हङकङ निर्यातको कठिनाइ «

हङकङ निर्यातको कठिनाइ

विश्वको अर्थतन्त्र व्यापारको जगमा अडिएको छ । व्यापारमा उत्पादन कार्यले मात्र सफलता प्राप्त गर्न नसकिने कुरा विश्वका वैदेशिक व्यापारमा अब्बल ठहरिएका देशको अनुभवले बताउँछ । व्यापारमा मूलतः वस्तु व्यापार तथा सेवा व्यापार अझ बढी महŒवपूर्ण छ । विश्वमा उन्नत प्रविधिको प्रयोगसँगै व्यापारलाई उच्च प्रतिस्पर्धामा पु¥याइदिएको छ । प्रतिस्पर्धामा सफल देशले मात्र विश्व व्यापारको ठूलो अंश ओगट्दै आएको छ । यो प्रतिस्पर्धामा ठूला अर्थतन्त्र भएका देशहरू जस्तो अमेरिका, चीन, जापानजस्ता देशहरू अग्रस्थानमा रहिआएका छन् । यस प्रतिस्पर्धामा नेपालको अवस्था भने दयनीय नै छ । हुन त नेपालको अर्थतन्त्रको मुख्य स्रोत वैदेशिक व्यापारबाट असुल गर्ने राजस्व नै रहिआएको छ, तथापि अर्थतन्त्रको मुख्य स्रोत कृषि, पर्यटन, ऊर्जा तथा औद्योगिक उत्पादनलाई मानिन्छ । यो क्षेत्रको अधिकतम रूपमा उपयोगबाट मात्र देशको अर्थतन्त्रलाई उकास्न सकिन्छ । यो क्षेत्रलाई चलायमान बनाउने दायित्व फेरि पनि सरकार, निजी क्षेत्र र सहकारी क्षेत्रको रहेको छ । यी तीनखम्बे अर्थनीतिको माध्यमद्वारा मात्र नेपालको अर्थतन्त्रलाई मजबुत बनाउन सकिन्छ ।
नेपालको वैदेशिक व्यापार सन् १९५० भन्दा अघि चीन (तत्कालीन तिब्बत) र भारतसँग मात्र सीमित थियो । पछिल्लो तथ्यांकलाई हर्ने हो भने नेपालले विश्वका १ सय ८१ मुलुकसँग वैदेशिक व्यापार गर्दै आएको छ । नेपालले १ सय २७ देशहरूबाट वस्तु आयात गर्ने गरेको छ भने ४२ देशहरूसँग आयात र निर्यात दुवै गर्दै आएको छ । आव २०७४÷७५ मा आउँदा ८५ प्रतिशत देशबाट मुलुकले निर्यातभन्दा बढी आयात गरेको छ । तर पनि देशको राजस्व संकलनमा निर्यात व्यापारको भूमिका अब्बल रहिआएको छ । कुल राजस्वको भन्सार राजस्वको अंश ४४ प्रतिशत रहेको अवस्था छ । यस्तो अवस्थामा यसको आकारमा गरिने फेरबदलले अर्थतन्त्रमा राजस्वको आकार घट्ने वा बढ्ने हुन्छ । देशको कुल व्यापारमा आयातको अंश ९२.५ र निर्यातको अंश ७.५ प्रतिशत रहेको कुरा आव २०७६÷७७ को तथ्यले बताउँछ । सो आवमा गत आव २०७५÷७६ को तुलनामा निर्यात ०.६२ प्रतिशतले बढेको भए तापनि आयात घट्न नसकेको हुँदा व्यापारघाटा –१६.८३ प्रतिशत हुन पुगेको छ । व्यापारघाटालाई कम गर्नका लागि निर्यात व्यापारलाई थप प्रोत्साहन गर्नुपर्छ । यो दिशामा सरकारको पूरै प्रयास जारी भए तापनि निर्यात व्यापार आशातीत रूपमा बढाउन सकिएको छैन । नेपालको निर्यात व्यापार करिब ६० प्रतिशत भारतसँग छ भने बाँकी चीन र तेस्रो मुलुकसँग रहेको छ । दुई ठूला अर्थतन्त्रका साथै ठूलो जनसंख्या भएको देश चीन तथा भारतमा हाम्रा वस्तु तथा सेवा निर्यातका प्रशस्त सम्भावना हुँदा पनि यसबाट नेपालले आशातीत रूपमा फाइदा लिन सकेको छैन । यी दुवै देशमा हाम्रा उत्पादनको ठूलो बजार छ, तर त्यो बजार हाम्रो लागि उपयोगी भएन ।
चीनको विशेष स्वशासित क्षेत्रका रूपमा रहेको हङकङको अवस्थालाई हेर्दा यो सानो क्षेत्र भए तापनि आर्थिक गतिविधिका हिसाबले ठूलो आर्थिक क्षेत्रका रूपमा रहिआएको छ । नेपालका लागि यो क्षेत्र चीनको अन्य क्षेत्रको तुलनामा दूरीको हिसाबले टाडा छ । यसका साथै निर्यात व्यापारको लागि सतह मार्गको उपलब्धता छ, तर यो मार्ग सजिलो छैन । हवाई मार्ग छ तर हवाई भाडाका कारण निर्यात व्यापारतर्फ व्यापारिक वर्गको रुचि कम छ । नेपालको हङकङसँगको व्यापार विगतको तुलनामा बढ्नुको साटो घट्दो रहेको छ, जसले गर्दा आव २०७६÷७७ मा नेपालको निर्यात व्यापार हङकङसँग घाटामा रहिआएको छ । नेपालको हङकङ निर्यात हेर्दा आव २०७६÷७७ मा ३३ करोड मात्र छ भने आयात ३ सय ३० करोड हुन पुगेको छ । यसका विविध कारणहरू रहेको पाइन्छ । हङकङसँग व्यापारका लागि सहज मार्ग नहुनुको साथै हङकङ सरकारबाट विगतमा दिँदै आएको अनएराबल भिसालाई सन् २००५ बाट बन्द गरेको छ, जसले गर्दा व्यापार थप जटिल बनेको छ । नेपालबाट हङकङ निर्यात हुने वस्तुहरूमा कृषिजन्य उत्पादन, ह्यान्डिक्र्याफ्ट, चिया, जडीबुटी आदि छन् । त्यसको मात्रा हेर्ने हो भने साह्रै न्यून छ । हवाई भाडा महँगो छ । प्रतिकेजी ४० देखि ५० हङकङ डलर भाडा लाग्ने हुँदा नेपाली वस्तुको मूल्य भारतबाट आउने त्यही प्रकृतिको वस्तुको मूल्यभन्दा बढी पर्न जान्छ र हाम्रो वस्तुभन्दा भारतीय वस्तुले बजार पाउँदै आएको छ । नेपालबाट हङकङ आउने खाद्यजन्य पदार्थको गुणस्तर परीक्षणप्रति पनि शंका गर्ने गरिन्छ ।
नेपालबाट हङकङ निर्यातका लागि मूलतः कोलकाता, तातोपानी, केरुङ नाकाको प्रयोग हुने गर्छ । तर, यी मार्गहरू सहज मार्गका रूपमा छैनन् । नेपालको तातोपानी र केरुङ हुँदै निर्यात गर्दा अधिक समय (करिब एक महिना) लाग्ने गरेको छ । त्यसैगरी कोलकाता नाका हुँदै गरिने नाका पनि सहज छैन । यहाँबाट सामान निर्यात गर्दा ३५ देखि ४५ दिनसम्म लाग्ने गरेको छ । ढुवानी गर्दा कोलकाताबाट निर्यात गर्दा प्रतिकन्टेनर अमेरिकन डलर ५२ सयसम्म लाग्ने गरेको छ । त्यसमा पनि डिटेन्सन चार्ज जोडिन्छ । यो र यस्ता कारणहरूले गर्दा हङकङ निर्यात लागतका हिसाबले समेत चुनौतीपूर्ण रहेको देखिन्छ ।
अर्कातर्फ नेपालबाट हङकङ सामान निर्यातका लागि हङकङको बजारको माग संकलन गर्न सकिएको छैन । त्यो कार्य गरिएको खण्डमा पनि बजारको मागअनुसारको वस्तु निर्यात गर्न सक्ने किसिमको क्षमता छैन । एकातिर उत्पादन नहुनुको पीडा त छँदै छ, अर्कातर्फ उत्पादित सामानको गुणस्तरीयता र प्याकेजिङ, ब्रान्डिङको ठूलै समस्या छ । निर्यातका लागि गुणस्तरीय वस्तु भए पनि प्याकेजिङ कमजोर भएमा त्यसले लागत उठाउन नसकेका उदाहरणहरू धेरै छन् । विश्व बजारमा ब्रान्डिङको ठूलो महŒव रहन्छ । तर, हाम्रा उत्पादनलाई ब्रान्डिङ गरी बजारीकरण गर्न सकिएको छैन । त्यसैगरी निर्यातका लागि पर्याप्त वस्तु उत्पादन हुन आवश्यक हुन्छ । त्यसमा पनि बाह्य बजारको मागका आधारमा वस्तु उत्पादन गरिनुपर्छ । उत्पादनमा पनि कृषिजन्य उत्पादन, ह्यान्डित्र्mयाफ्ट, जडीबुटीजस्ता वस्तुहरूको माग भएको हुनाले त्यस्ता वस्तुहरूको उत्पादनमा जोड दिनुपर्छ । तर हाम्रो मन्त्रालयगत समन्वयको अभावले गर्दा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्राथमिकतामा राखेका वस्तुहरूको उत्पादनमा कृषि मन्त्रालयले बजेट विनियोजन गर्ने गरेको छैन । त्यसैगरी वन मन्त्रालयले वनजन्य वस्तु उत्पादनलाई दिने प्राथमिकता निर्धारणमा वाणिज्य मन्त्रालयसँग समन्वय सहकार्य छैन । त्यसकारणले पनि नेपालको निर्यात व्यापारमा विश्वबजारको मागका आधारमा पर्याप्त मात्रामा उत्पादन हुन सकिरहेको छैन ।
त्यसका अतिरिक्त केही सानो संख्यामा रहेका निर्यातकर्ताहरूले बढी मुनाफा छोटो समयमा नै प्राप्त गर्ने उद्देश्यले मिसावट गर्ने गुणस्तरीयता परीक्षणमा छलकपट गर्ने गर्दा हङकङको बजारमा नेपाली उत्पादनले बजार पाउन सकेको छैन । नेपालबाट आउने खाद्यान्नलगायतका तरकारी पनि भारतीय वस्तुसँग प्रतिस्पर्धा गर्न सकेको छैन । यस्तो अवस्थामा नेपाली वस्तुलाई हङकङको बजारमा बिक्री बढाउनका लागि सर्वप्रथम हङकङको बजार विश्लेषण गरी बजारको माग संकलन गरेर गुणस्तरीय वस्तु, उचित प्याकेजिङ तथा ब्रान्डिङका आधारमा निर्यात गरिनुपर्छ । साथै पुस सेल गर्न सक्ने वस्तुहरूसमेतको पहिचानका आधारमा वस्तु उत्पादन गरी निर्यात बढाउन सकिन्छ ।
हाल १ सयवटा वस्तुमा सीमित रहेको निर्यात व्यापारलाई बढाई देशगत र वस्तुगत विविधीकरण गर्नुपर्छ । निजी क्षेत्रको लगानी अभिवृद्धि गर्ने, लचिलो श्रम सम्बन्ध कायम गर्ने, औद्योगिक सुरक्षाको वातावरण सिर्जना गर्ने गर्नुपर्छ । कृषिलाई व्यवसायीकरण गरी कृषिजन्य उत्पादन बढाई कृषिजन्य आयातलाई प्रतिस्थापना गर्ने गरी यस क्षेत्रमा लगानी बढाउनुपर्छ । हङकङमा निर्यात बढाउनका लागि केही कठिनाइका बाबजुद पनि बजारको विश्लेषणले मात्र नेपालको निर्यात व्यापार बढ्न नसक्ने भएकाले मागका आधारमा वस्तु उत्पादन गरिनुपर्छ । औद्योगिक, कृषिजन्य वस्तु उत्पादन र उत्पादनमा मूल्य शृंखला बढाउने प्रयास गरी वस्तु उत्पादन, प्रतिस्पर्धी क्षमता विकास, तुलनात्मक लाभका वस्तु र सेवामा विशेषज्ञता हासिल गरी निर्यात बढाउनुपर्छ । नेपालमा वस्तुको उत्पादन व्यावसायिक ढंगबाट हुन नसकेका कारण सानोसानो झुन्डमा हुने उत्पादनले गुणस्तरीयता कायम गर्न कठिन हुन्छ । त्यसकारण पनि ठूलो संख्यामा निर्यातजन्य वस्तु उत्पादनमा अनुदानको व्यवस्था गरेर व्यावसायिक घरानालाई उत्पे्ररित गर्नुपर्छ । यसो गर्न सकिएको खण्डमा नेपालको उत्पादनले हङकङको बजारमा स्थान पाउन सक्ने र नेपाल र हङकङबीचको व्यापारघाटालाई केही हदसम्म घटाउन सहयोग गर्छ र वैदेशिक व्यापारघाटालाई वाञ्छित सीमाभित्र राखी यसैको माध्यमबाट नेपाल सरकारले लिएको सुखी नेपाली समृद्ध नेपालको अभियानमा थप सहयोग पुग्न जाने देखिन्छ ।
(लेखक हङकङमा महावाणिज्यदूतका रूपमा कार्यरत छन् ।)

प्रतिक्रिया दिनुहोस्