ललितपुरका दुई संघ एकीकरण हुने «

ललितपुरका दुई संघ एकीकरण हुने


ललितपुर जिल्लाका दुईवटा विषयगत जिल्ला सहकारी संघ एकीकरण हुने भएका छन् । जिल्ला कृषि सहकारी संघ र जिल्ला च्याउ उत्पादक सहकारी संघले शनिबार ललितपुरमा ‘सहकारी संघ एकीकरण कार्यशाला गोष्ठी’ गर्दै एकीकरणबारे औपचारिक जानकारी दिएका हुन् ।
जिल्ला कृषि सहकारी संघ ललितपुरका अध्यक्ष ओमदेवी मल्ल र जिल्ला च्याउ उत्पादक संघ ललितपुरका अध्यक्ष कमलराज दाहालले संयुक्त रूपमा गोष्ठीको अध्यक्षता गरी एकीकरणको सन्देश दिएका थिए । गोष्ठी नै एकीकरणका लागि भेलासमेत रहेको बताइएको छ ।
राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष तथा आईसिए ग्लोबल बोर्ड मेम्बर समेत रहेकी जिल्ला कृषि सहकारी संघ ललितपुरका अध्यक्ष मल्लले मन्त्रालय र राष्ट्रिय सहकारी महासंघले संघहरूको व्यावसायिक स्थायित्व एवम् दिगोपनका लागि एकीकरणमा जोड दिएको जानकारी दिइन् । महासंघ एवम् केन्द्रीय संघहरूमा नेतृत्व गर्ने सहकारी अभियन्ताले नै जिल्लास्तरीय संघको एकीकरणमार्फत सबलीकरणमा लैजना अग्रसरता देखाउनु पर्ने भएकोले आफूले नै पहिलो मर्जर गर्नका लागि प्रयास थालेको उनको भनाइ छ । नेपालको भन्दा ठूलो जनसंख्या र भूगोल भएका देशमा नेपालमा भन्दा कम संघहरूले सहकारी अभियानलाई प्रभावकारी रूपमा अगाडि बढाइरहेकाले संघको संख्यामा भन्दा सेवा र स्थायित्वमा जोड दिन मर्जर जरूरी रहेको मल्लको तर्क थियो ।
जिल्ला च्याउ उत्पादक संघ ललितपुरका अध्यक्ष कमलराज दाहालले विषय मिल्ने संघहरू एकीकृत हुँदा सदस्य संस्थालाई स्तरीय सेवा दिन र व्यावसायिकतामा लैजान सहज हुने बताए । उनले संघहरूलाई एकीकरण गरी सबल बनाउने र सदस्य संस्थालाई दिइने सेवा विस्तारित गरिने जानकारी दिए ।
उक्त एकीकरण गोष्ठीमा दुवै संघबाट प्रतिनिधि रहने गरी एकीकरण सात सदस्यीय कार्यदल समेत तय गरिएको जानकारी दिइयो । कार्यदलमा कृषि सहकारीबाट ४ जना र च्याउ उत्पादकबाट ३ जना रहेको जनाइएको छ । कार्यदलको संयोजकमा मल्ल र सदस्यहरूमा दाहाल, पुरुषोत्तम हुमागाईँ, प्रेमप्रसाद घिमिरे, चित्रराज तिमल्सिना, काशीनाथ सापकोटा र आदर्श तिमल्सिना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्