बजेट विनियोजनको आधार तथा योजनाबारे छलफल गर्न माग «

बजेट विनियोजनको आधार तथा योजनाबारे छलफल गर्न माग


सांसदहरुले आगामी आर्थिक वर्षका लागि बजेट विनियोजनको आधार तथा योजनाबारे अर्थमन्त्रालयसँग छलफल गर्न माग गरेका छन् ।
संघीय संसद प्रतिनिधिसभाअन्र्तगतको अर्थसमितिको आइतबारको बैठकमा सांसदहरुले बजेट बाँडफाँड र योजना तर्जुमामा विगतमा जस्तै पुरानै समस्या अहिले पनि रहेको भन्दै त्यसबारे छलफल गर्न सुझाएका हुन् । उनीहरुले बजेट प्रणालीलाई बलियो बनाउने गरी भिन्न अभ्यासको सुरुवात नगर्ने हो भने विगतमा जस्तै समस्या पुनः दोहोरिने भन्दै तत्काल सोबारे आवश्यक जानकारी मन्त्रालयसँग माग्नुपर्ने धारणा राखे । केही सांसदहरुले बजेट ल्याउनुअघि सातै प्रदेशमा स्थलगत अध्ययन भ्रमण गरेर बजेट बाँडफाँड र योजना तर्जुमामा सरकारलाई सुझाव दिनुपर्ने बताएका छन् ।
पूर्व अर्थमन्त्री बाबुराम भट्टराईले बजेट निर्माणको अन्तिम समयमा सुझाव दिएर त्यसको खास प्रभाव नदेखिने भएकाले बजेट बाँडफाँडमा अवलम्बन गरिने राष्ट्रिय नीति र योजनाको संरचनामा छलफल गर्नुपर्ने बताए । उनले स्थलगत भ्रमण गर्नु राम्रो कुरा भएपनि बेलैमा सुझाव दिनुपर्ने तर्फ पनि समितिको ध्यानाकर्षण गराए ।
पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले सरकारले नै बजेट प्रणालीलाई कमजोर बनाएको बताए । उनले बजेट बाँडफाँडको अधिकार लिएका मान्छेबाट नै त्यसलाई कमजोर बनाउने काम भएको टिप्पणी गरे । सबैलाई छर्ने ढंगले सरकारले बजेट ल्याउने गरेकाले बजेट बाँडफाँड तथा योजना प्राथमिकिकरणमा सधैं समस्या देखिने गरेको उनले बताए ।
केही सांसदहरुले भने क्षेत्रगत आवश्यकता र योजनाको प्राथमिकीकरण गर्नका लागि भौगोलिकता र क्षेत्रिय बनौट अनुसार प्राथमिकता दिनुपर्ने विषयलाई पूर्व तयारी गरेर अध्ययन भ्रमणमा जानुपर्ने सुझाव दिएका छन् । सांसद रामबाबुकुमार यादवले वर्तमान राजनीतिक अवस्थामा कुन बेला के हुन्छ भन्ने अनिश्चित भएका बेला समितिका कामहरुलाई तीव्रताका साथ सम्पादन गर्नुपर्ने बताए । उनले मधेसमा हुलाकी राजमार्ग, निजगढ विमानस्थल, दु्रत मार्गलगायतको प्रगति समिक्षा गरेर सरकारलाई आवश्यक सुझाव र निर्देशन दिनुपर्ने बताए ।
त्यसैगरी मेटमणी चौधरी, प्रमिला राई र सरावत आराखानमले क्षेत्र पहिचान गरी क्षेत्रिय समस्याका बारेमा पूर्व जानकारी लिएर तयारीका साथ भ्रमण अनुगमन गर्नुपर्ने सुझाव दिए । उनीहरुले समितिले बिमा सम्बन्धी विधेयकलगायत विधेयकलाई पनि छलफल गरी टुंगोमा पु¥याउनुपर्नेमा जोड दिए ।
समिति सभापति कृष्णप्रसाद दाहालले बजेट पूर्व सातै प्रदेशको अध्ययन भ्रमण गरी संभाव्यता र आवश्यकताका आधारमा बजेट र योजना तर्जुमा गर्न अर्थमन्त्रालयलाई सुझाव दिने गरी अध्ययन भ्रमण जाने प्रस्ताव राखेका थिए । केही सांसदहरुले अध्ययन भ्रमणमा जानु राम्रो कुरा भएपनि पहिला विधेयक निर्माण प्रक्रियालाई टुंगो लगाएर मात्रै अन्य काममा हात हाल्नुपर्ने सुझाव दिएका थिए । उनीहरुले बिमा सम्बन्धी विधेयकलाई टुंगोमा पु¥याउनुपर्नेमा जोड पनि दिए ।

प्रतिक्रिया दिनुहोस्