व्यापार घाटा बढ्ने क्रम रोकिन्न «

व्यापार घाटा बढ्ने क्रम रोकिन्न

सरकारको नीतिले व्यापार घाटा घटेको नभई आयात असहजताका कारण आयात घटेकाले फेरि आयात सहज हुनासाथ व्यापार घाटा बढ्न थालेको हो ।

कोरोनाको कहर अलि कम हुँदै जाँदा मुलुकमा आयात बढ्दै गएको छ । आयात बढेसँगै त्यही अनुपातमा निर्यात बढ्न नसक्दा व्यापार घाटा पनि बढ्न थालेको छ । पछिल्लो तथ्यांक हेर्ने हो भने पनि एक महिनामै सवा खर्बले व्यापार घाटा भएको छ । भन्सार विभागको तथ्यांकअनुसार एक महिनाको अवधिमा १ खर्ब २९ अर्ब ४८ करोड ३२ लाख ७७ हजार व्यापार घाटा भएको छ । समग्रमा चालू आवको फागुनसम्म व्यापार घाटा बढेर ८ खर्ब ६३ अर्ब २० करोड ९३ लाख ८९ हजार पुगेको हो । चालू आवकै माघ महिनासम्म व्यापार घाटा ७ खर्ब ३३ अर्ब ७२ करोड ११ लाख २ हजार रुपैयाँ थियो । अर्थात् आयात बढ्दै गएकाले व्यापार घाटा पनि बढ्दै गएको छ । यस अघि सरकारको नीतिले व्यापार घाटा घटेको नभई आयात असहजताका कारण आयात घटेकाले फेरि आयात सहज हुनासाथ व्यापार घाटा बढ्न थालेको हो । त्यसैले तथ्यांकमा भन्दा सरकारको नीतिमा व्यापार घाटा घटाउने जोड हुनुपर्छ ।
कुनै एक महिनामा कुनै कारणवश आयात घट्दा व्यापार घाटा पनि घट्यो भनेर प्रचार गर्नु मुर्खताबाहेक केही पनि होइन । तर, त्यही मुर्खता सरकारले पछिल्ला धेरै महिनादेखि गर्दै आइरहेको छ । फागुन महिनामा पेट्रोल, डिजेल, मोबाइल, खाना पकाउने एलपी ग्यास, भटमासको कच्चा पदार्थको आयात बढेकाले व्यापार घाटा बढेको देखिन्छ । किनकि निर्यात बढ्न सकेको छैन । नेपालमा उत्पादन बढ्न सकेको छैन र रोजगारी पनि सिर्जना हुन सकेको छैन भने कसरी आयात घट्छ । विभागको तथ्यांकअनुसार फागुनसम्म ८० अर्ब ७७ करोड ८८ लाख ६१ हजार रुपैयाँको निर्यात भएको छ । गत वर्ष फागुनसम्ममा ७४ अर्ब ९० करोड ७९ लाख ४६ हजार रुपैयाँको निर्यात भएकोमा चालू आवको फागुनसम्ममा जम्मा ६ अर्बमात्र बढेको हो ।
नेपालको आयात घट्नु तथा बढ्नुमा सबैभन्दा ठूलो योगदान पेट्रोलियम पदार्थको हुन्छ । समग्र पेट्रोलियम पदार्थको आयात २ खर्बको हाराहारी गर्ने मुलुकको समग्र निर्यात पनि १ खर्ब पुगेको छैन । त्यसैले पपुलिस्ट कुरा गर्न छोडेर उत्पादन वृद्धितर्फ नलागे यो स्थितिमा परिवर्तन आउनेछैन । नेपालले आठ महिनामा धेरै आयात गरेको वस्तुमा मोबाइल पनि पर्छ । तथ्यांकअनुसार आठ महिनामा २६ अर्ब ३० करोड रुपैयाँको मोबाइल आयात भएको छ । जुन गत आर्थिक वर्षको फागुन मसान्तसम्ममा जम्मा १४ अर्ब ३७ करोड रुपैयाँको मात्र आयात भएको थियो । त्यसपछि फागुनसम्ममा २५ अर्ब २ करोड रुपैयाँको भटमासको कच्चा पदार्थ आयात भएको छ । तर, विभागका अनुसार नेपालबाट निर्यात भएका वस्तुमध्ये सबैभन्दा अगाडि भटमास तेल छ । कच्चा पदार्थका रूपमा आयातित भटमास रिफाइन गरेर पुनः भारत निर्यात हुन्छ । आठ महिनामा २३ अर्ब १२ करोडको भटमास तेल निर्यात भएको विभागको तथ्यांकले देखाएको छ । भटमास तेल निर्यात पनि नेपालको आफ्नै कच्चा पदार्थमा आधारित निर्यात होइन ।
तर पनि गत आवको पहिलो आठ महिनामा ७ अर्ब ५२ करोड रुपैयाँको निर्यात भएकोमा चालू आवको आठ महिनामा तीन गुनाभन्दा बढी निर्यात हुनु ठीकै मान्न सकिएला । यस्ता नेपालबाट निर्यात गर्दा महसुल नलाग्ने अन्य मुलुकबाट नेपाल आयात गर्दा पनि थोरै भन्सार लाग्ने कारणले फस्टाएका उद्योगको दीर्घकालीन अस्तित्वमा सधैं प्रश्न रहिरहन्छ । नेपाल सरकारको भन्दा पनि भारत सरकारको नीतिका कारण फस्टाएका उद्योग पहिला पनि टिकाउ भएका थिएनन् । तर, राम्रो कुरा के हो भने नेपालबाट अलैंचीको निर्यात बढेको छ । सरकारले निर्यातमुखी नीति लिए अलैंची र चियाजस्ता वस्तुले नेपाल दीर्घकालीन निर्यात बढाउन सक्छ ।

प्रतिक्रिया दिनुहोस्