मनिग्राम र इसेवा मनि ट्रान्सफरबीच सम्झौता «

मनिग्राम र इसेवा मनि ट्रान्सफरबीच सम्झौता

मनिग्राम इन्टरनेशनल र इसेवा मनि ट्रान्सफरबीच रेमिट्यान्स भुक्तानी सेवाका लागि सम्झौता भएको छ । सम्झौतासँगै मनिग्रामका दुई सयभन्दा बढी देशका सेवाग्राहीहरुले आफुले चाहेको बैंक खातामा तुरुन्तै रकम जम्मा गर्न सक्ने भएका छन् ।
निकट भविष्यमा मनिग्राम मार्फत् पठाएको नगद विप्रेषण इसेवा मनि ट्रान्सफरको देशभर रहेका आठ हजारभन्दा बढी एजेन्ट सञ्जालबाट भुक्तानी लिन सकिने इसेवाले जनाएको छ । छिटै नै मनिग्राम मार्फत इसेवा खाता (मोबाइल वालेट) मा पनि रकम पठाउने व्यवस्था गर्ने तयारी भइरहेको बताइएको छ ।
सम्झौताका आधारमा मनिग्राम र इसेवा मनि ट्रान्सफरले धेरै नेपालीहरुको बसोबास रहेका खाडी मुलुक अमेरिका, दक्षिण कोरिया, अष्टे«लिया, युरोप, बेलायतलगायत दुई सयभन्दा बढी मुलुकहरुका सेवाग्राहीहरुलाई रकम पठाउन सहज हुने कम्पनीले जनाएको छ ।
मनिग्रामसँगको सहकार्यले इसेवा मनि ट्रान्सफरलाई विश्वभर फैलिएर रहेको नेपाली आप्रवासीहरुको ठूलो समूहमा पुग्न मद्धत गर्ने र नेपालमा पैसा पठाउने भरपर्दो माध्यम बन्ने इसेवा मनि ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोइरालाले बताए ।
मनिग्राम इन्टरनेशनल अन्तरदेशीय विप्रेषण सेवाको क्षेत्रमा विश्वकै अग्रणी कम्पनी मानिन्छ । इसेवा मनि ट्रान्सफरले परम्परागत शैली तथा डिजिटल माध्यमबाट इसेवा वालेट प्रयोगकर्ताहरुको र ६५ भन्दा बढी बैंक खातामा विप्रेषण रकम भित्र्याउँदै आएको जनाएको छ ।
सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त इसेवा मनि ट्रान्सफर, देशभरका एक करोडभन्दा बढी जनसंख्या र एक लाख बढी संस्थाहरुलाई फिनटेकमा आधारित भक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको दावी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्