मकवानपुरका ज्येष्ठ पत्रकारलाई पेन्सन दिन सुरु «

मकवानपुरका ज्येष्ठ पत्रकारलाई पेन्सन दिन सुरु

हेटौंडा-नेपालमै पहिलोपटक ज्येष्ठ पत्रकारलाई पेन्सन दिन सुरु गरिएको छ । नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले ६० वर्ष उमेर पुगेका ज्येष्ठ पत्रकारलाई पेन्सन दिन सुरु गरेको हो ।
महासंघ मकवानपुर शाखाले ज्येष्ठ पत्रकार पेन्सन कोषको स्थापना गरी ज्येष्ठ पत्रकारलाई पेन्सन दिन थालेको हो । हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले ज्येष्ठ पत्रकार नवराज तिमल्सिनालाई ज्येष्ठ पत्रकार पेन्सनबापत पाउने फागुन महिनाको ४ हजार रुपैयाँको चेक हस्तान्तरण गर्दै पेन्सन दिने कार्यको सुरुवात गरेका हुन् । शर्माले चैत अबदेखि मासिक रूपमा ४ हजार रुपैयाँ ज्येष्ठ पत्रकार पेन्सन बुझ्नेछन् ।
करिब ४० वर्षसम्म पत्रकारिता गरेका पत्रकार महासंघ मकवानपुरका पूर्वअध्यक्षसमेत रहेका शर्माले निवृत जीवन बिताइरहेका छन् । २० वर्षसम्म पत्रकारितालाई मुख्य पेशा बनाई काम गरेका ६० वर्ष उमेर पुगेका जेष्ठ पत्रकारलाई महासंघले पेन्सन दिन सुरु गरेको हो । पेन्सन कोषमा १० लाख रुपैयाँ यसअघि हेटौंडा उपमहानगरपालिकाले सहयोग गरेको थियो । उक्त कोषको ब्याज रकमबाट पेन्सन उपलब्ध गराइनेछ । अन्य व्यक्ति तथा संघ–संस्थाबाट पनि पेन्सन कोषमा रकम जम्मा हुने क्रममा रहेको छ ।
पेन्सनसम्बन्धी कार्यविधिलाई महासंघको बितेको मंसिर २६ गतेको साधारणसभाले पारित गरेको हो । ज्येष्ठ पत्रकार पेन्सन कार्यक्रम लागू भएपछि कोषबाट व्यय हुने गरी मासिक रूपमा चार हजार रुपैयाँ प्रदान गरिने र कोषमा रकम वृद्धि भएसँगै पेन्सन रकम पनि वृद्धि हुने महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईंले जानकारी दिए ।
कोषमा धेरै रकम जम्मा नहुने र पेन्सन लिने जेष्ठ पत्रकार बढ्दै गएमा पेन्सन वितरणको रकम पनि घटाउने गरी कार्यविधि निर्माण गरिएको छ । राज्यबाट उपलब्ध हुने अन्य कुनै सामाजिक सुरक्षा भत्ता वा नेपाल सरकार, प्रदेश सरकार, वा स्थानीय तहबाट कुनैपनि संघ संस्था, गैर सरकारी संस्थाबाट सेवा सुविधा प्राप्त हुने पदमा बहाल रहेको भए त्यस्ता निवृत्त पत्रकारलाई भने मासिक पेन्सन उपलब्ध नहुने अध्यक्ष हुमागाईंले बताए ।
जेष्ठ पत्रकार मासिक पेन्सन प्राप्त गर्नको लागि पेन्सन प्राप्त गर्नेको निवेदन र कागजपत्रका आधारमा सिफारिस गरिने कार्यविधिमा उल्लेख छ । सिफारिसका लागि पत्रकार महासंघ मकवानपुरको निवर्तमान अध्यक्ष संयोजक, पत्रकार महासंघ मकवानपुर शाखाको पुर्ब अध्यक्षहरु मध्येबाट एक जना सदस्य र महासंघ मकवानपुर शाखाले सिफारिस गरेका एक जना महिला सहित अरू दुई जना सदस्यको समिति रहनेछ ।
पेन्सन प्राप्त गर्नका लागि पत्रकार महासंघ मकवानपुर शाखाको सदस्य भएको हुनुपर्ने, ६० वर्ष उमेर पूरा भएको हुनुपर्ने, निरन्तर बीस वर्ष पत्रकारीतालाई मुख्य पेसा बनाएर सञ्चार क्षेत्रमा कार्य गरेको हुनुपर्ने, कुनै पनि सरकारी संस्था, गैरसरकारी र कम्पनिमा काम गरेर नियमित सरकारी पेन्सन रकम नलिएको, उपदान रकम नलिएको हुनुपर्ने र ६० वर्ष उमेरपछी सक्रिय पत्रकारिता छोडेर बिश्राम लिएको हुनुपर्ने कार्यविधिमा उल्लेख छ ।
पेन्सन कोषको उद्घाटन कार्यक्रममा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले महासंघको संस्थागत विकासका लागि थप सहयोग गर्न तयार रहेको बताए । पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष प्रताप विष्टले नेपालमै पहिलो पटक मकवानपुरबाट पत्रकारलाई पेन्सन वितरण सुरु भएको भन्दै खुसी व्यक्त गरे । अब अन्य जिल्ला र केन्द्रीय समितिले पनि पेन्सन वितरणको काम सुरु गर्नुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्