रुकुमको अब्बल त्रिभुवन जनता मावि «

रुकुमको अब्बल त्रिभुवन जनता मावि

लामो प्रतीक्षापछि रुकुम पश्चिममा पहिलो पटक सिभिल ओभरसियरको ३ वर्षे पढाइ सुरु भएको छ । विद्यालयमा एक शैक्षिक सत्रमा ४८ जनासम्म विद्यार्थी पढ्न पाउने भएका छन् । यसअघि रुकुमसँगै छिमेकी जिल्लाहरू सल्यान र जाजरकोटसम्म पनि यो कक्षा थिएन । देशका मुख्य सहर र राजधानीमा गएर पढ्नुपर्ने विद्यार्थीहरू अब आफ्नै घरको आँटोपिठो खाएर सिभिल ओभरसियरको पढाइ गर्न सक्छन् ।

हरिप्रसाद खनाल
प्राचार्य, त्रिभुवन जनता मावि
मेगराज खड्का
रुकुम पश्चिम सदरमुकाम खलंगास्थित त्रिभुवन जनता मावि रुकुमको पहिलो विद्यालय हो । वि.सं. २००९ सालमा प्राथमिक विद्यालयको रुपमा स्थापना भएको यस विद्यालयले लामो उज्जवलमय शैक्षिक यात्रा पार गर्दै ६६ औं वर्षमा समेत पुगिसकेको छ ।
संस्कृत भाषा पाठशाला हुँदै २००७ सालमा नेपालमा प्रजातन्त्रको आगमनपछि देशमा आएको शैक्षिक लहरको परिणाम स्वरुव सर्वसाधारण नागरिकलाई चेतनशील बनाई देश विकासमा अग्रसर वनाउने ध्येयका साथ वि.सं. २००९ साल असोज १ गते प्राथमिक विद्यालय र २०११ सालमा अपर प्राइमरीको रुपमा पाठनपाठन भएको पाइन्छ ।
त्यस्तै २०१६ सालमा निमावि, २०२१ सालमा मावि र २०५४ सालमा उमाविको रुपमा स्थापित भएको विद्यालयले शैक्षिक उपलव्धी हासिल गर्ने क्रममा २०७५ देखि सिभिल इन्जिनीयर डिप्लोमा तहको पठनपाठन शुरुवात गरेको छ । यस विद्यालयबाट वि.सं. २०२१ साल देखि २०७४ सालको एसईई परीक्षासम्म नियमित समूहबाट ३४ सय ५ जना छात्रछात्राहरूले उत्तीर्ण गरी सकेका छन् ।

जिल्लामै प्राविधिक शिक्षा
रुकुममा पहिलो पटक ३ वर्षे सिभिल ओभरसियरमा पढाई संचालन गरिएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिईभिटि) ले यस शैक्षिक सत्रदेखि सदरमुकाम मुसिकोटमा रहेको त्रिभुवन जनता माविलाई सिभिल ओभरसियरको कक्षा संचालन गर्न अनुमति दिएको हो ।
लामो प्रतिक्षापछि रुकुम पश्चिम जिल्लामै पहिलो पटक सिभिल ओभरसियरको ३ वर्षे पढाई भएको विद्यालयका प्राचार्य हरिप्रसाद खनालले जानकारी दिए । उनका अनुसार विद्यालयले अब विद्यालयमा एक शैक्षिक सत्रमा बढीमा ४८ जनासम्म विद्यार्थीहरू पढ्न पाउने भएका छन् । “रुकुमेली विद्यार्थीहरूको लागि यो खुसीको कुरा हो । यसअघि रुकुमसँगै छिमेकी जिल्लाहरू सल्यान र जाजरकोटसम्म पनि यो कक्षा थिएन,” उनले भने, “देशका मुख्य सहर र राजधानीमा गएर पढ्नुपर्ने विद्यार्थीहरू अब आफ्नै आँटोपिठो खाएर सिभिल ओभरसियरको पढाई गर्न सक्छन् ।”

भौतिक सम्पत्तिमा पनि बलियो
विद्यालयको नाममा हाल १४ हजार ८१ वर्गमिटर जग्गा छ । त्यस्तै निर्माणाधीन समेत गरेर १० वटा भवन रहेका छन् । विज्ञान प्रयोगशाला, इन्जिनीयरिङ प्रयोगशाला, इन्जिनीयरिङ कार्यशाला, परीक्षा फाँट र पुस्तकालय समेत व्यवस्थित छ । पुस्तकालयमा ४ हजार ५ सय बढी पुस्तक तथा राष्ट्रिय पत्रपत्रिका समेत छन् ।
भारतीय राजदूतावासको आर्थिक सहयोगमा जिल्ला समन्वय समिति रुकुमको अनुगमनमा १३ कोठे भवन समेत निर्माणाधीन अवस्थामा छ । त्यस्तै वैकल्पिक उर्जा प्रर्वद्धन केन्द्र खुमलटारको अनुदानमा २ किलोवाटको सोलार जडान गरिएको छ । वल्र्डलिंकबाट विद्यालयमा फ्रि वाईफाई जोनको व्यवस्था गरिएको छ । विद्यालयको आन्तरिक श्रोतबाट २१ थान कम्प्युटरसहित कम्प्युटर ल्यावको व्यवस्था समेत गरिएको छ ।

१२ सय विद्यार्थी
जिल्लाकै पहिलो र नमुना विद्यालयको रुपमा रहेको विद्यालयमा हाल करिब १२ सय विद्यार्थी अध्ययनरत रहेका छन् । जसमा ५ सय ८३ जना छात्रा र ६ सय १२ जना जना छात्र रहेका छन् । विद्यालयमा करिब ४० जना शिक्षक छन् । नेपाल सरकार र विद्यालयको आन्तरिक श्रोतवाट विद्यालय व्यवस्थापन समितिको निर्णयानुसार दलित, अपांग, गरिब तथा जेहेन्दार छात्रवृत्ति वितरण गरिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्