लागूऔषध तस्करीको ट्रान्जिट बन्दै झापा

झापा- झापा लागूऔषध तस्करीको ट्रान्जिट प्वाइन्ट बन्दै गएको छ । जिल्ला प्रहरी कार्यालय झापाकोे तथ्याङ्कअनुसार झापामा आर्थिक वर्ष ०७४-०७५ देखि हालसम्म २६१ जना लागूऔषध कारोबारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा २४६ जना नेपाली नागरिक छन् । यो अवधिमा १३ जना भारतीय र २ जना अन्य देशका नागरिक पक्राउ परेका छन् ।
झापा प्रहरीको तथ्याङ्कअनुसार २३७ पुरुष र २४ जना महिला पक्राउ परेका छन् । लागूऔषध ओसारपसारमा २० वर्षसम्मका ४७ जना र २१ देखि ३० वर्ष उमेर समूहका १४६ जना छन् । ३१ वर्षदेखि ४० वर्ष उमेर समूहका २७ जना, ४१ देखि ५० वर्ष उमेर समूहका १० जना, ५० वर्षभन्दा माथिका ३ जना छन् । उमेर नखुलेका ८ जना रहेको प्रहरीको तथ्याङ्कले देखाउँछ । १८८ जनालाई सहरी क्षेत्रबाट र २३ जनालाई ग्रामीण क्षेत्रबाट पक्राउ गरिएको हो ।
विश्वव्यापी समस्याका रुपमा रहेको लागूऔषध प्रयोग र कारोबार झापामा पनि जटिल बन्दै गएको छ । लागूऔषध प्रयोगले शान्ति सुरक्षामा समेत नकारात्मक प्रभाव परिरहेको छ । बाहिरी देशमा संगठित र सक्रिय गिरोहको सञ्जालले गर्दा नियन्त्रण कार्य चुनौतीपूर्ण रहेको झापा प्रहरी प्रमुख भीमप्रसाद ढकाल बताउँछन् । तथ्याङ्क हेर्दा झापामा लागूऔषध प्रयोगकर्ता धेरै रहेको ढकालले बताए । “पहिलेभन्दा पक्राउको संख्यामा वृद्धि भएको छ,” उनले भने, “जिल्ला प्रहरी कार्यालय झापाले लागूऔषधमा संलग्नलाई सचेतना पनि प्रदान गर्दै आएको छ ।” झापा प्रहरी अवैध ओसारपसार नियन्त्रणमा योजना बनाएर अघि बढेको ढकाल बताउँछन् ।
खुला सिमानाका कारण नेपाल र भारतको स्थलमार्ग हुँदै ठूलो परिणामका लागूऔषध ओसारपसार हुने गरेको छ । भारतबाट ब्राउन सुगर, हेरोइन, कोकिनलगायतका लागूऔषध नेपाल आउँछ । नेपालबाट गाँजा, चरेस र अफिम ठूलो परिमाणमा भारततर्फ तस्करी हुने गर्छ । संगठित रुपमा हुने लागूऔषध तस्करी रोक्न प्रहरीले प्रयास गर्दै आएको छ । तर, तस्कर समूहले विभिन्न उपाय लगाएर लागूऔषधको कारोबार गरिरहेको छ । अहिले देशभर दुव्र्यसनीको सङ्ख्या दुई लाखभन्दा बढी रहेको तथ्याङ्कले देखाउँछ । पुरुषको सङ्ख्या बढी भए पनि महिला पनि लागूऔषध कारोबारमा सक्रिय पाइएका छन् । जति पनि औषधीजन्य लागूऔषध नेपाल भित्रिएको छ, त्यो सबै भारतबाट नै भित्रिएको प्रहरीको भनाइ छ ।
पूर्वी नाका काँकडभिट्टा र दक्षिणी गौरीगञ्ज नाकाबाट लागूऔषध नेपाल भित्रिन्छ । लागूऔषध कारोबार हुने झापा तेस्रो स्थानमा छ । काठमाडौँ पहिलो स्थानमा रहेको बताइन्छ । विदेशी नागरिकले लागूऔषध नेपालको सिमानासम्म ल्याइदिन्छन् । त्यहाँबाट भने नेपालीले लागूऔषध स्थानीय स्तरमा पु-याउने गरेका छन् । जसका कारण मुख्य कारोबारी पक्राउ गर्न नसकिएको प्रहरीको भनाइ छ । प्रहरीले पक्राउ गर्ने डरले नेपालीले शरीरका विभिन्न भाग, भाडाको गाडी, अन्य सामान बोक्ने सवारीमा लुकाएर लागूऔषध नेपाल भित्र्याइने गरेको छ ।
नेपालमा गाँजा र अफिम उत्पादन हुने गर्छ । यस्तो लागूऔषध चीन र भारतको पु¥याइने गरेको प्रहरी बताउँछ । नेपाली कृषकलाई भारतीय तस्करले गाँजा र अफिम खेती गर्नका लागि बीउ, मल, पैसा दिने गरेका कारण लागूऔषध नियन्त्रण थप चुनौति बनेको जानकार बताउँछन् ।
मनिषा चम्लागाईं