इलाका प्रशासन कार्यालय सहयोगीको भरमा

मुगु-मुगुको सोरु गाउँपालिअन्तर्गत रहेको इलाका प्रशासन कार्यालय १८ महिनादेखि कार्यालय सहयोगीको भरमा चलिरहेको छ । ०७३ कात्तिकमा स्थापना भएको इलाका प्रशासन कार्यालय सोरुकोटमा एक जना अधिकृत, २ नायब सुब्बा, २ सहायक कम्प्युटर, १ सहायक लेखापाल र १ जना कार्यालय सहयोगीको दरबन्दी छ । तर, अहिले कार्यालय २ जना कार्यालय सहयोगीको भरमा छ ।
सोरु गाउँपालिका अन्तर्गतका भिई, नार्थपु, फोतु, धैनकोट, कालै, फोतु, सोरुकोट, रुम, गिलाहालगायत दर्जनौं बस्तीका मानिसहरुलाई नागरिकता, राहदानीलगायत प्रशासन कार्यालयबाट लिने सेवा २–३ दिन लगाएर सदरमुकाम गमगढी पुगेर लिनुपर्ने बाध्यता छ । सोरुकोट इलाका प्रशासन कार्यालय स्थापना भएको समयमा दिलबहादुर पौडेल ६ महिना काजमा आई सेवा दिएका थिए । पौडेलको काज फिर्ता भएपछि गृह मन्त्रालयले दोस्रो कुनै पनि अधिकृत नपठाएपछि इलाका प्रशासन कार्यालयबाट हुने सेवा १८ महिनासम्म प्रभावित भएको छ ।
इलाका प्रशासन कार्यालय निकै तामझामका साथ बाजागाजा गरेर उद्घाटन हुँदा सोरु गाउँपालिकाका स्थानीय खुसी भएका थिए । उनीहरुको खुसी धेरै समय टिकेन । ६ महिना बसेर अधिकृत पौडेल फिर्ता गएपछि कार्यालयमा कोही आएन । वृद्धवृद्धा, गर्भवती महिला तथा अन्य अशक्तलाई सदरमुकाम गमगढी पुगेर सेवा लिनुपर्दा समस्या भएको सोरु गाउँपालिका वडा नम्बर ४ का चन्द्र नेपालीले बताए ।
इलाका प्रशासन कार्यालयमा पुनः अधिकृतसहितको टिम आउने जिल्लास्थित राजनीतिक दल र स्थानीय जनप्रतिनिधिहरुले आश्वासनमात्र दिएको अर्का स्थानीय मुक्त्तिप्रसाद भट्टले बताए ।
बिना कामकाज कार्यालयले मासिक ८ हजार ८ सय रुपैयाँ भाडा तिर्दै आएको छ । २ जना कार्यालय सहयोगीले कार्यालय र कार्यालयको भौतिक उपकरणहरु कम्प्युटर, प्रिन्टर, सोलार लगाएत अन्य सामानको संरक्षण गर्दै आइरहेका छन् । इलाका प्रशासन कार्यालयले कर्मचारी अभाव भएको भन्दै धेरै पटक गृह मन्त्रालयमा पत्राचार गरिसकेको छ । संघीयताको असरले इलाका प्रशासन कार्यालयमात्र नभई जिल्ला प्रशासन कार्यालयमा पनि कर्मचारीको अभाव भएको सहायक प्रमुख जिल्ला अधिकारी प्रदिप कुमार ढकालले बताए ।
दानबहादुर बुढा