जलवायु सम्मेलनमा भाग लिन राष्ट्रपति पोल्यान्ड «

जलवायु सम्मेलनमा भाग लिन राष्ट्रपति पोल्यान्ड

काठमाडौं-संयुक्त राष्ट्रसंघीय प्रारुप महासन्धि (यूएनएफसीसीसी) का पक्ष राष्ट्रबीच डिसेम्बर २ देखि १४ सम्म पोल्यान्डमा हुन गइरहेको २४औं अन्तर्राष्ट्रिय सम्मेलन (कोप ट्वान्टी फो) मा भाग राष्ट्रपति विद्यादेवी भण्डारी पोल्यान्ड प्रस्थान गरेकी छन् । सम्मेलनको उच्चस्तरीय बैठकमा सम्बोधन गर्दै नेपालको तर्फबाट जलवायुका मुद्दामा धारणा राख्न उनी पोल्यान्ड प्रस्थान गरेकी हुन् ।
वन तथा वातावरण मन्त्रालयले आगामी कोप २४ मा नेपालको तर्फबाट कस्ता एजेन्डा उठाउने भन्ने विषयमा तयारीसहित नेपालले कोपमा सहभागिता जनाउने छ । आज (आइतबार) देखि सुरु हुने कोपमा भाग लिनअघि आफूले उठाउने एजेन्डाले जलवायु परिवर्तनमा पारेको जोखिम कम गर्न, आर्थिक क्षति न्यूनीकरण गर्दै नेपालको अर्थतन्त्र विकासमा टेवा पुर्याउन सहयोग पुर्याउने उद्देश्यले नेपालले जलवायु एजेन्डा उठाउनुपर्ने विषयमा छलफल भइसकेको छ । मन्त्रालयले कोपमा जलवायु परिवर्तनका कारण हिमाली तथा पहाडी क्षेत्रको अर्थतन्त्रमा पर्ने नकरात्मक प्रभाव न्यूनीकरणको विषयलाई उठान गर्ने तयारी भइरहेको बताएको छ ।
जलवायु परिवर्तनका कारण विभिन्न क्षेत्र प्रभावित भएका प्रतिवेदन सार्वजनिक भइरहेको समयमा हुन लागेको कोप–२४ लाई महत्वका साथ हेरिएको छ । वन तथा वातावरण मन्त्रालयका अनुसार राष्ट्रपति भण्डारीले नेपाल ज्यादै न्यून कार्बन उत्सर्जन गर्ने देश भए पनि जलवायु परिवर्तनको दुष्प्रभावमा पर्ने प्रमुख बन्न पुगेको बताएकी छन् । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतसहित केही सांसद र उच्चपदस्थ अधिकारी पनि भ्रमण टोलीमा छन् । भ्रमणका क्रममा पोल्यान्डका राष्ट्रपतिसहित विभिन्न उच्चस्तरीय भेटघाट हुनेछ । यसभन्दा अघि २००९ मा डेनमार्कमा भएको १५औं सम्मेलनमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले भाग लिएका थिए ।
त्यसैगरी सन् २०१५ मा भएको पेरिस सम्झौताले विश्वव्यापी तापक्रम वृद्धि दुई डिग्री सेल्सियसभन्दा तल राख्ने तथा १.५ डिग्रीभन्दा माथि बढ्न नदिने महत्वपूूर्ण सम्झौता गरेको थियो । पेरिस सम्झौताका हस्ताक्षर राष्ट्रहरूले १.५ डिग्रीभन्दा कम तापक्रम राख्न अति कमविकासित देश (एलडीसी)ले पहल गर्ने भएका छन् । गत सोमबारदेखि मगलबारसम्म पोल्यान्डमा आयोजित दुई दिने अतिकमविकसित देशहरूको कोप पूर्वतयारी बैठकमा १.५ डिग्रीभन्दा कम तापक्रम राख्न पहल गर्ने निष्कर्ष निकालिएको थियो । अति कमविकासित देशहरू पछिल्लो समयमा जलवायु परिवर्तनले गर्दा प्रभावित भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्