आयोजनाको पूर्वतयारी सम्पन्न गरेपछि मात्रै ठेक्का दिन विकास समितिको निर्देशन «

आयोजनाको पूर्वतयारी सम्पन्न गरेपछि मात्रै ठेक्का दिन विकास समितिको निर्देशन

प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले आयोजनाको पूर्वतयारी सम्पन्न गरेपछि मात्रै ठेक्का लगाउन यसअघि दिइएको निर्देशनलाई कडाइका साथ कार्यान्वयन गर्न नेपाल सरकार सहरी विकास मन्त्रालयलाई निर्देशन दिएको छ ।
समितिको बुधबार बसेको बैठकमा हनुमन्ते करिडोरको हालसम्मको कार्यप्रगतिको सम्बन्धमा छलफल गरेपछि समितिले मन्त्रालयलाई यस्तो निर्देशन दिएको हो । समितिका निर्णयहरू सुनाउँदै सभापति कल्याणीकुमारी खड्काले भनिन्, “आयोजना पूर्वतयारीका काम सम्पन्न नगरी ठेक्का नलगाउन समितिले यसअघि नै मन्त्रालयहरूलाई र सम्बन्धित निकायलाई निर्देशन दिएको विषयमा पुनः स्मरण गराउँदै आगामी दिनमा सोहीअनुसार प्रक्रिया पूरा गरी आयोजनाको काम अगाडि बढाउन र कडाइका साथ समितिको निर्देशनलाई कार्यान्वयन गरी काम अगाडि बढाउन समिति नेपाल सरकार सहरी विकास मन्त्रालयलाई निर्देशन गर्दछ ।”
हनुमन्ते करिडोरको निर्माण कार्यमा उल्लेख्य प्रगति भएको देखिए पनि मध्यपुरथिमि र सूर्यविनायक नगरपालिकाभित्रका केही स्थानमा देखिएका समस्यालाई तत्काल समाधान गर्न सम्बन्धित सबैलाई समितिले सुझावसमेत दिएको छ । सभापति खड्काले भनिन्, “हनुमन्ते करिडोर निर्माणकार्यमा उल्लेख्य प्रगति भएको देखिए तापनि मध्यपुरथिमि नगरपालिका–३ र सूर्यविनायक नगरपालिका–२ का केही स्थानमा देखिएको अवरोध जनताका समस्या समाधान स्थानीय तह, जिल्ला प्रशासन र सम्बन्धित आयोजनाले आवश्यक समन्वय गरी उपयुक्त निकास निकाल्न आवश्यक देखिएको छ । यसर्थ निकास निकाल्न यो समिति पहल गर्नका लागि सुझाव दिन्छ ।”
करिडोर निर्माणका क्रममा नागरिकको जग्गासमेत पर्ने भएकोले सम्पत्तिको हक संरक्षण गरी जग्गा एकीकरण योजनामार्फत सुनिस्चित गर्ने र अन्य समस्या समाधानका लागि समितिले समेत पहल गर्ने निर्णय बैठकले गरेको सभापति खड्काले बताइन् ।

प्रतिक्रिया दिनुहोस्