मालपोतको भूसेवा केन्द्र स्थानीय तहमा हुने «

मालपोतको भूसेवा केन्द्र स्थानीय तहमा हुने

लमजुङ-मालपोत कार्यालयको सेवा प्रवाहलाई सहज बनाउने उद्देश्यले आगामी बैसाखको दोश्रो सातादेखि लमजुङका स्थानीय तहरुमा भू–सेवा केन्द्र कार्यान्वयन हुने भएको छ । हाल जिल्ला सदरमुकाम सेवा प्रवाह हुँदै आएको मालपोत कार्यालयको केही सेवा सुविधा स्थानीय तहबाटै प्रवाह गर्नेगरीे तयारी गरीएको मालपोत कार्यालय लमजुङले जनाएको हो ।
जिल्ला मालपोत कार्यालय लमजुङले पत्रकार सम्मेलन गरी सेवा प्रवाहबारे जानकारी गराएको हो । संघीयता कार्यान्वयनसँगै जिल्ला सदरमुकामबाट प्रवाह हुँदै आएको सेवा प्रवाहलाई स्थानीय तहमा विकेन्द्रित गर्न लागिएको जिल्ला मालपोत कार्यालयका प्रमुख इश्वरकमल श्रेष्ठले बताए । अनलाइनबाटै सेवा प्रदान र प्राप्त गर्न पेपरलेस सरकारको अवधारणालाई मूर्त रुप दिई छिटो छरितो र प्रभावकारी सेवा प्रभाव गर्न स्थानीय तहहरुमै भू–सेवा केन्द्र सेवा शुरु गर्न लागिएको कार्यालय प्रमूख श्रेष्ठको भनाई छ ।
जिल्ला मालपोत कार्यालय लमजुङले सार्वजनिक सूचना प्रवाह गर्दै स्थानीय तहहरुबाट उक्त सेवा प्रवाहका लागि मापदण्ड पुगेका व्यक्ति तथा सम्बन्धित संस्थाहरुलाई सूचिकृत हुन आग्रह समेत गरेको छ । स्थानीय तहबाट भूसेवा केन्द्रमार्फत सेवा प्रवाह सुरु भएसँगै जिल्लाबाट भइरहेको सेवा प्रवाहमा सहजता आउने र हाल उत्पन्न जनगुनासो पनि कमी हुने कार्यालय प्रमुख श्रेष्ठले बताए ।
भूसेवामार्फत घरबाटै जग्गा सम्बन्धी कार्य गर्न निवेदन दिन सकिने र अनलाइनबाटै कारोबार गर्न सकिने भएकाले नागरिकलाई उक्त सेवाले सहज बनाउने कार्यालयको विश्वास छ । यसका लागि प्रक्रिया पु¥याएर सेवा केन्द्रको अनुमति लिएका व्यक्ति तथा संस्थाहरुलाई तालिम प्रदान गरिने पनि कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार तालिम लिएका व्यक्तिले पनि नागरिकलाई सेवा दिन सक्नेछन् । एक पटक लिएको प्रयोगकर्ताले आफ्नो जग्गाको ५ पटकसम्म कारोबार गर्न सक्ने जिल्ला मालपोत कार्यालयले जनाएको छ ।
मालपोत कार्यालय लमजुङले आगामी बैसाख ६ गतेदेखि जिल्लाका आठवटै स्थानीय तहबाट अनलाइन सेवामार्फत सेवा सुचारु गर्ने तयारी गरेको जनाएको छ । स्थानीय तहमा भू–सेवा केन्द्र सञ्चालनमा आएसँगै जिल्ला मालपोत कार्यालयमा हाल भइरहेको बिचौलियाको चलखेल पनि न्यूनिकरण हुने कार्यालयको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्