Logo

विद्युतीय हस्ताक्षर सम्बन्धमा धितोपत्र दलाल व्यवसायीलाई जानकारी

काठमाडौं-धितोपत्र बजारमा सूचना प्रविधिको प्रयोग उच्च रहने भएकाले बोर्डको आव ०७५/७६ को वार्षिक कार्यक्रमअन्तर्गत बोर्डको सूचना प्रविधि नीति, २०७५ तर्जुमा गरी कार्यान्वयन गर्ने र बजार सहभागीका काम कारबाही तथा गतिविधिलाई क्रमशः विद्युतीय बनाउँदै लैजान आवश्यक व्यवस्था गर्ने कार्यक्रम रहेको परिपे्रक्ष्यमा विद्युतीय हस्ताक्षरको अवाश्यकता र यसका विविध आयामहरू सम्बन्धमा सम्पूर्ण धितोपत्र दलाल व्यवसायीहरूलाई बुधबार बोर्डबाट नेपाल सट्र्रिफाइङ कम्पनी प्रालिसँगको सहकार्यमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो ।
उक्त कार्यक्रममा नेपाल सट्र्रिफाइङ कम्पनीका तर्फबाट निर्देशक दीपक भण्डारीले विद्युतीय हस्ताक्षरको आवश्यकता, यसको महत्व, विशेषता, फाइदा, प्रयोग गर्ने तरिका, धितोपत्र बजारमा ग्राहक परिचय विवरण, खरिद बिक्री आदेश तथा धितोपत्र दलाल व्यवसायीहरूले बोर्डमा पेस गर्नुपर्ने विवरणमा विद्युतीय हस्ताक्षर प्रयोग गर्न सकिने जस्ता विषयवस्तुहरू समेटिएको प्रस्तुतीकरण गरेका थ्एि । साथै कम्पनीका सह–अध्यक्ष विप्लवमान सिंहले नेपाल सरकारले विद्युतीय हस्ताक्षरलाई अगाडि बढाउने नीति लिएकोमा नेपाल सरकारका विभिन्न निकायहरूबाट विद्युतीय हस्ताक्षर लिने कार्य यसै आवदेखि सुरुवात भएको समेत जानकारी गराए ।
उक्त कार्यक्रममा सुरुवात गर्दै बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले बोर्डको यो वर्षको कार्यक्रममा सूचना प्रविधि नीति तर्जुमा भई कार्यान्वयनमा ल्याउने क्रममा रहेको साथै बजार सहभागीहरूका गतिविधिहरूलाई विद्युतीय बनाउँदै लैजाने कार्यक्रम राखेको सन्दर्भमा यो अन्तरक्रिया कार्यक्रम आयोजना निकै महत्वपूर्ण रहेको तथा बोर्डबाट आगामी दिनमा नेपाल स्टक एक्सचेञ्ज, सीडीएससी, क्रेडिट रेटिङ संस्था तथा मर्चेन्ट बैंकरहरूलाई समेत यससम्बन्धी जानकारी दिने कार्यक्रम रहेको बताए । त्यसैगरी विद्युतीय कारोबार ऐन कार्यान्वयनमा आए यसमार्फत हुने कारोबारलाई विश्वसनीय, कानुन सम्मत र सुरक्षित बनाउन विद्युतीय हस्ताक्षरको प्रयोगको सुरुवात गर्नु आवश्यक देखिनुका साथै धितोपत्र तथा वस्तु विनियम बजारमा प्रविधिको उच्चतम प्रयोग हुने हुनाले विस्तारै यसको प्रयोगको दिशामा धितोपत्र व्यवसायी लाग्नुपर्ने र बोर्ड सोही दिशामा अगाडि बढने धारणासमेत व्यक्त गरे ।
साथै सम्पूर्ण धितोपत्र दलाल व्यवसायी तथा बोर्डका कर्मचारीहरूको सहभागिता रहेको उक्त कार्यक्रममा सहभागीहरूले विद्युतीय हस्ताक्षरको सुरक्षा तथा यसको पूर्वाधार सम्बन्धमा जिज्ञासा राख्दै सक्रिय सहभागिता जनाएका थिए । सो कार्यक्रममा विद्युतीय हस्ताक्षरसम्बन्धी जानकारी गराउननु हुने विज्ञ तथा अन्य सहभागीहरूलाई बोर्डका कार्यकारी निर्देशक परिष्टनाथ पौड्यालले धन्यवाद ज्ञापन गरेका थिए भने कार्यक्रमको सञ्चालन बोर्डका निर्देशक नारायणप्रसाद शर्माले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्