जसपाका नेता–कार्यकर्ता छुटाउन सरकार सकारात्मक छ : महतो

जनता समाजवादी पार्टी, नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले आफ्नो पार्टीका नेता, कार्यकर्ताको रिहाइका लागि गृहकार्य सकारात्मक रुपमा अगाडि बढेको बताएका छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै वरिष्ठ नेता महतोले प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा मुद्दा मामिलाको सन्दर्भमा गृहकार्य सकारात्मक रुपमा अगाडि बढेको बताएका हुन् ।
पहिले मुद्दा मामिलाको काम अगाडि बढेमा सत्ता समिकरण लगायतको विषयमा कुरा गर्ने उनले बताए । नेता, कार्यकर्ताको मुद्दा फिर्ता गर्न पार्टी भित्र एकमत भएको भन्दै उनले नेताहरुले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरे पनि निर्णय भने पार्टीले गर्ने बताए । जसपाका नेता लक्ष्मणलाल कर्णले प्रधानमन्त्री ओलीसँगको भेटमा आफ्ना मागहरुको विषयमा कुरा भएको बताए । माग पूरा गर्ने आश्वासन आएको भए पनि देखिने गरी काम नभएको उनले बताए । छलफलको क्रममा जसपाको सहयोग चाहिए काम गरेर देखाउनुपर्ने अनि मात्रै जसपाले निर्णय गर्ने बताएको नेता कर्णले बताए ।
नेकपा (एमाले) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जसपा र एमालेबीचको सम्बन्धमा कुनै शर्त नभएको बताए । रेशम चौधरीको रिहाइ, मधेस आन्दोनसँग सम्बन्धित विषयमा कुरा भएपनि सत्ता साझेदारीको विषयमा कुरा नउठेको उनले बताए । अहिलेसम्म जसपाको मागसँग सम्बन्धित भएर मात्रै कुरा भइरहेको उपनेता नेम्बाङले बताए । दुई पार्टीबीच राम्रो सम्बन्ध भयो भने सत्ता समिकरण हुनसक्ने पनि उनले बताए ।