधक रहेको निश्चित पशुपन्छीका रोगहरु उन्मूलन तथा रोकथामका कार्यक्रममा मन्त्रालयले जोड दिइरहेकाले निकट भविष्यमा नेपालका पशुपन्छीजन्य उत्पादनहरु निर्वाध विश्व बजारमा पुग्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्