बेरोजगार भई स्वदेश फर्किंदै नेपाली «

बेरोजगार भई स्वदेश फर्किंदै नेपाली

भारतमा कोरोनाको दोस्रो लहर
धनगढी-
भारतमा दोस्रो चरणको कोरोना फैलिएपछि रोजगारीका लागि पुनः भारत छिरेका नेपाली फर्किन थालेका छन् ।
नेपाल र भारतमा लकडाउन खुलेसँंगै भारतबाट फर्किनेभन्दा भारत जानेको संख्या तेब्बर भएकोमा पछिल्लो डेढ महिनादेखि भारतबाट फर्किने नेपालीको संख्या दोब्बर भएको हो । कोरोना जोखिमकै बीच रोजगारीका लागि भारत छिरेका नेपाली भारतमा पुनः लकडाउन हुन थालेपछि बेरोजगार हुँदै त्रिनगर भन्सार नाका र गड्डाचौकी नाकाबाट धमाधम फर्किरहेका छन् ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अनुसार फागुन महिनामा भारतबाट ३८ हजार आठ सय ७५ जना नेपाली भारतबाट फर्किएका छन् भने २४ हजार तीन सय ४६ जना नेपाली भारत गएका छन् । यसरी भारत जानेमा र फर्किनेमा सुदूरपश्चिम प्रदेशका नागरिक छन् भने केही कर्णाली प्रदेशका पनि रहेका जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका सूचना अधिकारी कृष्णानन्द जोशीले जनाए ।

भारतमा अहिले दोस्रो लहरको कोरोना संक्रमण तीव्र रूपमा फैलिरहेको छ । त्यसको असर नेपालमा समेत देखिन थालेको छ । आइतबारमात्रै भारतबाट रोजगारी गुमाएर फर्किदै गरेका एकजना नेपालीमा एन्टिजेन देखिएपछि सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले भारतसँंग सीमानाका जोडिएका कैलाली, कञ्चनपुर, बैतडी र दार्चुला जिल्ला स्वास्थ्य कार्यालयलाई नाकामा पुनः हेल्थ डेस्क राख्न लगाएको छ ।
बैतडीको दोगडाकेदार गाउँपालिका घर भएका ती युवामा कोरोना पुष्टि भएपछि उनलाई स्वास्थ्यकर्मीको निगरानीमा ‘होम आइसोलेसन’ मा राखिएको छ । प्रदेश स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले कोरोना पुष्टि भए पनि दोस्रो चरणको हो वा होइन भन्ने एकीन हुन बाँकी रहेको बताए ।
कोरोना संक्रमण फैलिएपछि गरिएको लकडाउनमा नेपालीहरू भारतलगायतका विभिन्न देशबाट रोजगारी गुमाएर स्वदेश फर्किएका थिए । लामो समयसम्म स्वदेशमा बस्दा रोजगार नपाए पछि पुनः रोजगारी खोज्दै कोरोना संक्रमणको जोखिमलाई बेवास्ता गरी भारत छिरेका थिए ।
लकडाउनको बेला सुदूरपश्चिममा भारतबाट मात्रै अढाइ लाखभन्दा बढी सुदूरपश्चिमेली स्वदेश फर्किएका थिए । प्रदेश र स्थानीय सरकारले कार्यक्रम र बजेटको व्यवस्था हुँदाहुँदै पनि रोजगारी गुमाएर फर्किएका नागरिकका लागि रोजगार सुनिश्चित गर्न नसकेपछि नेपालीहरू पुनः रोजगार खोज्दै अझै पनि भारत जाने क्रम रोकिएको छैन ।

प्रतिक्रिया दिनुहोस्