नारा, जुलुस, पार्टी, हामी र बिचौलिया वर्ग— १ «

नारा, जुलुस, पार्टी, हामी र बिचौलिया वर्ग— १

यहाँ आन्दोलन, नारा जुलुस यतिका वर्ष गरिसक्यौं, तर शासकीय व्यवस्थाको मिहिन कार्यान्वयनतर्फ कहिल्यै हामीले ध्यान पु-याएनौं ।

यस लेखलाई नवउदारवादी आर्थिक संरचना, भूमण्डलीकरण र तुलनात्मक राजनीतिक विश्लेषणबीचको सम्बन्धमा केन्द्रित गरी नेपालमा अन्तर्राष्ट्रिय बिचौलिया वर्ग, नागरिक समाज, नागरिक आन्दोलन कसरी आए भन्ने आधारभूमि टेकी धरातलमा टेकेर लेखिएको छ । अनि यो सञ्चारको लोकतान्त्रीकरणसम्म पुगेर कसरी स्वार्थहरू हाबी हुन्छन् भन्ने विषयलाई केन्द्रित गर्ने जमर्को गरिएको छ । हाम्रो आधारभूमि ख्याल गर्दा हामीसँग रहेका :क) हामीसँग संघीय शासकीय व्यवस्था छ । (ख) यहाँ परम्परागत रूपमा चलिआएका पार्टीहरू, उनीहरूको नेतृत्व तह जो विशेष गरी राज्यसँग सम्बन्धित छ र हुन्छन् । (ग) अर्को पाटो, भूमण्डलीकरण र नवउदारवादी राजनीतिक–आर्थिक संरचना छ भने (घ) नागरिक समाज हाल आएर बोलिने भाषामा नागरिक आन्दोलन रहेको देखिन्छ ।
हिजोको नागरिक समाज-आजको नागरिक आन्दोलन बुझ्न वरिपरि रहेका अन्तर्राष्ट्रिय सम्बन्धका सैद्धान्तिक स्वरूपहरू, संरचनाहरू, राष्ट्रिय, अन्तर्राष्ट्रिय र स्थानीय गैरसरकारी संस्थाहरूका संरचना तथा पद्धतिहरू बुझ्नैपर्छ । जस्तै उदाहरणका लागि : एमसीसीका बारेमा निस्किएका बहसहरू बुझ्न, अमेरिकी सरकार, अमेरिकी सरकारको सुरक्षा नीति, अमेरिकी सरकारको नेपालसँगको सम्बन्ध र हाम्रा छिमेकीहरूसँगको सम्बन्ध, अमेरिकी–नेपालमा कार्यरत अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू, अमेरिकी वैदेशिक सहयोग गर्ने संस्था युएसआईडीको विभिन्न नेपाली गैरसरकारी संस्थाहरूलाई विभिन्न उद्देश्यहरू राखी गरेको सहयोग, ती नेपाली गैरसरकारी संस्था चलाउने अभिनेताहरू, उनका घर–परिवारका नातेदार, सहयोग प्राप्तबाट नोकरी खानेहरू अर्थात् प्रत्यक्ष र अप्रत्यक्ष लाभ लिनेहरू बुझ्दा सबै छर्लङ्ग भएर आउँछ ।
त्यस्तै अर्को उदाहरण, नेपालमा कार्यरत संस्था ओपन सोसाइटीसँग आर्थिक लाभमा जोडिएका सञ्चार जगत्, उनका लेख, लेखक पूरै जेरीसरि जेलिएर रहेको अध्ययन गर्दा पनि बुझिन्छ । यहाँ अन्तर्राष्ट्रिय बिचौलिया वर्गको पूरै फ्रेमभित्र पार्टीहरूको नेतृत्व तह, सञ्चार जगत् गएर सडकमा नारा लगाउने जोडिएका देखिन्छन् । यसरी नै अन्य मुलुकहरूको र संस्थाहरूको प्रवृत्ति, प्रकृति अनि सफ्ट पावरसँग सम्बन्धित उद्देश्यहरूको अध्ययनबाट पनि गर्न सकिन्छ ।
एक मुलुकबाट अर्को मुलुक पार गर्ने एजेन्डाहरू बोक्ने भरियाहरू अन्तर्राष्ट्रिय, राष्ट्रिय, क्षेत्रीय बिचौलियाहरूको संख्या र विविधता हेर्दा मुख्य गरेर अन्तर्राष्ट्रिय कम्पनीहरू, गैरसरकारी संस्थाहरू÷सङ्गठनहरू, अन्तर्राष्ट्रिय आपराधिक सङ्गठनहरू र आतङ्ककारीहरूबीचको भिन्नता छुट्ट्याउनुपर्छ । कुनै–कुनै मुलुकमा आतङ्ककारी संस्था पनि राज्यमा जोडिएको पनि भेटिएको छ । हाम्रो मुलुकमा राज्य टुक्र्याउने लेखहरू प्रकाशित गरेको भेटिएको छ ।
हाम्रो तराईमा रहेका हाम्रा नेपाली मुसलमानहरूप्रति र मदरसाप्रति भारतीय हस्तक्षेपको चासो यही हो । त्यसैले अन्तर्राष्ट्रिय, राष्ट्रिय, क्षेत्रीय, स्थानीय बिचौलियाहरू, उनको कार्यपद्धति, उद्देश्यहरू र कार्यक्रमहरू नेपाल सरकारले विस्तृत रूपले आवश्यकताअनुसार नियन्त्रण र नियमन गर्नुपर्छ । यसले मुलुकलाई स्थिरतातिर लैजान्छ भने नेपाली समाजले राम्रा काम गर्ने संस्थाहरूको उद्देश्यमुताबिकको प्रतिफल र परिणाम प्राप्त गर्छ । यी सबैजसो विषयहरू अन्तर्राष्ट्रिय राजनीति, भूराजनीति र छिमेकी मुलुकहरूको हामीभित्रको सफ्ट पावरको खेलाइले बुझ्न सकिन्छ ।
राजनीति र अन्तर्राष्ट्रिय सम्बन्धका फ्लोरिडा युनिभर्सिटीका विज्ञद्वय मार्कुस थाइल र जेफ्री मस्लानिक भन्छन्, “यहाँ नागरिक समाज भन्ने शब्दले कहिलेकाहीँ गैरसरकारी संस्था मात्रै होइन, अन्तर्राष्ट्रिय कम्पनीहरू पनि समावेश गरेको हुन्छ ।
त्यस्तै बितेको समयमा ‘नन स्टेट’ अन्तरशासकीय सङ्गठनमा समाविष्ट गरिन्थ्यो । त्यो आजकाल गरिँदैन, बुझ्नुपर्छ । उनीहरूले अनुसन्धान गरेको अर्को विषय, सूचना र प्रविधिको विकासले बौद्धिक समुदायहरूलाई र राज्यमा वकालत गर्ने नेटवर्कहरूलाई चलायमान बनायो । हाम्रो मुलुकको उदाहरण जस्तै : अहिले यहाँ निजगढको एयरपोर्ट बनाउने जङ्गल फँडानीको छलफल अमेरिका र अन्य मुलुकमा बसेर गरिरहेको देखिन्छ ।
प्रसङ्ग बदलौँ, हामीले विश्लेषण गर्दा, विश्वमा साथै हाम्रो मुलुकमा आएको व्यापक राजनीतिक परिवर्तनहरू ध्यान दिन जरुरी हुन्छ । त्यसरी नै क्रमशः पुँजीवादको विश्वव्यापी नवउदारवादी रूपले नयाँ रूपमा प्रवेश; क्षेत्रीय रूपले आर्थिक एकीकरण बढ्दो अवस्था र अन्तर्राष्ट्रिय नागरिक समाजको वृद्धि र सामूहिक रूपमा तुलनात्मक राजनीतिलाई विचार गरिनुपर्छ । यहाँ तर्क गर्न गाह्रो छ कि देशभित्र राजनीतिक के भइरहेको छ ? तुलनात्मक रूपले हाम्रो राजनीतिक–आर्थिक विश्लेषणभित्र परम्परागत (घरेलु) चिन्ताहरू पत्ता लगाउनुपर्छ । यही घरेलु राजनीतिक–आर्थिक क्षेत्रभित्रका स्वार्थपरक सन्दिग्ध र संरचनात्मक आधारभूत आधारमाथिको निर्भरताले हामीलाई डो-याइरहेको छ ।
ती दृष्टिकोणहरूबाट प्राप्त प्रतिफलहरू फ्यास्स न फुस्स देखिन्छन् भने परिणामहरू दिगो नदेखिनु अर्को आश्चर्य छ । आज आएर नेपालको नागरिक आन्दोलन; पार्टीहरू, यसका नेतृत्वहरूबाट आएका सोच, दृष्टि र यिनले प्रयोग गरेको सडक आन्दोलन पूर्ण वा आंशिक तवरले विश्वमा उदाएको अन्तर्राष्ट्रिय कलाकारहरू-बिचौलियाहरू (ट्रान्सनेसनल एक्टर्स) को भूमिकामा आधारित देखिन्छन् । अन्तर्राष्ट्रिय कलाकारहरू-बिचौलियाहरूले उठाउने मुद्दाहरू जस्तै : शासकीय व्यवस्था फेल खाएको ठाउँमा संघीयता, त्यस्तै, मानव अधिकार, पहिचान आदिजस्ता धेरै देखिन्छन् ।
अन्तर्राष्ट्रिय भन्ने शब्द अन्तर्राष्ट्रिय सम्बन्धमै प्रयोग हुने मुख्य शब्द हो । कुनै संस्था मुलुकको सीमाबाहिर कार्य गर्छ र स्वतन्त्रपूर्वक कार्य गर्ने बुझिन्छ । विद्वत्तापूर्ण भाषा बोल्दा यस्ता अन्तर्राष्ट्रिय कलाकारहरू÷बिचौलियाहरू नवउदारवादी अर्थ–राजनीति, सांस्कृतिक, र सामाजिक प्रक्रियाहरूको गतिमा काम गरिरहेका देखिन्छन् ।
यी कलाकारहरूको अध्ययन गर्दा अवधारणात्मक अस्पष्टता र अनिश्चितताका प्रश्नहरू देशमा उठिरहेका छन् । यी विविध क्षेत्रका कमजोरी, सामाजिक पुँजी कमाएका सहरिया कुलीन वर्गका नायक फेरि–फेरि अनेक रूपमा प्रकट हुन्छन् भने दाताबाट सहयोग प्रत्यक्ष, अप्रत्यक्ष जुटाई राम्ररी सञ्चार जगत्को सेटिङ र सिन्डिकेटमा प्रयोग गरिरहेका देखिन्छन् ।
अन्तर्राष्ट्रिय अभिनेताहरू÷बिचौलियाहरू (ट्रान्सनेसनल एक्टर्स) को जन्म खोजी गर्दा अन्तर्राष्ट्रिय रूपमा सञ्चालन गर्ने वकालत नेटवर्कहरू, अन्तर्राष्ट्रिय सङ्गठनहरू, पश्चिमी राज्यहरू, घरेलु विपक्षी समूहहरू र नेपालको नागरिक समाज÷नागरिक आन्दोलन आदि सबै एक केन्द्रबिन्दुमा जोडिएको भेटिन्छन् । यसको सुरुवाती अवस्था अध्ययन गर्दा चर्च, मन्दिर र मठको उत्पत्तिसँगै सामूहिकताको विषय आउँछ, जहाँ सामूहिक भेटघाट र भेला हुन्थे ।
उदाहरण लिँदा यहाँ अन्तर्राष्ट्रिय नागरिक समाज हेर्दा जस्तै ः कम्युनिस्ट अन्तर्राष्ट्रिय, चर्च र सोसियल इन्टरनेसनल आदि पर्छन् ।
७३ वर्षअगाडि १० डिसेम्बर, १९४८ मा मानव अधिकारको विश्वव्यापी घोषणापत्रलाई संयुक्त राष्ट्रसंघले अपनायो । त्यस समयमा प्रतिनिधिहरूले उक्त घोषणापत्रलाई स्पष्ट रूपमा यो बाध्यकारी सन्धि होइन, तर राज्यहरूले अपनाउने सिद्धान्तहरूको बयान हो भन्ने बुझे । यसलाई एलेनोर रुजवेल्टले सबै मानिस जातिको एक अन्तर्राष्ट्रिय म्याग्ना कार्टा (स्वतन्त्रताको महान् बडापत्र) स्थापित भयो भनेर प्रशंसा गरे । यसरी यो विषय प्रत्येक मुलुकमा पुग्दा साथै सञ्चार जगत्को विकासले विभिन्न मुलुकमा नेट वर्क बन्न पुग्यो । नेपालमा नेपाल मानव अधिकार सङ्गठन, ऋषिकेश शाहको अगुवाइमा सन् १९८८ मा स्थापित देखिन्छ ।
त्योभन्दा अघिदेखि पश्चिमी दाताहरूले सहयोग सुरु गरेको देखिन्छ, जसलाई नेपालमा बढाउने र कमाउने तथा दुरुपयोग गर्ने धन्दा विभिन्न गैरसरकारी संस्थाहरू आदिहरूले गर्न पुगे भने धेरै पञ्चायती व्यवस्थाविरुद्ध लागे । हालका केही गैरसरकारी संस्थाहरूको धन्दा हेर्दा एनजीओ (गैरसरकारी संस्था) बाट आरएचओ (नागरिक अधिकार खोज्ने संस्था–राइट होल्डिङ सङ्गठन) तिर गएर दुरुपयोग भइरहेको छ । जस्तै : महिलाहरूको राँके जुलुस, जनकपुर आदि थुप्रै उदाहरणहरू छन् । मूलतः यिनीहरू संयुक्त राष्ट्रसंघकै चार्टरहरू लत्याएर यो कार्य गरिरहेका छन् भने सरकार मौन दर्शक छ । यिनीहरूका नारा नेपालका राजनीतिक पार्टीहरूले सम्म प्रयोग गरेर पार्टी हाँकिरहेका छन् ।
यहाँ नारा, जुलुस नगरून् भन्ने लेखक र लेखको उद्देश्य होइन । तर सही मार्गचित्रमा चल्न यो विकेन्द्रीकरण र संघीयताको कार्यान्वयन गर्न किन, केले र कसरी पार्टीहरूलाई रोकेको छ ? जबकि चारवटै पार्टीहरू तीनै तहका सरकारमा सम्मिलित छन् । के कुनै शासकीय व्यवस्थालाई हामी परीक्षण थलो मात्रै बनाउने, प्रश्न यो उब्जिएको छ ।
यहाँ औपचारिक रूपले नै नेपालका सडकका नाटक र नौटङ्की बुझ्न के जरुरी हुन्छ भने १ सय ९३ सदस्य रहेको संयुक्त राष्ट्र संघमा, प्रजातन्त्र, मानव अधिकार, न्याय र विकासबारे छलफल र निर्णय हुन्छ । त्यहाँ आर्थिक तथा–सामाजिक काउन्सिलमा ३५ सयजति दर्ता भएका गैरसरकारी संस्थाहरू पनि छन् । आर्थिक तथा सामाजिक काउन्सिलमा धर्मको सिद्धान्तमा पूर्ण विश्वास राख्ने १० प्रतिशत गैरसरकारी संस्था छन् भने ३ सयजति पश्चिमा र क्रिस्चियन धर्म रुचाउने परामर्शदाताहरू छन् भनेर जेफ्री हेनेस लेख्छन् । यहाँकै विषय उठाउँदा संयुक्त राष्ट्र संघका केही शाखाहरूको भूमिका हिजोका दिनहरूदेखि नै राम्रो देखिँदैन । किनकि पैसो दिनु र सहयोग गर्नु मात्रै राम्रो होइन, त्यसको प्रभाव र प्रतिफल सामाजिक विखण्डनमा देखिइरहेको छ । त्यसैले संयुक्त राष्ट्र संघ भन्नासाथ विश्वासयोग्य भन्ने हाम्रो बुझाइ गलत छ ।
यो कमाइ गर्ने भाँडो र जागिर खाने भाँडोमा परिणत भएको देखिएको छ । यिनीहरूको सम्बन्ध नियाल्दा :वैश्विक–क्षेत्रीय–प्रादेशिक–राष्ट्रिय–स्थानीय सम्बन्ध वेबहरूको गाँठो जोडिएको देखिन्छ । अन्तर्राष्ट्रिय अभिनेता÷बिचौलियाहरू; नागरिक समाज÷नागरिक आन्दोलन (अहिले आन्दोलन शब्द जोडिने विज्ञहरूले लेखेका छन्); गैरसरकारी संस्थाहरू एकआपसमा जोडिएका छन् । भूमण्डलीकरणले मानव जीवनको शृङ्खलामा विश्वव्यापी आपसी सम्बन्धको बढ्दो सीमा, तीव्रता, वेग र प्रभावलाई समेट्यो । यसलाई नेपालकै सन्दर्भमा हेर्ने हो भने पञ्चायतकालमा नागरिक समाजको कार्य गैरसरकारी संस्थाहरूले गर्थे । यिनै संस्थाहरूबीचको भिन्नता थाहा पाउन उनीहरूको सङ्गठनात्मक संरचना, लक्ष्य, उद्देश्य, मान्यताहरू र कार्य प्रणाली जानकारी राख्नुपर्छ । (क्रमशः)

प्रतिक्रिया दिनुहोस्