Logo

प्रधानन्यायाधीशमाथि कारबाही माग

अदालतको अवहेलना गरेको आरोपमा पक्राउ गरेर सर्वोच्च अदालत पुर्याइएका प्रा.डा. गोविन्द केसीले आफूले नभई प्रधानन्यायाधीश गोपाल पराजुलीले अदालतको अवहेलना गरेको भन्दै उनीमाथि कारबाहीको माग गरेका छन् । मंगलबार सर्वोच्च अदालतमा दिएको लिखित बयानमा उनले प्रधानन्यायाधीशमाथि अदालतको अवहेलनामा कारबाहीको माग गरेका हुन् ।
आफूमाथि लगाइएको आरोप निराधार रहेको भन्दै उनले बयानमा भनेका छन्, “यो विषयमा निज गोपाल पराजुली बाहेकका सर्वोच्च अदालतका अन्य सम्पूर्ण न्यायाधीशहरुको इजलाशबाट यो मुद्दाको सुनुवाइ होस् ।” सर्वाेच्च अदालतमा बयान नसकिएपछि उनको मुद्दालाई हेर्दाहेर्दैैमा राखिएको छ । बुधबार पनि सुनुवाइ हुनेछ । अनसनमै रहेका केसीको स्वास्थ्य अवस्थालाई ध्यान दिँदै अदालतबाट वीर अस्पताल लगिएको छ ।
प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग्दै केसीले अनसन थालेका थिए । सो कुराले अदालतको अवहेलना भएको भन्दै सोमबार नै दायर भएको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले मंगलबार ९ बजे केसीलाई अदालतमा पेश गर्न गृह मन्त्रालयलाई भनेको थियो । सोमबार साँझ नै प्रहरीले उनलाई पक्राउ गरेको थियो । सोमबारबाट अनसन थालेका केसीले मंगलबार पनि अनसन जारी राखेका छन् । उनले आफ्नो अनसन प्रहरी नियन्त्रणमा रहँदा पनि र जेल चलान गरिए पनि जारी राख्ने बताएका छन् ।

केसीको पक्षमा प्रदर्शन
यसैबीच मंगलबार केसी पक्राउको विरोधमा सर्वोच्च अदालत नजिकै रहेको माइतीघर मण्डलामा उनका समर्थकले प्रदर्शन गरेका छन् । प्रदर्शनमा पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराई, कांग्रेस केन्द्रीय सदस्य गगन थापा, साझा विवेकशिल पार्टीका रविन्द्र मिश्रलगायत सहभागि थिए । त्यस्तै राजधानीको शंकरदेव क्याम्पसमा नेविसंघले केसीको पक्षमा प्रदर्शन गरेको छ भने विभिन्न जिल्लामा पनि प्रदर्शन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्