रक्तसञ्चार केन्द्र स्थापना «

रक्तसञ्चार केन्द्र स्थापना

जुम्ला-कर्णालीका सुत्केरी महिलाले रगत नपाएर, बेलाबेलामा आर्मी प्रहरी गुहार्नुपर्ने यहाँका बासिन्दको वास्तविकता हो । रक्तअल्पता पर्दासमेत समयमै रगत नपाएका कारण ज्यान गुमाउने पनि छन् । कर्णालीमा रक्तसञ्चार केन्द्र नहुँदा सबै भन्दा सुत्केरी महिला प्रभावित भएका छन् । आपतविपतमा आर्मी गुहार्नु पर्ने अवस्थामा पनि कति बिरामीले भनेजतिको रगत नपाएर पीडा खेप्नु परेको अवस्था थियो । तर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा वर्षौंपछि बल्ल्ल रक्तसञ्चार केन्द्र स्थापना भएपछि नागरिकले रगत नपाएर मर्ने दिन गएको महसुस गरेका छन् ।
पटक पटक यहाँका बिरामीले रगत नपाउँदा भोगिरहेको समस्यालाई मध्यनजर गर्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले गएको शुक्रबारदेखि आफ्नै रक्तसञ्चार केन्द्र स्थापना गरी सञ्चालनमा ल्याएको छ । एकैपटक ९० जनाले दिएको रगत स्टोर गर्नसक्ने क्षमता भएको रक्तसञ्चार केन्द्र स्थापना गरिएको प्रतिष्ठानका रजिस्टार विश्वराज काफ्लेले बताए । उनका अनुसार अब कुनै पनि बिरामीले रगत नपाएर छटपटिनु पर्ने तथा अकालमा मृत्युवरण गर्नुपर्ने छैन ।
जटिल प्रकारको रोगको निधान जुम्लामै हुने भएपछि सुविधा सम्पन्न महँगो उपचार गराउने परम्पराको अन्त्य भएको उनको भनाइ छ । यहाँ शल्याक्रिया गर्दा रगत अभाव हुने र सेना र प्रहरीले रक्तसञ्चार केन्द्रको भूमिका निभाइरहँदा निकै समस्या हुने गरेको थियो । उनले थपे, अब आर्मी प्रहरी गुहार्ने दिन नआउने दाबी गरे । जस्तोसुकै, जटिल खालका अप्रेसन पनि गरिन्छ र रगतको अभाव कुनै पनि हालतमा हुन नदिने उल्लेख गरे ।
अब अस्पतालमै आएर रत्तदान गर्नसक्ने र बिरामीले रगत अस्पतालको हाताभित्रै पाउने वातावरण सिर्जना भएको छ । रजिस्टार काफ्लेले भने, “रक्तसञ्चार केन्द्रको स्थापनाको दिनमा २० जना अस्पतालका पदाधिकारी, कर्मचारी, चिकित्सक, विद्यार्थीले तथा अन्य गरी झण्डै ३० जना बढीले रक्तदान गरेका छन् ।”

३/३ महिनामा रक्तदान
हरेक ३/३ महिनामा रेडक्रस र सामाजिक संघ संस्थासँग समन्वय गरेर रक्तदान कार्यक्रम गरिने छ । अहिले जुम्ला अस्पतालमा मुगु, कालिकोट, डोल्पा, जुम्ला, जाजरकोटसम्मका बिरामी उपचार गराउन आउने गरेका छन् । विगतको भन्दा अहिले जुम्ला अस्पतालमा बिरामीको चाप बढ्दै गएको बिरामीको चापलाई मध्य नजर गर्दै हरेक ३/३ महिनाकोे अन्तर सबै सरोकारवालासँग समन्वय गरी रक्तदान कार्यक्रम गरिने छ । यो वर्षमात्रै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ५० हजार बिरामीको उपचार गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्