यातायात कार्यालयका २९ बिचौलिया पक्राउ सार्वजनिक मुद्दा लगाउने तया

पोखराका दुईवटा यातायात कार्यालयबाट बिचौलियाको काम गर्ने गरेका २९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
यातयात कार्यालयमा आउने सेवाग्राहीहरूलाई अनेकौं प्रलोभन देखाई रकम असुल्ने तथा अनावश्यक होहल्ला गरेको भन्दै प्रहरीले २९ जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा राखेको छ । पक्राउ पर्नेमा अधिकांश महिला रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्की, जिल्ला प्रशासन कार्यालय कास्की तथा यातायात व्यवस्था कार्यालय पोखरा, यातायात व्यवस्था कार्यालय लाइसेन्स वितरण शाखा कार्यालय पोखराको समन्वयमा सेवाग्राहीलाई अनावश्यक दुखःदिने तथा सेवाग्राहीले सहज ढंगले गर्न सक्ने काममा पनि तछाडमछाड गर्दै प्रभाव पार्ने बिचौलियाहरूलाई प्रहरीले गिरफ्तार गरेको हो । बिचौलियाका कारण कार्यालयमा अनावश्यक हो–हल्ला भएको भन्दै प्रहरीले उनीहरूलाई पक्राउ गरेको कास्की प्रहरी प्रवक्ता खड्ग बहादुर खत्रीले बताए ।
पोखराको पृथ्वीचोकस्थित यातायात व्यवस्था कार्यालय, सवारी दर्ता तथा नवीकरण कार्यालयबाट १९ जना पोखरा लेखनाथ महानगरपालिका–१७ यातायात व्यवस्था कार्यालय ड्यामसाइड पोखरा ( लाइेसन्स शाखा ) बाट १० जना गरी जम्मा २९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरूले शंकास्पद गतिविधि गरिरहेको आरोपमा पक्राउ गरेकाले उनीहरूलाई जिल्ला प्रहरी कार्यालयमै नियन्त्रणमा राखिएको डिएसपी खत्रीले बताए ।
आवश्यक अनुसन्धानका लागि केही सार्वजनिक अपराध तथा सजाय ऐन २०२७ बमोजिम जिल्ला प्रशासन कार्यालय कास्कीबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको उनले जनाए । पक्राउ पर्नेहरूमा मिलन पौडेल, शारदा शर्मा, लक्ष्मी पौडेल, पूजा पौडेल, सीता भुजेल, सानुमाया गुरुङ, कृष्ण थापा, भक्तिनाथ पौडेल, सञ्जु पौडेल, महेन्द्र गौतम, तुलसी अधिकारी, अञ्जना पौडेल, लक्ष्मी तिमिल्सिना, सुशीला बराल, प्रभा शर्मा, स्वेता पौडेल, मिना केसी, कल्पना थापा, अप्सरा भण्डारी, सरिता थापा, लिला जिसी, कमला दाहाल, वसन्ती अधिकारी, सरिता भुजेल, विनोद सुवेदी, सम्मर बहादुर खवास, सम्मर बहादुर कुंवर, दुर्गा कार्की, लक्ष्मण बस्नेत रहेका छन् ।