टोकियोमा रहेको नेपाली विद्यालय नेपालको चिनारी हो «

टोकियोमा रहेको नेपाली विद्यालय नेपालको चिनारी हो

जापानको टोकियो सहरमा सन् २०१३ सालदेखि नेपालीद्वारा सञ्चालित नेपाली विद्यालय एभरेस्ट इन्टरनेसनल स्कुल जापानलाई नेपाल सरकारले नेपाली पाठ्यक्रमअनुसार विद्यालयमा पठनपाठन गर्न मान्यता दिएको छ । नेपाली पाठ्यक्रमअनुसार विदेशमा विद्यालय सञ्चालन गर्ने मान्यता शिक्षा मन्त्रालयबाट प्रदान गरिएको सम्भवतः यो पहिलो विद्यालय हो । यो विद्यालयले जापान र नेपालबीचको सम्बन्धलाई दुई देशको संस्कृति, भाषा, भेशभूषालाई समेत संरक्षण एवं प्रवद्र्धन गर्न सहयोग पुग्ने विश्वास गरिएको छ । विदेशमा बस्दा पनि नेपालको भाषा, संस्कृति, भेशभूषालाई आत्मासात् गर्दै नेपाली पाठ्यक्रममा पठनपाठन गर्न पाउनु त्यहाँ रहेका नेपालीका लागि गौरवको विषय हो । हाल विद्यालयमा दार्चुलामा जन्मेका र उच्च शिक्षा जापानका विभिन्न विश्वविद्यालयबाट पूरा गरेका नेपाली विष्णुप्रसाद भट्ट प्रिन्सिपल छन् । साथै, यो विद्यालयमा एनआरएनएका पूर्वअध्यक्ष भवन भट्ट अध्यक्ष र कार्यकारी समितिमा मेघराज नेपाल, भूषण घिमिरे, कमलचन्द्र आचार्य र सुजता श्रेष्ठ रहेका छन् । विद्यालयको भाइस प्रिन्सिपल राजेन्द्र तामाङ, प्रशासनतर्पm फुजियो सानलगायत रहेका छन् ।
दार्चुलाबाट कक्षा १० सम्मको अध्ययन गरी उच्च माध्यमिक शिक्षा भारतको पिथौरागढबाट गरेका प्रिन्सिपल भट्ट जापानमा रहेका उत्साहित ७० भन्दा बढी नेपालीको सहयोगमा विद्यालय सञ्चालनमा आएको बताउँछन् । त्रिभुवन विश्वविद्यालयबाट एमएस्सी र बीएड गरेका प्रिन्सिपल भट्टसँग नेपालका विभिन्न विद्यालय र कलेजमा अध्यापन गरेको अनुभव छ । जापानको टोकियो विश्वविद्यालयबाट इन्टरनेसनल रिलेसनसिपमा मास्टर गरेका भट्टसँग जापानमा सञ्चालनमा रहेको नेपाली विद्यालयका बारेमा कारोबारले गरेको कुराकानीको सार :

नेपालमा नै सामुदायिक विद्यालय सञ्चालन गर्न समस्या भइरहेका बेला जापानमा नेपाली विद्यालय खोल्ने प्रेरणा कसरी मिल्यो ?
नेपालीको पहलमा स्थापना भएको एभरेस्ट इन्टरनेसनल स्कुल जापान स्थापनाको मुख्य प्रेरणा जापानमा नेपाली नागरिकको बसोबास बढ्दै गएपछि आएको हो । जापानमा रहनुभएका अग्रज नेपालीले सन् २०१३ मा नेपाली बालबालिका, नेपाली संस्कृति, भाषा–संस्कृतिलगायतका विषयमा जानकारी होस् भनेर यो विद्यालय स्थापना गरेको हो । प्रवासमा भए पनि नेपालीपन बचाइराख्न सहयोग पुगोस् भनेर जापानमा रहेको नेपाली दूतावास र जापानमा बस्ने अग्रज नेपालीहरूको पहलमा १०÷१२ जना विद्यार्थीबाट सुरु गरिएको हो । जापानमा रहेका ७० जनाभन्दा बढी अग्रज नेपालीको पहलमा नेपाली स्कुल स्थापना गरिएको हो । यो स्कुल स्थापना गर्दा सबै प्रमोटरले नाफाभन्दा पनि समान सेवा र देशको चिनारीलाई प्राथमिकता दिएर स्थापना गरेका हुन् । विदेशमा बसोबास गरिरहेका बालबालिकाले नेपाली भाषा–संस्कृति, परम्परा नर्बिसिऊन् भनेर स्थापना गरिएको हो । त्यो बेलाको संस्थापक अध्यक्षका रूपमा डा. भूपालमान श्रेष्ठ, संस्थापक प्रिन्सिपलका रूपमा प्रदीप थापा र हालको अध्यक्षमा एनआरएनए पूर्व अध्यक्ष भवन भट्ट रहनुभएको छ ।

जापानमा स्थापना गरिएको यो विद्यालय कस्ता प्रकारका विद्यार्थीलाई लक्षित गरेर स्थापना गरिएको हो ?
स्थापनाका चरणमा यो विद्यालयलाई विस्तार गरेर लैजाने योजना भने थिएन । सुरुका दिनमा जापानमा विभिन्न पेसा–व्यवसाय गरेर बसेका नेपालीका ससाना बालबालिकालाई लक्षित गरेर स्थापना गरिएको थियो । यो नेपालबाहिर रहेको र नेपाल सरकारको अनुमतिमा स्थापना भएको एक मात्र विद्यालय हो । हाल यो विद्यालयमा माध्यमिक तहसम्मको अध्ययन भइरहेको छ ।
सुरुमा जापानमा रहेका नेपाली समुदायका बालबालिकालाई लक्षित गरेर नेपाली, अंग्रेजी र जापानी भाषा पढाइ भएको भए पनि पछि अन्य देशका बालबालिका समेतलाई लक्षित गरेर सोहीअनुसार पाठ्यक्रम बनाई अध्ययन–अध्यापन हुन थाल्यो । हाल टोकियोमा विद्यालयको आफ्नै भवन रहेको छ । अहिले विद्यालयले अन्य समुदायका बालबालिकाका लागि एउटा किन्डर गार्डेन विद्यालय स्थापना गरेको छ । विद्यालय स्थापना गरेको क्षेत्रमा कोरियन, म्यानमार र दक्षिण एसियालगायत सबै देशका नागरिक बसोबास गरिरहेका छन् ।

कुन समुदाय वा देशका बालबालिका धेरै रहेका छन् ?
विशेषगरी ९८ प्रतिशत नेपाली बालबालिका रहेका छन् । विभिन्न पेसा–व्यवसाय गरेर बसेका १ लाखभन्दा बढी नेपाली रहेको अवस्थामा नेपाली बालबालिका नै धेरै छन् । त्योबाहेक बंगलादेश, भारत, अमेरिका, न्युजिल्यान्ड लगायतका सबै क्षेत्र र देशका बालबालिका छन् । हाल केही जापानी बालबालिका पनि भर्ना भएका छन् ।

विद्यालय स्थापनाका लागि कति लगानी गर्नुपर्ने रहेछ ?
यो विद्यालयमा ५० देखि ६० करोड रुपैयाँ लगानी रहेको छ । सुरुमा यो विद्यालय स्थापना गर्दा गैरनाफामूलक समुदायमा आधारित विद्यालयको रूपमा स्थापना गरिएको हो । विद्यालयको खर्च व्यवस्थापन पनि नाफा लिने तरिकाले गरिएको छैन । आर्थिक व्यवस्थापनको कुरा गर्दा त्यहाँका सबै नेपालीले आफ्नो क्षमताअनुसार लगानी गरेका छन् ।

विद्यालयले सिकाइका लागि कोर्स, तहगत वर्गीकरण र माध्यम भाषा कुन छनोट गरेको छ ?
अहिले विद्यालयले किन्डर गार्डेन, जुन नेपालको शैलीमा नै सञ्चालन भइरहेको छ, यसैगरी १ देखि ८ कक्षासम्म आधारभूत शिक्षा रहेको छ । यसरी कक्षा ९ र १० को कक्षा पनि सञ्चालन भइरहेको छ । कक्षा १० का लागि एसईई परीक्षाको समेत तयारी अघि बढेको छ । अर्को वर्षदेखि कक्षा ११ र १२ कक्षा सञ्चालन गर्ने तयारी छ । जापानमा पनि हाल आएर अंग्रेजी भाषालाई प्राथमिकता दिएर अन्तर्राष्ट्रियस्तरको माध्यम भाषामा पढाउने चलन सुरु भइसकेका कारण पनि जापानीले समेत भर्ना गर्ने गरेका छन् । जापानका अन्य क्षेत्रका विद्यालयले निर्धारण गरेको शुल्क भन्दा नेपाली विद्यालयमा शुल्क आधा कम छ । हाल शैक्षिक व्यवस्थापन राम्रो हुँदै गइरहेका कारण अन्य बालबालिकासमेत आउन थालेका छन् । हालसम्म चाहिँ नेपाल सरकारले निर्धारण गरेको कोर्स नै पढाइ भइरहेको छ ।

कुन देशको परीक्षा बोर्डलाई आधार मानेर सिकाइ मूल्यांकन गरिँदै आएको छ ?
अहिलेसम्म चाहिँ जापानमा स्थापना भएको हुनाले जापानको नियम–कानुनलाई नमान्ने भन्न चाहिँ मिल्दैन । त्यहाँ हाइजिन, सुरक्षा र अन्य मापदण्डलाई भने जापानले बनाएको नियमलाई नै मान्नुपर्ने हुन्छ । तर अहिलेसम्मको लागू भएको पाठ्यक्रमचाहिँ नेपालको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको नै हो । यहींको पाठ्यक्रम विकास केन्द्रले तयार गरेको पाठ्यक्रम र परीक्षा प्रणाली नै लागू गरिएको छ ।

विद्यालय सञ्चालन अवस्था राम्रो रहेको भन्नुभयो, विद्यालयको भावी योजना के छ ?
विद्यालय हालसम्म एक ठाउँमा मात्र सञ्चालन हुँदै आएको थियो । यो वर्षदेखि नेपालीको बाहुल्य रहेको क्षेत्रमा शाखाका रूपमा किन्डर गार्डेन पनि खोलेका छौं । जापानमा साना बच्चालाई बाल स्याहार केन्द्र स्थापना गरेर राख्ने चलन हुन्छ । जापानका शतप्रतिशत अभिभावक रोजगारीमा हुन्छन् । यस्तो अवस्थामा जापानीलाई मात्र हैन, नेपाली अभिभावकलाई पनि काममा जान समस्या हुने गरेको छ । जापानमा धेरै बाल स्याहार केन्द्र सरकारी हुने गरेका छन् । यस्तो समस्यालाई मध्यनजर गर्दै टोकियो सरकारबाट हाम्रो विद्यालयलाई अनुमति दिइएको हुनाले ३ देखि ६ वर्षसम्मका बालबालिकालाई मासिक रूपमा लाग्ने शुल्कमध्ये निश्चित रकम सरकारबाट पुनः अनुदानका रूपमा अभिभावकले पाउने गरी सञ्चालन गरिएको छ । त्यसको कारणले अभिभावकलाई पढाउन सजिलो पनि हुने विश्वास रहेको छ । यसैगरी अंग्रेजी माध्यम, बहुसांस्कृतिक वातावरण भएको विद्यालयमा अध्ययन गर्न जापानी पनि उत्साहित भएको पाएको छु ।

नेपाली भाषाको पढाइचाहिँ कति हुन्छ ?
हामीले नेपाली पाठ्यक्रम मात्र नेपालीमा पढाउने हो । अरू सबै विषय अंग्रेजीमा नै पढाइ हुन्छ । यसबाहेक अन्य सबैले जापानिज भाषा पनि अध्ययन गर्ने गर्छन् । विद्यालयमा जापानिज शिक्षकहरू कार्यरत रहेका कारण त्यहाँ बस्ने विदेशीले जापानी भाषाको पनि राम्रो ज्ञान आर्जन गर्न सक्छन् । नेपाली बालबालिकाले जापानी भाषासमेत अध्ययन गर्दै आइरहेका छन् । विदेशीले जापानमा त्यहाँको भाषाको पाँच तह लिने गरेका छन् । यसमा येन ५ देखि येन १ सम्म भाषागत तह रहेको छ । हाम्रा बच्चाहरूले येन २ सम्म पास गरिसकेका छन् । येन ५ भनेको सुरुको चरण हो ।

नेपाल सरकारको अनुमतिमा विद्यालय सञ्चालन भएको हो भने नेपाल सरकारले अन्य के सहयोग गरेको छ ?
नेपाल सरकारले जापानमा नेपाली विद्यालय सञ्चालन गर्न अनुमति दिनु पनि एक प्रकारको सहयोग नै हो । यहाँ कक्षा ८ को परीक्षा गर्दा जस्तै त्यहाँ पनि सोहीअनुसार नै गर्ने हो । यसरी कक्षा १० का सबै परीक्षा आवेदन नेपालबाट नै भरेका छौं । परीक्षाका लागि आवश्यक प्रश्नपत्र नेपालबाट नै जाने गरेको छ । सरकारले यति सहयोग गर्नु पनि राम्रो हो । आर्थिक रूपमा भने सरकारले सहयोग गरेको छैन । तर, अरू प्रशासनिक सहयोग भने सरकारले गरेको छ ।

गैरनाफामूलक विद्यालय भएका कारण यसको आर्थिक व्यवस्थापन कसरी गरिरहनुभएको छ ?
लगानीकर्ता ७० जना भए पनि उहाँहरूले त्यहाँबाट फाइदा पाउँछु भनेर सहयोग गर्नु भएको होइन । नेपाल सरकारको हालसम्म अन्य विषयमा सहयोग नै रहेको छ । सरकारबाट अझ सहयोग होस् भन्ने चाहन्छांै । आर्थिक रूपमा नभए पनि त्यहाँ रहेका शिक्षक कर्मचरीलाई तालिम दिने काम गर्न सक्छ । किनभने नेपालबाहिर रहेको एक मात्र नेपाली स्कुल हो । हामीले यो विद्यालयमार्पmत विद्यार्थीलाई पढाउने मात्र नभएर नेपालको कला संस्कृति, सभ्यता, परम्परालगायतका विषयमा त्यहाँको समुदायमा साझेदार र आदानप्रदान कार्यक्रम राखेका छौं ।
पछिल्लो समयमा जापान राम्रा विश्वविद्यालयले नेपालसम्बन्धी अध्ययन गर्न हाम्रो विद्यालयलाई आधार बनाउने गरेका छन् । त्योचाहिँ संसारमा नेपालीको चिनारीको रूपमा रहेको छ । यसकारण आउने दिनमा नेपाल सरकारबाट थप सहयोग हुन्छ भन्ने अपेक्षा गरेका छौं । नेपाली दूतावास जापानले पनि यसमा धेरै नै सहयोग गरेको छ । टोकियोस्थित नेपाली राजदूत विद्यालयको संरक्षकका रूपमा समेत रहनुभएको छ । कक्षा ८ र १० परीक्षा हुँदा नेपाली दूतावास धेरै नै सहयोग गरेको छ ।

विद्यालयमा हाल कति शिक्षक कर्मचारी रहनुभएको छ ?
हाम्रो विद्यालयमा धेरै शिक्षकहरू नेपाली नै रहनुभएको छ । नेपालमा लामो समय अध्यापनको अनुभव रहेका शिक्षकलाई स्पोन्सर गरेर विद्यालयमा राखेका छौं । कतिपय शिक्षकचाहिँ जापानका विभिन्न विश्वविद्यालयबाट पास आउट भएका नेपाली शिक्षकहरू हुनुहुन्छ । विद्यालयमा हाल पाँच जना जापनिज, अंग्रेजीका लागि अमेरिकन शिक्षक र भारतका शिक्षकहरू रहेका छन् ।

विद्यालय तह पूरा गरेपछि विद्यार्थीले कहाँको प्रमाणपत्र पाउँछन् त ?
हालसम्म प्रमाणपत्र दिँदा नेपाल सरकारबाट नै भइरहेको छ । तर, आउने दिनहरूमा भने क्याम्ब्रिज कोर्सहरू राख्ने योजनामा छौं । यदि त्यो कोर्स राखियो भने सम्बन्धित देशले नै जारी गर्न सक्ने सम्भावना रहेको छ । तर, हालसम्म भने नेपाल सरकारले जारी गरेकै प्रमाणपत्र वितरण भइरहेको छ । नेपाली पाठ्यक्रम पनि विश्वव्यापी मान्यता प्राप्त नै रहेका छन् ।

जापानमा यस्ता विद्यालय अन्य देशहरूले पनि सञ्चालन गरेका छन् ?
मैले जानकारी पाएअनुसार ब्राजिललगायत अन्य केही समुदायका विद्यालय सञ्चालनमा छन् । यो विद्यालयमा स्थापनाकालमा जापानमा रहेका नेपाली अभिभावकले सहयोग गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्