सुदूरपश्चिममा एक अर्बको युवा स्वरोजगार कार्यक्रम «

सुदूरपश्चिममा एक अर्बको युवा स्वरोजगार कार्यक्रम

अछाम-सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले युवा पलायन रोक्दै युवालाई स्वरोजगार बनाउन १ अर्ब रूपैयाँको युवा स्वरोजगार कोष प्रदेश बजेटमै व्यवस्था गरिएको बताएका छन् । प्रेस संगठन अछामले साँफेबगरमा गरेको पत्रकार सम्मेलनमा मन्त्री बोहराले माघ मसान्तभित्र शैक्षिक प्रमाणपत्र धितो राखेर सहुलियत ब्याजमा ऋण दिने व्यवस्था गर्न लागेको जानकारी दिए ।
सुदूरपश्चिम प्रदेशमा रोजगारीको लागि भारत जाने प्रचलन बढी भएकाले युवालाई लक्षित गरी यो कार्यक्रम ल्याउन लागिएको उनको भनाइ छ । प्रदेश सरकारले कृषिका लागि विभिन्न खेतीको पकेट क्षेत्र, पर्यटन विकास, शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधारलाई विशेष प्राथमिकतामा राखेर बजेट व्यवस्थापन गरी कार्यान्वयनको चरणमा रहेको उनले बताए । मन्त्री बोहराले प्रदेश सरकारले चालू आर्थिक वर्षको पहिलो ४ महिनामा २१ करोड रूपैयाँ राजस्व संकलन गर्न सफल भएको बताए । “अन्य प्रदेशको तुलनामा सुदूरपश्चिम प्रदेश सरकारले उल्लेख्य राजस्व संकलन गरेको छ,” उनले भने, “यो २१ करोड सवारीसाधन कर र घरजग्गा रजिस्ट्रेसन कर वापत संकलन भएको कर मात्रै हो ।”
सञ्चारकर्मीहरूको जिज्ञासामा मन्त्री बोहराले ९ वटै जिल्लामा प्रादेशिक गौरवका सडकमा विशेष जोड दिएर कार्यविधि तथा मापदण्ड बनाइरहेको बताए । सुर्खेत बड्डीचौर हुँदै जंगलघाट र मेल्लेख बाजुरा सडक, रामारोशन हँुदै रारा, सेती लोकमार्गलगायतका सडकहरूलाई विशेष रूपमा अघि बढाइएको उनले उल्लेख गरे ।
मन्त्री बोहराले प्रदेश लोकसेवा आयोग र प्रदेश प्रहरीको लागि कानुन र कार्यविधि बन्नेवित्तिकै स्थानीय तहमा कर्मचारी व्यवस्थापन गरिने बताए । संघीय सरकारबाट कार्यविधि प्राप्त हुनेबित्तिकै सबै स्थानीय तह र प्रदेश मातहतका निकायमा कर्मचारी खटनपटन गराइने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्