छेकम्पारमा वैशाखभित्रै बीओपी स्थापना गर्ने तयारी «

छेकम्पारमा वैशाखभित्रै बीओपी स्थापना गर्ने तयारी

गोरखाको छेकम्पारमा आगामी वैशाखभित्रै सशस्त्र प्रहरी खटिने भएको छ । जिल्लाको उत्तरी भेगको दुईवटा मुख्य नाकामा सीमा सुरक्षा पोष्ट स्थापना गर्ने सरकारको निर्णय अनुसार सशस्त्र प्रहरीको टोली खटिने भएको हो ।
शसस्त्र प्रहरी बलले छेकम्पार र सामागाऊँमा बोर्डर अब्जर्भेसन पोष्ट अर्थात बिओपी स्थापना गर्न लागेको हो । सो क्रममा छेकम्पारमा बिओपीका लागि सम्भावित जग्गाको अवलोकन गरिएको सशस्त्र प्रहरी वल नम्वर २९ गुल्म गोरखाका प्रमुख डिएसपी राजेन्द्र अधिकारीले बताए । अधिकारीको नेतृत्वमा सशस्त्र प्रहरीका १७ जनाको टोलीले विओपी स्थापनाका लागि जग्गाको अध्ययनसँगै चीनसँगको सीमाको ३९ नम्वर पिलरको अनुगमन गरेर फर्किएको हो । टोलीमा प्रहरी चौकी सामागाऊँका असई डोलराज रानाभाट र चुमनुब्री गाउँकार्यपालिकाका सदस्य पेम्बा लामा पनि सहभागी थिए ।
‘बिओपीका लागि गाउँपालिकाले अहिले प्रस्ताव गरेको जग्गा भिरालो रहेछ,’ डिएसपि अधिकारीले भने, ‘पान्दुङ र छुले गाउँको विचमा पर्ने करीव ३० रोपनी जग्गा हेरेर आएका छौं ।’ गाउँपालिकाको प्रस्तावमा जिल्ला सुरक्षा समितिले उक्त जग्गा प्राप्तिका लागि गृह मन्त्रालयमार्फत प्रक्रिया अघि बढाउनेछ । जग्गा प्राप्त गरेर स्थायी संरचना नबनेसम्मका लागि स्थानीयको घर भाडामा लिएर सशस्त्र प्रहरी टोली खटाउने अधिकारीले जानकारी दिए । सशस्त्र प्रहरी सहितको टोलीले ३९ नम्वर पिलर सहित सीमा नाकाको पनि अनुगमन गरेको छ । विओपी राख्न प्रस्ताव गरिएको ठाउँबाट चीनसँगको सीमा नाकासम्म पुग्न करिब १२ घण्टा पैदलयात्रा गर्नुपर्छ । कोरोना संक्रमणका कारण चीनतर्फको नाका भने अहिले बन्द रहेको छ ।
गोरखाका दुई ठाउँमा बिओपी स्थापना गर्ने सशस्त्र प्रहरीको तयारी छ । यो आर्थिक वर्षभित्रै छेकम्पारमा पोष्ट स्थापना गर्ने र सामागाउँतर्फ लार्केवजारमा पोष्ट स्थापना गर्ने तयारी छ । लार्केवजार साम्दो गाउँबाट करिब १ घण्टाको पैदल दूरीमा रहेको छ । बोर्डर अब्जरभेसन पोष्टमा सामान्यतया इन्सपेक्टरको नेतृत्वमा ३५ देखि ५० जनासम्म सशस्त्र प्रहरी खटिनेछन् । सशस्त्र प्रहरी वलको गोरखास्थित गुल्मकै कमाण्डमा विओपीका लागि जनशक्ति परिचालन हुने डिएसपी अधिकारीले बताए ।
छेकम्पारमा बिओपी स्थापना गर्दा अहिंसाको नीति नियम कडा रुपमा पालना गर्न स्थानिय बासीन्दाले माग गरेका छन् । चुम स्याग्या संरक्षण समितिले गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र बुझाउँदै बिओपी राख्दा स्थानीय अहिंसा सम्बन्धी नीति नियम उल्लंघन हुन नदिन माग गरेको हो । चुम उपत्यका बिक्रम संवत १९७७ देखि स्याग्या(अहिंसा) क्षेत्र घोषणा भएको क्षेत्र हो । स्थनीयले बनाएको अहिंसासम्बन्धी छ वुँदे नीति नियम कडा रुपमा पालना गर्नुपर्ने माग राखिएको संरक्षण समितिका संरक्षक निमा लामाले बताए । अहिंसा क्षेत्रमा काटमार गर्न नपाइने, जंगली जनावरलाई धपाउन नपाइने, डँडेलो लगाउन नपाइने, मासु खाने प्रयोजनले पशुपंक्षी किनबेच तथा ओसारपसार गर्न नपाइने लगायतका नियम छ ।

प्रतिक्रिया दिनुहोस्