Logo

१० वर्षदेखि बसपार्क अलपत्र

गुल्मीमा १० वर्षदेखि बसपार्क भवन अलपत्र परेको छ । जिल्लाको सदरमुकाम तम्घासमा रहेको उदिनढुङ्गा बसपार्कको आधार निर्माण भएको १० वर्ष पूरा भए पनि अहिलेसम्म हिउँदमा धुलाम्ये र वर्षात्मा हिलाम्ये हुने गरेको छ ।
रेसुङ्गा नगरपालिका–२ उदिनढुङ्गामा रहेको बसपार्क कच्चीसँगै अव्यवस्थित हँुदा यहाँका नागरिक र व्यवसायीले सास्ती खेपिरहेको स्थानीय वसन्त श्रेष्ठले बताए । “बसपार्क पहिलेदेखि नै अलपत्र अवस्थामा छ ।” स्थानीय श्रेष्ठले भने, “बसपार्कका लागि बन्न सुरु भएको बसपार्क भवन पनि अहिले अलपत्र छ ।”
५ वर्षअघि सहरी विकास तथा भवन डिभिजन कार्यालय पाल्पाले निर्माण सुरु गरेको बसपार्कको प्रशासनिक भवनलगायतका संरचनाको निर्माण सुरु भए पनि अहिले उक्त काम अलपत्र परेको हो । अलपत्र अवस्थामा रहेको भवनमा अहिले बिग्रेका गाडी राख्ने, गाई गोरु ओत लाग्ने, सडक बालबालिका सुत्ने र दिसापिसाब गर्ने गरेकाले दुर्गन्धित बन्दै गएको छ । “बसपार्क अलपत्र हुँदा तम्घास बजारको सौन्दर्यता समेत कुरुप बन्दै गएको छ ।” यातायात व्यवसायी माधव विष्टले भने, “पानी परे हिलो र घाम लागे धुलोले बसपार्क झर्ने यात्रु तथा बसपार्क नजिक घर भएका पीडित बन्दै गइरहेका छन् ।”
उदिनढुङ्गा बसपार्कको आधा भाग अलपत्र भवनले ओगटेको छ । त्यसलाई स्थानीय र व्यवसायीले गलत डिजाइन भन्दै आएका छन् । त्यस्तै जथाभावी पार्किङ, ग्यारेज र यात्रुको फोहरले बसपार्क दैनिक प्रदूषित र साँघुरो बन्दै गएको टिकट काउन्टर सञ्चालक वसन्त श्रेष्ठले बताए ।
बसपार्क भवन र अन्य संरचना निर्माणका लागि ०७२ सालमा सहरी विकास तथा भवन डिभिजन कार्यालय पाल्पाले ४ करोड ५१ लाखको स्टिमेट गरेको थियो । भवनको स्टिमेटमा शौचालय, प्रहरी बिट, टिकट काउन्टरलगायतका कोठाको डिजाइन पनि गरिएको छ । ०७३ सालमा ६० लाखको मात्र टेण्डर गरेर काम पनि भएको छ । त्यसपछि कार्यालयले ०७४ को वैशाखमा ३ करोडको टेन्डर आह्वान ग¥यो । तर अन्तिममा सोही कार्यालयले मूल्याकंन नगरिदिएकाले भवन अलपत्र परेको बसपार्क व्यवस्थापन समितिले जनाएको छ । ०७६ को वैशाखमा ६० लाख विनियोजन भए पनि टेन्डर गर्ने समय पुगेन । बसपार्क व्यवस्थापन समितिले काम नगरेपछि ६० लाख फ्रिज भएर गएको स्थानीय बताउँछन् । पछिल्लो समय ५ लाखमात्रै विनियोजन भएकाले बसपार्कमा सामान्य ग्राभेलको काम गरिएको छ । भवनको डीपीआरदेखि ६० लाखको काम गर्ने कार्यालय सहरी विकास तथा भवन डिभिजन कार्यालय पाल्पा भए पनि अहिले त्यो जिम्मेवारी सहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन इकाई, रुपन्देहीमा सरेको छ । पाल्पाले सकेसम्म सबै कागजपत्र रुपन्देही पठाएको र आफू मातहत केही छैन भनेर उम्कने गरेको छ ।
बसपार्कको भवन रहेको रेसुङ्गा नगरपालिकासँग बसपार्क व्यवस्थापनका लागि बजेट नभएको रेसुङ्गा नगरपालिकाका प्रमुख डिल्लीराज भुसालले बताए । “हामीले नगरबाट बजेट विनियोजन गर्न सकेनौं,” नगरप्रमुख भुसालले भने, “संघीय कार्यालयबाट बजेट विनियोजन भएमा हामी कार्यान्वयन गर्छौं ।”

प्रतिक्रिया दिनुहोस्